३३औं त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता पौष १२ देखि सुरु

काठमाडौं । लमजुङ जिल्लाको सदरमुकाम बेंसीसहरमा आयोजना हुन गइरहेको ३३औं त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता आगामी पौष १२ देखि सुरु हुने भएको छ । यस वर्ष प्रतियोगिताको विशेष आकर्षणका रूपमा सम्पूर्ण खेलहरू डिसहोम गो एप र एक्सन स्पोट्र्स एचडी वान टेलिभिजन च्यानल मार्फत प्रत्यक्ष तथा एक्सक्लुसिभ रूपमा प्रसारण गरिनेछ ।  बेंसीसहर–सहजीस्थित खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा देशभरका १६ टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद १२ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । यसैगरी, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही २५–२५ हजार रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । यस प्रतियोगितामा विभागीय टिम एपीएफ एफसी, सुन्दरबजार एफसी, एनआरटी, भानु युनाइटेड, सूर्यपुर चितवन, लमजुङ मर्स्याङ्दी, सातदोबाटो एफसी, लालीगुराँस भुजुङ, ठाडाराई समाज, समाज कल्याण, लाङ्दीदेवी नाल्मा, चित्लाङ एफसी, श्री भगवती एफसी, त्रिवेणी युथ क्लब, चर्च ब्वाइज युनाइटेड एफसी र बुद्ध युवा क्लब उपाधिका लागि भिड्नेछन् ।

कर्पोरेट हाउसको सहकार्यले बलियो बन्दै नेपाली क्रिकेट अर्थतन्त्र

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा चम्किलो फ्लडलाइटको उज्यालो । दर्शकको कानै खाने हुटिङ र खेलाडीहरूको रौनक । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणले घरेलु क्रिकेटलाई नयाँ उचाइमा मात्र पुर्‍याएन, खेलकुद र कर्पोरेटबीचको साझेदारी कति शक्तिशाली हुन सक्छ भन्ने ज्वलन्त उदाहरण पनि बन्यो। यो सफलतामा जति खेलाडीको पसिना र आयोजकको मिहिनेत छ, त्यति नै ठूलो हिस्सा विभिन्न ब्रान्डहरूको पनि छ । जसले पर्दा पछाडि बसेर एनपीएललाई व्यावसायिक स्थायित्वको लागि निकै बल दिए । तीमध्ये पनि अटोमोबाइल क्षेत्रका दुई प्रमुख ब्रान्ड- पल्सर र ओमोडा एनपीएलको पर्याय बनेको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामा बताउँछन् । ‘अहिले ओमोडा, पल्सर र एनपीएल एउटा पर्यायवाची जस्तो भएको छ,’ उनले भने । एनपीएलको मुख्य प्रायोजक सिद्धार्थ बैंक रहेको थियो भने अटो क्षेत्रबाट ओमोडा र पल्सरको उपस्थिति रहेको थियो । यस्तै, प्रायोजकमा सिद्धार्थ इन्स्योरेन्स, प्रेसिडेन्ट कलेज, केएफसी, खल्तीलगायत १७ वटा प्रतिष्ठित कम्पनीहरू जोडिएका थिए ।  यी कम्पनीको सहकार्य केवल लोगो टाँस्ने र ब्यानर झुन्ड्याउनेमा मात्र सीमित थिएन । क्यानले एनपीएलको ट्रफीलाई ७ वटै प्रदेशमा पुर्‍याउँदा ओमोडा ट्रफी टुर आयोजना भयो जसले ओमोडा गाडीलाई देशको कुना–कुनामा चिनायो ।  