१३ औँ सागः पाँच खेल पोखरामा
पोखरा । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले आगामी १३ औँ दक्षिण एसियाली खेलकुद सागका लागि पोखरा उच्च प्राथमिकतामा परेको बताएका छन् । पोखरा रंगशालाको आज यहाँ निरीक्षणका क्रममा उनले पर्यटकीय नगरीका रुपमा अन्तरराष्ट्रिय स्तरमा पहिचान बनाइसकेको पोखरालाई खेलकुद माध्यमबाट पनि उत्कृष्ट गन्तव्य बनाउन सकिने बताए। मन्त्री केसीले आउँदो सागका लागि पोखरालाई गुरुयोजनाभित्र राखिएको जानकारी दिँदै निर्धारित समयावधिभित्र रंगशाला बनाउन निर्देशन दिए। सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले १३ औँ सागमा पाँच–छ खेल पोखरामा सञ्चालन गर्ने लगभग तय भइसकेको जानकारी दिँदै त्यही रुपमा तयारी पनि अगाडि बढाइएको बताए। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिलकुमार गुरुङले खेल क्षेत्रलाई भ्रष्टाचारमुक्त गरिनुपर्नेमा जोड दिए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङले खेलकुदको विकासका लागि पोखरा उर्वर भूमि भए पनि प्रशिक्षकका अभाव जस्ता समस्या भोग्नुपरेको गुनासो गरे । जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले पोखरा रंगशाला ४१७ रोपनी क्षेत्रफलमा फैलिएको र यहाँ पछिल्ला समयमा बहुउद्देश्यीय कबर्ड हल लगायत संरचना निर्माण भइरहेको जानकारी दिए। रासस
विश्वकै सबैभन्दा महँगा फुटबल खेलाडी नेयमार, हप्ताको आम्दानी दश लाख डलर
काठमाडौं । ब्रजीली फुटबल नायक नेयमार अहिलेसम्मको इतिहासमा सबभन्दा धेरै मूल्यमा एउटा फुटबल क्लबबाट अर्कोमा सर्ने महँगा खेलाडी बनेका छन्। नेयमारले फ्रान्सेली च्याम्पियन क्लब प्यारिस साँ जमाँ (पीएसजी)सँग २६ करोड तीस लाख डलर रकममा पाँच वर्षको करार संझौता गरेका छन् जुन यस अघिको भन्दा दोब्बर बढी हो। नेयमारले हरेक हप्ता दश लाख डलर भन्दा बढी कमाउनेछन्। नेयमारले भने, “म युरोपको सबभन्दा महत्वाकांक्षी क्लबमध्ये एकको सदस्य बनेको छु।“ चुनौतीका लागि तयार उनले भने, “म चुनौती भोग्न तयार रहेको महसुस गरेको छु। मेरा नयाँ समूहका साथीहरुलाई सहयोग गर्न म आजदेखि हर कुरा गर्नेछु।“ पीएसजी गत च्याम्पियन्स लीगमा अन्तिम आठमा परेको थियो तर नेयमार सहभागी फुटबल क्लब बार्सेलोनाबाट पराजित भएको थियो। हप्तौंदेखिको अनुमानपछि नेयमार बुधार बार्सेलोनामा अभ्यासका लागि पुगेका थिए र स्पेनको बार्सेलोना क्लबलाई अब आफूले छोड्ने बताएका थिए। त्यसपछि बार्सा व्यवस्थापक अर्नेष्टो भ्याभेर्डेले उनको ’भविष्य रोज्न’ भन्दै अनुमति दिएका थिए। तर उनले बार्सेलोना क्लब छोड्दा तिर्नुपर्ने रकमबारे भने विवाद उत्पन्न भएको छ। बार्सेलोनाले पीएसजीलाई युरोपेली फुटबलको प्रशासनिक निकाय यूइएफमा निवेदन दर्ता गर्ने बताएको थियो। सहकार्य नेयमार बार्सेलोनाबाट बाहिरिएपछि अर्जे्न्टिनाका क्याप्टेन लायोनेल मेस्सी र उरुग्वेका लुइ स्वारेजबीचको त्रिपक्षीय सहकार्य टुट्ने भएको छ। बुधबार मेस्सीले इन्स्टाग्राममा लेखे, “यतिका वर्ष तिमीसँग खेल्न पाउँदा खुब मजा आयो साथी नेयमार। तिम्रो जीवनको नयाँ चरणका लागि शुभकामना।“ त्यसको जवाफमा नेयमारले लेखे “धन्यबाद भाइ म तिमीलाई सम्झिरहनेछु।“ विश्लेषकहरु भन्छन् यो संझौताको सफलता क्लब खेलको सबभन्दा ठूलो ट्रफी हात पार्नुमा निर्भर हुनेछ। स्रोतः बीबीसी
अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता, खेलाडीको विकास र पूर्वाधार निर्माणमा जोड
काठमाडौं । मुलुकको राष्ट्रिय खेलका रुपमा भलिबललाई समावेश गरेकामा नेपाल भलिबल संघले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ । नेपालको आफ्नै राष्ट्रिय खेल नभएका सन्दर्भमा अध्यक्ष दाहाल नेतृत्वको सरकारले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेको थियो । अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज आयोजित कार्यक्रममा संघका पदाधिकारीले उनलाई सम्मान गरेका हुन् । संघका अध्यक्ष मनोरञ्जन शर्मा, उपाध्यक्ष निरोसी मास्के, महासचिव जीतेन्द्रबहादुर चन्दलगायत पदाधिकारीले अध्यक्ष दाहालको प्रधानमन्त्रित्वकाल भलिबल खेलका लागि स्वर्णिम भएको बताउँदै यसले नेपालको भलिबल खेलमा गुणात्मक प्रगति हुने विश्वास व्यक्त गरे । सो अवसरमा अध्यक्ष दाहालले नेपालको माटो र हावापानी सुहाउँदो एवं लोकप्रिय खेल भएकाले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिइएको बताउँदै त्यतिले मात्र राज्यको जिम्मेवारी पूरा नहुने बताए । उनले भने, “नेपालको राष्ट्रिय खेलले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रभाव राख्न सकेन । त्यसको विकल्प के हुन सक्ला भन्ने विचार गरेर नै हामीले भलिबललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेका हौंँ ।” भलिबललाई राष्ट्रिय खेलका रुपमा स्थापित गर्न राज्यले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता, खेलाडीको विकास र पूर्वाधार निर्माणमा विशेष ध्यान दिन जरुरी रहेको उनले बताए । भेटमा संघका पदाधिकारील अध्यक्ष दाहाललाई सम्मानपत्र प्रदान गरेका थिए । सो अवसरमा पूर्वखेलकुदमन्त्री दलजीत श्रीपाइलीले भलिबल खेलको विकासका लागि आफ्नो कार्यकालमा गरिएका कामले निरन्तरता पाउने विश्वास व्यक्त गरे थिए । रासस