पोर्चुगलले पहिलोपटक युरोकप उपाधि जित्यो
काठमाडौँ, २७ असार । आयोजक फ्रान्सलाई १–० गोल अन्तरले हराउँदै पोर्चुगलले पहिलोपटक युरोपियन च्याम्पियनसिप (युरोकप) को उपाधि जितेको छ । पेरिसस्थित फ्रान्सको राष्ट्रिय रङ्गशालामा गएराति सम्पन्न फाइनल खेलमा पोर्चुगलका एडेरले १०९ मिनेटमा गोल गरे । अन्ततः त्यही एक मात्र गोल नै निर्णायक बन्यो । यसअघि आफ्ना कप्तान क्रिष्टियानो रोनाल्डोलाई चोटका कारण खेलको २५ औँ मिनेटमा गुमाएपछि पोर्चुगल केही दबाबमा आएको थियो । तर अतिरिक्त खेलाडीको रुपमा मैदानमा आएका एडेरले त्यो अभाव खड्किन दिएनन्, र गोल गर्दै आफ्नो टोलीलाई जिताए । निर्धारित ९० मिनेटको खेलमा गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । खेल अवधिभर दुवै टोलीमा खेलाडीले केही गोलका प्रयास गरे पनि सफल भने भएनन् । त्यसमा पनि घरेलु टोली फ्रान्सले बनाएका केही सुन्दर मौकालाई पोर्चुगाली गोलकिपर रुइ पेट्रिसियोले सफल हुन दिएनन् । प्रतियोगितामा पोर्चुगल समूह चरणमा एउटा पनि खेल नजिती तेस्रो स्थानमा रहेको उत्कृष्ट टोलीका रुपमा नकआउट चरणमा पुगेको थियो । त्यसपछि सुधार गरेको उसले पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधि जितेको छ । यसअघि सन् २००४ मा घरमै भएको प्रतियोगितामा पोर्चुगलले ग्रिसलाई नतिजा सुम्पिएको थियो । त्यस्तै पोर्चुगल विश्वकपमा सेमिफाइनलभन्दा माथि पुग्न सकेको छैन । रासस
सानिमा बैंकले क्रिकेटर सन्दिप लामिछानेलाई प्रायोजन गर्ने
काठमाडौं, २४ असार । सानिमा बैंक लिमिटेडले नेपाली राष्ट्रिय तथा अन्डर–१९ क्रिकेटका उदयमान खेलाडी सन्दिप लामिछानेलाई दुई वर्षका लागी प्रायोजन गर्ने सम्झौता गरेको छ । बैंकले लामिछानेलाई मासिक रुपमा प्रायोजित रकम प्रदान गरी खेल जीवनमा अभ्यस्त रहन प्रेरित गरेको छ । एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र क्रिकेटर सन्दिप लामिछानेबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सन् २०००, अगस्ट २ मा जन्मिएका लामिछाने लेग ब्रेक बलिङ्ग स्टाईल मा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनी सानै उमेरमा बङ्गलादेशमा हालै सम्पन्न भएको आई.सी.सी अण्डर १९ विश्व कप मा राम्रो प्रदर्शन गर्न सफल भएका थिए । प्रमुख कार्यकारी अधिकृत दाहालले सानिमाबाट प्रेरित भई अन्य संस्थाहरुले पनि खेलाडीहरुलाई सहयोग गरी नेपालमा प्रोफेसनल क्रिकेटको विकासमा सहयोग गर्ने आशा व्यक्त गरेका छन् । साथै नेपाल क्रिकेट टिम को आगामी यू.के (बेलायत) तथा नेदरल्याण्ड भ्रमणको सफलताको शुभकामना व्यक्त गरेका छन् ।
क्यानाडामा नेपाली नृत्य र लोक धून आकर्षित
क्यानाडा, २४ असार । क्यानाडाको टोरोन्टोको नर्थ योर्कमा प्रत्येक बर्ष “ग्लोबल भिलेज फेस्टिवल“ आयोजना हुने गरेको छ । जसले गर्दा नेपाली नृत्य र लोक धून आकर्षणको केन्द्र बनेको छ । मेलामा नेवाः गुठीका युवा सदश्यहरुले “सय थरि बाजा एउटै ताल’ बोलको गीतमा विभिन्न भौगोलिक क्षेत्रको भेष भुषामा सामुहिक नृत्य प्रस्तुत गर्दा विदेशी दर्शकहरु झुम्मिंदा आयोजकलाई व्यवस्थापनमा कठिनाइ भएको थियो । नेपालका प्रसिद्ध मादल बादक सानुराजा महर्जन, उत्तम माकजु, प्रदीप बाँस्कोटा र बिजु सिंहको टोलीले धिमे, मादल, बाँसुरी, भुस्या, चाँपको तालमा नेपाली लोक धूनहरु प्रस्तुत गरिंदा दर्शकहरु रमाएर नाचेको दृष्य हेर्न लायकको थियो । दुइ दिनसम्म संचालन भएको सो मेलामा नेपालको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल बुथ स्थापना गरि नेपाल सम्बन्धि सूचनाहरु प्रवाह गरिएको थियो । नेपाली लोक धुनको प्रस्तुति पछि गुठीका महिला सदश्यहरु मौसम ताम्राकार र श्रीजा माथेमालाई नेपालबारे जानकारी दिन हम्मे हम्मे परेको थियो । क्यानडाका सांसद सलमा जहिदले समेत नेपाल बुथको अबलोकन गरी नेपाल बारे जानकारी लिए पछि नेपालको थप प्रचार हुन पुुगेको थियो । अर्का सांसद ग्यांग तानले नेपाल क्यानडा मैत्री संघ स्थापना गर्नु पर्नेमा जोड दिएका छन् । नेपाली तथा नेवा संस्कृति सम्बद्र्धन र प्रचार गर्ने उद्देश्यले बृहत्तर टोरोन्टो क्षेत्रमा गत १० बर्ष अगाडी स्थापित गैर नाफा मुखी संस्था क्यानेडियन नेवा गुठीको सक्रियतामा सो नेपाली कार्यक्रमहरु प्रस्तुत गरिएका थिए भने विभिन्न मुलुकका कलाकारहरुले पनि आ आफ्नो मुलुकको संस्कृति प्रस्तुत गरेका विज्ञप्तिमा उल्लेख छ ।