प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई सम्मान गर्ने क्रममा पनि अटो क्षेत्रको उपस्थिति विशेष रह्यो । प्लेयर अफ द टुर्नामेन्ट बनेका नेपाली खेलाडीले ओमोडाको आकर्षक कार गाडी पाए भने इमर्जिङ प्लेयर बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले पल्सर बाइक पाए ।  क्यानका प्रवक्ता लामाले  भने, ‘जुन ब्रान्डहरू हामीसँग असोसिएट भए, उनीहरू धेरै खुसी छन् । एनपीएलको ब्रान्ड जति बढेको छ, त्यत्तिकै टु–ह्वीलर्स र फोर–ह्वीलर्सको ब्रान्ड पनि बढेको छ ।’  यसले समग्रमा देशको अर्थतन्त्रलाई चलायमान बनाउन समेत मद्दत पुर्‍याएको उनको विश्लेषण छ ।  क्यानले गत वर्ष अर्थात् पहिलो संस्करणको एनपीएलमा २७ करोड ६९ लाख ६४ हजार ८ सय १८ रुपैयाँ आम्दानी गरेको थियो । जसमा २० करोड १५ लाख ७३ हजार ५ सय ५९ रुपैयाँ खर्च भएको थियो भने पहिलो संस्करणमा ७ करोड ५३ लाख ९१ लाख नाफा गरेको थियो ।  यसपटकको एनपीएलबाट भने ३० देखि करिब ४० लाख रुपैयाँसम्म आम्दानी गर्ने अपेक्षा गरिएको छ ।  प्रवक्ता लामाका अनुसार एनपीएलको दोस्रो संस्करणमा खर्च र आम्दानीबारे पत्रकार सम्मलेनमार्फत् जानकारी गराइनेछ ।  विज्ञापन मात्र होइन, खेलकुद विकासको दीर्घकालीन लगानी पनि प्रायोजकहरूले खेलकुदमा लगानी गर्नुलाई केवल आफ्नो उत्पादनको विज्ञापन गर्ने माध्यमका रूपमा मात्र हेर्छन् भन्ने आम बुझाइ छ । तर पल्सर बाइक र ओमोडाको सोच त्योभन्दा फरक छ ।  ‘ब्रान्डिङ त आफ्नै ठाउँमा छ । तर हाम्रो मुख्य सोच नेपाली स्पोट्र्समा केही गरौं भन्ने हो,’ पल्सर बाइकको आधिकारिक विक्रेता बजाजका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले भने ।  उनका अनुसार खेलकुदले देशलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउँछ र राष्ट्रिय एकताको भावना जगाउँछ । यस्तो महत्त्वपूर्ण क्षेत्रको विकासका लागि निजी क्षेत्रको लगानी अपरिहार्य छ । पूर्वाधार, तालिम र खेलाडीको विकासमा लगानी गर्नु निजी क्षेत्रको जिम्मेवारी रहेको उनी बताउँछन् । गोल्छा एनपीएलको सफलताबाट निकै उत्साहित छन् ।  ‘जुन स्तरमा एनपीएलले फ्यान बेस बनाएको छ । त्यो अरू कुनै लिगले गर्न सकेको छैन,’ उनी भन्छन् ।  यही सफलताले गर्दा एनपीएल अब सबै ब्रान्डका लागि एउटा आकर्षक प्रपोजिसन बनेको उनको ठहर छ । क्यान र व्यवसायी दुवैलाई फाइदा साझेदारीले दुवै पक्षका लागि जितको अवस्था सिर्जना गरेको छ । साझेदारीले ठूलो बजेट व्यवस्थापन गर्न र लिगलाई व्यावसायिक रूपमा सफल बनाउन मद्दत पुगेको क्यान र व्यवसायीहरूले बताइरहेका छन् । खेलाडीलाई गाडी र बाइक जस्ता महँगा पुरस्कार दिँदा लिगको स्तर र आकर्षण बढ्को क्यानको भनाइ छ ।  पहिलो संस्करणका कमी–कमजोरी सुधार्दै फ्लडलाइट, विदेशी खेलाडी र कमेन्टेटरजस्ता पक्षमा लगानी गर्न सम्भव भएको क्यानका प्रवक्ता लामाको भनाइ छ ।  