राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक लोकबहादुर शाहीको निधन
काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्व महासचिव लोकबहादुर शाहीको निधन भएको छ । शाहीको ६५ वर्षको उमेरमा आइतबार राति निधन भएको हो । लामो समयदेखि विभिन्न रोगबाट पीडित शाहीको दैलेखको चौडत्तास्थित घरमा निधन भएको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । उनको आज दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । शाही सन् १९७९ देखि १९८९ सम्म राष्ट्रिय टोलीको गोल रक्षक रहेका थिए । सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो साफमा नेपालले स्वर्ण पदक जित्दा उनी टोलीको महत्वपूर्ण खेलाडी थिए । शाहीले चार पटक साफ खेल खेलेका थिए । सन् १९८२ मा नवौं एशियाली खेलकूद खेल्दा पनि उनी गोल रक्षक रहेका थिए । शाहीले सन् १९८९ मा राष्ट्रिय टोलीबाट सन्न्यास लिएका हुन् । उनी २०५२ सालमा गणेश थापा एन्फाको अध्यक्ष हुँदा महासचिवमा निर्वाचित भएका थिए । पछिल्लो पटक उनी नेपाल बक्सिङ सङ्घको समेत महासचिव रहेका थिए । विसं २०७० मा नेपाल आइस हकी सङ्घ स्थापना हुँदा शाही सङ्घको संस्थापक अध्यक्षमा चयन भएका थिए ।
दुई अर्ब ४० करोड लगानीमा भक्तपुरमा रग्बी रंगशाला बन्दै
काठमाडाैं । दुई अर्ब ४० करोड रुपैयाँको लागतमा भक्तपुरको चाँगुनारायण नगरपालिका–७ स्थित भँगेरी डाँडामा अन्तर्राष्ट्रिय रग्बी रंगशाला निर्माण कार्य धमाधम भइरहेको छ । बहुद्देश्यीय अन्तर्राष्ट्रिय रग्बी मैदानको अवधारणा सहित निर्माण थालिकएको योजना अन्तर्गत अहिले जमिन सम्याउने काम भइरहेको छ । रंगशाला निर्माणका लागि स्थानीय, प्रदेश र संघीय सरकारको बजेटमा निर्माण कार्य भइरहेको हो । ४० हजार दर्शक क्षमता रहने उक्त खेल मैदान निर्माणको पहिलो चरणको डिपिआरको काम सम्पन्न भई नगरपालिको बजेटमा हाल निर्माण कार्य अगाडि बढाइएको हो । स्थानीय र सरकारी तवरबाट भइरहेको कामबारे संघसँग सल्लाह भएको र हस्तानतरण गर्ने विषयमा छलफल भइरहेको नेपाल रग्बी संघले जनाएको छ । पाँच वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने योजनाका साथ काम भइरहेको छ ।
सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा
काठमाडाैं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल भएका छन् । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै महङ्गो श्रेणी हो । प्लाटिनम श्रेणीमा पर्ने खेलाडीको पारिश्रमिक न्यूनतम एक लाख ४७ हजार अमेरिकी डलर (एक करोड ७२ लाख) देखि अधिकतम दुई लाख १८ हजार अमेरिकी डलर (दुई करोड ५५ लाख) तोकिएको छ । पिएसएलको ड्राफ्टको प्लाटिनम श्रेणीमा नेपालका लामिछानेसँगै रासिद खान, डेभिड मिल्लर, क्रिस गेल, लेन्डन सिमन्स, कार्लोस ब्रेथवेट, डेविड मलान, मुजिब उर रहमानलगायत विश्वकै चर्चित खेलाडी परेका छन् । एउटा टोलीले तीन खेलाडी प्लाटिनम श्रेणीबाट लिन पाउने व्यवस्था गरिएको छ । यस्तै डाइमण्ड श्रेणीबाट तीन, गोल्डनबाट तीन, सिल्भरबाट पाँच र इमर्जिङबाट दुई खेलाडी राख्न पाउने प्रावधान छ । पिएसएलका लागि खेलाडी छनोट यही पुस २६ गते गरिनेछ । ड्राफ्टमार्फत प्रतियोगितामा सहभागिता जनाउने छ टोलीले खेलाडीको चयन गर्नेछन् । यस वर्षको पिएसएल आगामी मार्चमा हुनेछ । लामिछानेले सन् २०१९ मा लाहोर टोलीमा अनुबन्ध भई पिएसएल खेल्नुभएको थियो । उहाँ हाल बिगबास लिग खेल्ने क्रममा अष्ट्रेलियामा छन् ।