बैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरु एक हुँदै
काठमाडौं, २३ असार । बैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरुको अनुभवलाई नेपालको विकासमा खर्चन र बैदेशिक रोजगारीलाई मर्यादित बनाउन सहयोग पुर्याउने हेतुले आप्रवासन श्रमिक संजाल निर्माण गर्ने विषयमा पहल थालिएको छ । बिडब्लु आई–नेपाल आबद्ध समिति काठमाडौंले नेपालमा आप्रवासन परियोजनाको गतिबिधि तथा कार्यक्रमहरु विषयक अन्तक्रियामार्फत संजाल निर्माण घोषणा गरि उनीहरुलाई एक पार्न पहल थाल्ने निष्कर्ष निकालेको हो । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका कोषाध्यक्ष योगेन्द्रकुमार कुँबरले एजेन्टका कारण कामदार ठगिने गरेको भन्दै बैदेशिक रोजगारबाट फर्किएकाहरुको श्रमिक संजाल र नेटवर्क बनाईनुपर्ने बताए । उनले भने, ʽबिदेशबाट फर्किएकाहरुको एउटा युनियन बनाऔं, त्यसले नेपालमा उद्यमशीलताको विकासका साथै बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई शिक्षा दिने कार्य गर्नेछ ।ʼ बैदेशिक रोगजारबाट स्वयं फर्किएका श्रमिकले दिएको अनुभव र शिक्षा दिक्षालाई अधिकाँशले पत्याउने हुँदा पनि नेपालीहरु बैदेशिक रोजगारीमा ठगिनबाट जोगिन सकुन् भन्ने उदेश्यका साथ आप्रवासन श्रमिक संजाल निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गत नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्युपेक) नेपालका अध्यक्ष नरनाथ लुइटेलले बैदेशिक रोजगारीमा जाने नेपालीहरु नेपालीबाटै पीडित बन्ने गरेको तथ्याँक प्रस्तुत गरे । पछिल्लो समय बैदेशिक रोजगारमा गएकाहरुप्रति सरकारको चासो बढेपनि त्यो पर्याप्त नभएको उनको भनाई थियो । यता बैदेशिक रोजगारबाट फर्किएकाहरु बाटै नेपालमा विशेषतः कृषिका क्षेत्रमा तरकारी, पशुपालन, फलफूल खेतीका क्षेत्रमा उद्यमशीलता बढेको उनले बताए । त्यसैले उनीहरुका अनुभवलाई कुनै नेटवर्क मार्फत नेपालको विकास र नेपालीको हितमा लगाउनुपर्ने लुइटेलको भनाई थियो । कार्यक्रममा सहभागी बिडब्लु आई आबद्ध प्रतिनिधि र अन्य सहभागीले बिदेशी भूमिमा कार्यरत ४० लाखभन्दा बढि श्रमिकहरु एकैचोटी नेपाल फर्कनुपर्ने अवस्था आयो भने त्यतिबेला के हुन्छ भन्दै मुलुकको कहालिलाग्दो अवस्थाबारे चिन्ता अनाएका थिए । त्यो कहालिलाग्दो अबस्थाबारे कसैले पनि बर्णन गर्न नसक्ने भन्दै यसबारे उनीहरुले सरकारको ध्यानाकर्षण गराए । रेमिट्यान्सबाट मुलुक चलाईरहेको सरकार र जिम्मेवार राजनीतिक दलहरुले यसबारे बेलैमा सोच्नुपर्ने उनीहरुको भनाई थियो । विदेशबाट फर्किएका श्रमिकहरुले भने कुनै जानकारीबिना बैदेशिक रोजगारमा जानुपर्ने, कुनैपनि शिक्षा, शिप र दक्षता हासिल नगरि बैदेशिक रोजगारीमा जानु भनेकै दुःख पाउनु हो भन्ने पक्का भएको ठोकुवा गरे । त्यसैले जानेर बुझेर र शिप सिकेर मात्र बैदेशिक रोजगारमा जानुपर्ने उनीहरुको सुझाव रहेको थियो ।
देशभर बाढीपहिरो: ४६ जनाको मृत्यु, १७ बेपत्ता
काठमाडौँ, २३ असार । निरन्तर वर्षात्सँगै आएको बाढी र पहिरोका कारण मुलुकभर ४६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । देशका विभिन्न स्थानमा गएको बाढीपहिरोबाट एक साताको अवधिमा ४६ जनाको मृत्यु हुनकासाथै १७ जना हराइरहेको मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए । अहिलेसम्म १५० घर बगाएको दुई करोडको प्रारम्भिक क्षति भएको उनले उल्लेख गरे । प्राकृतिक विपत्तिका घटनाको उद्धार र राहतका लागि सुरक्षा निकायलाई तैनाथ र आवश्यक संयन्त्र परिचालन गरिएको मन्त्रालयले जनाएको छ । ललितपुर, धादिङ, सिन्धुपाल्चोक, प्यूठान, दार्चुलालगायतका स्थानमा बाढी र पहिरोले जनधनको क्षति पु¥याएको छ । घटनाका पीडित ९घर भत्केकालाई० राहतका लागि तत्काल पाँचदेखि २५ हजार उपलब्ध गराइने प्रवक्ता कोइराराले बताए । सिन्धुपाल्चोकसहितका जिल्लामा बाढी र पहिरोले धेरै क्षति पुगेको भए पनि यकिन विवरण आइनसकेको गृहले जनाएको छ ।
पञ्चकन्या समूहद्धारा वागमती सरसफाई कार्यक्रम सम्पन्न
काठमाडौं, १४ असार । पञ्चकन्या समूहले कोपुण्डोल नजिक १६३औं सप्ताह वागमती सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । उक्त समूहले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत ५० जना सहितको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न गरेको बताएको छ । उक्त कार्यक्रममा समूहका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ लगायत समूहमा आवद्ध कर्मचारीहरु सक्रिय सहभागी भएका थिए । साथै उक्त कार्यक्रममा वागमती सफाईको लागि आवश्यक पर्ने सरसफाईका सामग्रीहरु वागमती सभ्यता बचाउन अभियानका सदस्यलाई हस्तान्तरण समेत गरिएको समूहले जनाएको छ ।