यसैगरी, लाखौं दर्शकमाझ आफ्नो उत्पादनको प्रत्यक्ष प्रचार भएको ओमोडाको जेको जे फाइभ गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सका मार्केटिङ हेड रूपेश श्रेष्ठ बताउँछन् ।  उनका अनुसार खेलकुद र युवा विकासमा योगदान दिने कम्पनीका रूपमा सकारात्मक छवि निर्माण भएको छ ।  आफ्नो लक्षित समूह (युवा) सँग भावनात्मक रूपमा जोडिने अवसर प्राप्त भएको दाबी ओमोडाले गरेको छ ।  एनपीएलको दोस्रो संस्करणको सफलताले घरेलु लिगमा बहुराष्ट्रिय ब्राण्डहरूलाई आकर्षित गर्न सकिन्छ भन्ने प्रमाणित गरेको व्यवसायीहरूको भनाइ छ ।  अटो क्षेत्रको यो सहभागिताले अन्य कर्पोरेट घरानालाई पनि नेपाली खेलकुदमा लगानी गर्न प्रेरित गर्ने निश्चित गरेको क्यानले जनाएको छ ।   ६६ लाखको पुरस्कार जित्दा १६ लाख कर तिर्नुपर्ने एनपीएलको उपाधि लुम्बिनी लायन्सलाई जिताउँदै ऐतिहासिक सफलता हात पारेका कप्तान रोहित पौडेलका लागि खुसीसँगै आर्थिक दायित्व पनि छ । प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै लाखौंको गाडी र बाइक पुरस्कार पाएका रोहितले राज्यलाई बुझाउनुपर्ने मोटो रकमको कर यतिबेला चर्चाको विषय बनेको छ । प्रतियोगितामा सानदार प्रदर्शन गरेका रोहितले पुरस्कार स्वरूप ५७ लाख रुपैयाँ बराबरको आमोडा जेको जे–फाइभ कार प्राप्त गरेका छन् । यसका साथै उनले ४ लाख २० हजार रुपैयाँ पर्ने बजाज पल्सर बाइक पनि जितेका छन् । यसरी उनले जितेको कार, बाइक र अन्यसहितको कुल पुरस्कारको मूल्यांकन ६६ लाख १९ हजार रुपैयाँ रहेको छ । रोहितले जितेको यो पुरस्कार आयकर ऐनअनुसार आकस्मिक लाभ अन्तर्गत पर्दछ । आयकर ऐनको दफा ८८ ‘क’ अनुसार यस्तो पुरस्कारमा २५ प्रतिशत कर अनिवार्य तिर्नुपर्ने व्यवस्था छ । ऐनको दफा ८८ ‘क’ को उपदफा १ मा खेलकुद लगायतका क्षेत्रमा योगदान पुर्‍याएबापत प्राप्त हुने ५ लाख रुपैयाँसम्मको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारमा कर छुटको व्यवस्था छ । यदि रोहितले चालु आर्थिक वर्षमा ५ लाखसम्मको कर छुट सुविधा लिइसकेका छन् भने उनले ६६ लाख १९ हजारको २५ प्रतिशत अर्थात् १६ लाख ५४ हजार ७५० रुपैयाँ कर तिर्नुपर्ने हुन्छ । यदि ५ लाखको सुविधा लिएका छैनन् भने ५ लाख घटाएर बाँकी रकमको २५ प्रतिशत अर्थात् १५ लाख ३५ हजार रुपैयाँ कर बुझाउनुपर्ने हुन्छ । रोहितले यातायात कार्यालयमा गएर जितेको कार र बाइक आफ्नो नाममा नामसारी गर्नका लागि कर चुक्ता गरेको प्रमाण पेस गर्नुपर्नेछ । कर नतिरेसम्म वा सरकारले छुट नदिएसम्म गाडी उनको नाममा पास हुने छैन । एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै रोहितजस्तै बाइक पुरस्कार पाएका सन्दीप लामिछाने र शेर मल्लको हकमा पनि यही नियम लागू हुन्छ । यदि उनीहरूले ५ लाखको छुट सुविधा प्रयोग गरिसकेका