तिहारमा भाइटीकाको उत्तम साइत ११ बजेर ५२ मिनेटमा

काठमाडौं ९ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको तिहारमा भाइटीकाको उत्तम साइत यही कात्तिक १६ गते मङ्गलबार मध्याह्न ११ बजेर ५२ मिनेट जुृरेको छ । समितिको सोमबारको बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । “यस वर्ष टीका लगाउन नहुने समय नभएकाले कात्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका लगाउन सकिन्छ, साइत खोज्नेका लागि भने ११ः५२ बजेको समय उत्तम छ” उनले भने । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ । यस वर्ष कात्तिक १२ गते शुक्रबार कागतिहार, १३ गते शनिबार कुकुरतिहार, १४ गते आइतबार लक्ष्मीपूजा, १५ गते सोमबार गोवद्र्धन पूजा, गाई पूजा र ह्मपूजा र कात्तिक १६ गते भाइटीका परेको छ । रासस

राष्ट्रिय आविस्कार केन्द्रका लागि हङकङमा ४० लाख रूपैयाँ सङ्कलन

म्याग्दी, ८ कात्तिक । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङकङले आइतबार हङकङमा आयोजना गरेको देउसीभैलो र तिहार भेटघाट कार्यक्रमबाट महावीर पुनको नेतृत्वमा स्थापना गरिएको राष्ट्रिय आविस्कार केन्द्रका करिब रु ४० लाख सहयोग सङ्कलन गरेको छ । मोना हङकङका देउसीभैलो कार्यक्रम संयोजक दल सर्बुजाले दिएको जानकारी अनुसार हङकङको मंकीहिल कन्ट्रीपार्कमा आयोजना गरिएको सो देउसीभैलो तथा तिहारको भेटघाट कार्यक्रममा सहभागीले सो रकम राष्ट्रिय आविस्कार केन्द्रका लागि सहयोग गरेका हुन् । अहिलेसम्म आफ्नो क्षेत्र, जिल्ला र जातिका लागि सेवा गरिएको तर अब महावीरले चालेको राष्ट्र निर्माणलाई सहयोग गर्ने भन्दै हङकङवासी नेपालीले मुठी खोलेर आर्थिक सहयोग गरेको मोनाका संयोजक सेर्बुजाले जानकारी दिए । समाजसेवी महावीर पुनले  विज्ञान र प्रविधिकाे क्षेत्रमा विकासमा याेगदान गर्न र सिर्जनात्मक क्षमताकाे विकासमा याेगदान दिने उदेश्यले राष्ट्रिय आविस्कार केन्द्र निर्माण गर्न सहयाेग जुटाउने अभियान थालेका छन् । रासस

कर तिर्दैनन् सिनेमा घरहरूले, महानगरपालिकाले उपत्यकाका १७ हललाई बारम्बार ताकेता गर्दा पनि कर तिरेनन

काठमाडौं ८, कात्तिक , सिनेमाघरमा फिल्म हेर्न दर्शकले तिर्ने शुल्कको २.५ प्रतिशत रकम करवापत स्थानीय निकायलाई बुजाउनुपर्ने कानुनी व्यवस्था छ। तर काठमाडौं उपत्यकामा सञ्चालित सिनेमाघरले भने कानुन अटेर गरेर कर नतिरेको सोमबारको नागरिक दैनिकमा समाचार छापिएको छ। पहिले मनोरञ्जन ऐन अनुसार सिनेमाघरले मनोरञ्जन कर तिर्दै आएका थिए। २०५५ सालमा स्थानीय स्वायत्त शासन ऐन आयो। यही ऐन अनुसार २०५६ सालमा बनेको नियमावलीले मनोरञ्जन कर स्थानीय निकायले उठाउने व्यवस्था गरेको छ। मनोरञ्जन ऐन भने २०६३ सालमा खारेज भयो। २०५६ यता सबै सिनेमाघरले मनोरञ्जन कर तिरेका छैनन्। काठमाडौं महानगरपालिकामा गंगा, अष्टनारायण, जय नेपाल, कुमारी, विश्वज्योति, गोपिकृष्ण, पुष्पाञ्जली र कलंकी सिनेमा घर आफ्नै भवनमा सञ्चालित छन्। त्यसैगरी व्यापारिक मलमा क्युएफएक्स, विग सिनेमालगायतका हल सञ्चालित छन्। महानगरपालिकाका अनुसार उपत्यकामा रहेका १७ हललाई बारम्बार ताकेता गर्दा पनि कर तिरेका छैनन्।