छन् भने ४ लाख २० हजारको बाइकमा उनीहरूले जनही करिब १ लाख रुपैयाँ राज्यलाई बुझाउनुपर्ने देखिन्छ । गत वर्ष सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले जितेको कारको कर कम्पनी आफैले तिरिदिएको थियो । उसो त दीपेन्द्र सोही कम्पनीका ब्रान्ड एम्बेसडरसमेत हुन् । अहिले पुरस्कार दिने कम्पनीहरू (ओमोडा र बजाज) बीच कर कसले तिर्ने विजेता खेलाडीले वा स्वयम् कम्पनीले भन्ने विषयमा छलफल भइरहेको बुझिएको छ । अर्कोतर्फ मन्त्रिपरिषदबाट निर्णय गराएर नेपाल सरकारले खेलाडीलाई प्रोत्साहन स्वरूप कर छुट दिन सक्ने कानुनी बाटो पनि खुला छ । 

एनपीएलका इमर्जिङ प्लेयर तिलकलाई प्रेसिडेन्सियल कलेजद्वारा १५ लाख रुपैयाँको स्कलरसिप

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा 'प्रेसिडेन्सियल ग्रयाजुएट स्कुल इमर्जिङ प्लेरअर अफ दि टुर्नामेन्ट' घोषित भएका तिलक राज भण्डारीलाई एनपीएल २०८२ को एजुकेशन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले १५ लाख रुपैयाँ बराबरको स्कलरशिप प्रदान गरेको छ । अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त थापागाउँ, बानेश्वरस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा स्नातक तथा स्नातकोत्तर तहमा व्यवस्थापन वा आईटी संकायका कुनै पनि कोर्स अध्ययन गर्दा उक्त स्कलरसिप प्रयोग गर्न सकिने कलेजका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए । बुटवलका २१ वर्षीय स्पीनर तिलक राज भण्डारीले यस वर्ष लुम्बिनी लायन्सबाट खेल्दै एनपीएलको उपाधि जितेका हुन् । उनले लुम्बिनीलाई पहिलो पटक एनपीएलको च्याम्पियन बनाउने क्रममा बलिङबाट महत्वपूर्ण योगदान दिएका थिए । तिलकले प्रतियोगिताभर ८ खेल खेल्ने क्रममा ८ विकेट नै लिए । शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमलाई ६ रनले पराजित गर्दै लुम्बिनी लायन्सले उपाधि जितेको हो । फाइनलमा तिलकले सुदूरपश्चिम विरुद्ध ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिएका थिए । उनले क्वालिफायर टु मा विराटनगर किंग्स विरुद्ध सानदार बलिङ रच्दै ३ विकेट लिएका थिए र प्लेअर अफ दि म्याच समेत घोषित भएका थिए ।   तिलकले यसअघि नेपालको यू-१९ राष्ट्रिय टिमबाट खेलिसकेका छन् । उनले आईसीसी यू-१९ पुरुष विश्वकप समेत खेलेका छन् । यस्तै लुम्बिनी प्रदेशबाट डोमेस्टिक क्रिकेट पनि खेल्दै आएका छन् ।   युवा लेग स्पीनर तिलकलाई भविष्यमा नेपालको सम्भावना भएको स्पीनरको रुपमा हेरिएको छ । उनले एनपीएलको पहिलो संस्करण पनि लुम्बिनी लायन्सबाट खेलेका थिए र उनलाई दोस्रो संस्करणमा रिटेन गरिएको थियो । प्रेसिडेन्सियल ग्राजुएट स्कुलले विगत १५ वर्षदेखि व्यवस्थापन र पाँच वर्षदेखि आईटी संकायमा स्नातक तथा स्नातकोत्तर तहको शिक्षा प्रदान गर्दै आएको छ