कामना सेवा विकास बैंकमा साईबर सुरक्षा सम्बन्धी प्रशिक्षण
काठमाडौं । कामना सेवा विकास बैंकले बैंकका सञ्चालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागीय प्रमुखहरुलाई साईबर सुरक्षा सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम गरेको छ । नेपाल प्रहरी, साईबर ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) नबिन्द्र अर्यालले बैंकका सञ्चालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागीय प्रमुखहरुलाई वर्तमान अवस्थामा साईबर जोखिमको पहिचान, विश्लेषण र व्यवस्थापन सम्बन्धमा प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा एसएसपी अर्यालले पछिल्लो समयमा देखिएका विभिन्न किसिमका विद्युतीय ठगी, साईबर अपराध तथा अन्य साईबर सम्बन्धी जोखिमलाई न्यूनिकरण गर्न बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापन तथा अन्य कर्मचारीहरुले साईबर जोखिमको बारेमा पर्याप्त जानकारी राख्नुपर्ने बताए । उक्त प्रशिक्षणले बैंकका सञ्चालक समिति तथा उच्च व्यवस्थापनहरुको साईबर जोखिम सम्बन्धी ज्ञान अभिवृद्धि गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए । बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटिएम वुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जाल मार्फत् आफ्नो अत्याधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ ।
डिजिटल रूपान्तरणको सात वर्ष मनाउँदै खल्ती
काठमाडाैं । खल्तीले माघ १२ गते (२६ जनवरी) मा आफ्नो सातौँ वार्षिकोत्सव मनाइरहेको छ । २०१७ मा माेबाइल टपअप र बिल भुक्तानी जस्ता सुविधाबाट डिजिटल रूपान्तरण सुरुवात गरेको खल्तीले अहिले इभेन्ट टिकटिङदेखि सरकारी सेवासम्मको काराेबारमा डिजिटल भुक्तानीको सेवा प्रदान गर्न सफल भएको छ । सबै नेपालीका लागि वित्तीय समावेशीकरणकाे उद्देश्य लिएर अगाडि बढेको खल्तीले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा यस यात्रामा साथ दिनुभएकाेमा सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक निकाए, एजेन्ट, मर्चेन्ट व्यवसायी र खल्ती कर्मचारीहरूलाई आभार व्यक्त गरेकाे छ । निकै कम समयमा पनि नेपालको डिजिटल कारोबारकाे करिब एक चौथाई ओगट्न सफल खल्तीले दैनिक करिब ३ लाख वटा भन्दा बढी कारोबारद्वारा लाखाैँ प्रयाेगकर्ताहरूको जनजिवन सहज बनाईरहेकाे छ भने एक लाख भन्दा बढि साना तथा मझौला मर्चेन्ट व्यवसायीहरू प्रतक्ष रूपमा खल्तीकाे डिजिटल भुक्तानि सेवा बाट लाभान्वित भइरहेका छन् । आफ्नाे स्थापनाकाे छाेटाे अबधीमा नै खल्तीले करिब ४० लाख भन्दा बढी प्रयोगकर्ता, एक लाख बढी एजेन्ट, ६० हजार बढी मर्चेन्ट, ५० बढी बैंक तथा वित्तीय संस्था र १५ सय सहकारीको विश्वास जित्दै निरन्तर साथ पाउन सफल भएको छ । खल्तीले सूचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि ISO २७००१:२०१३ प्रमाणिकरण गरेको छ भने हालै मात्र देशकै सबै भन्दा बढि डिजिटल भुक्तानि काराेबार गर्ने भुक्तानी सेवा प्रदायकको रूपमा पनि सम्मानित भएको छ । खल्ती आफ्नो सातौँ वर्षमा प्रवेश गर्दै एक डिजिटल वालेट मात्र नभई ‘योङ एण्ड ट्रेन्डी फाइनान्सिएल लाइफस्टाइल ब्रान्ड’ बन्दै युवा पुस्तालाई लक्षित गर्दै अघि बढिरहेको छ । यसका लागि खल्तीले भुक्तानी बाहेकका विभिन्न नवीन सेवा जस्तै खल्ती क्विज, खल्ती बिलबुक नवीकरण, खल्ती सुरक्षा, इभेन्ट टिकटिङ, भोटिङ, मुभी टिकटिङ, ‘खल्ती प्राे’ , ‘खल्ती क्लब’ जस्तै सेवाहरू उपलब्ध गर्दै आइरहेको छ। आगामी दिनमा पनि आफ्नो लगानी नवीन सेवा र सुविधा उपलब्ध गराउन प्रयोग गर्ने कुरा बताएको छ । यस बारे खल्तीका प्रमुख कार्यकारी अधिकारी विनय खड्का भन्छन्, ‘सुरुवाती चरणदेखि नै खल्ती सम्पूर्ण नेपालीलाई वित्तीय समावेशीकरण उपलब्ध गराउने प्रतिबद्धताका साथ अघि बढाएको छ । आजको दिन सात वर्षको यात्रा सम्म आइपुग्दा आधारभूत उपयोगिता भुक्तानीबाट सुरु गरेको हाम्रो यात्रा आजको दिनमा घरमै बसेर अधिकांश सेवाहरू लिन मिल्ने व्यवस्था सम्म पुर्याउन सफल भएका छौं । अबको हाम्रो प्रतिबद्धता खल्तीलाई फाइनान्सिएल लाइफस्टाइल ब्रान्डको रूपमा स्थापित गर्ने भएकोले हामी त्यसै अनुरूप खल्तीलाई भुक्तानी मात्र नबभई लगानी तथा आफ्नाे वित्तिुय व्यवस्थापन गर्ने प्लेटफर्मकाे रुपमा स्थापित गर्न विभिन्न नवीन सेवाहरू थपी आफ्ना प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्न खल्ती प्रतिबद्ध छ ।’ साताैँ वार्षिकोत्सवको उपलक्ष्यमा खल्तीले १२ माघ देखि १८ माघसम्म पहिलाे बैंक लिकं भुक्तानीमा प्रयोगकर्ताहरूलाई ७७ काे क्यासब्याक को अफर उपलब्ध गराएको छ । यसका साथै खल्तीले ‘खल्ती जर्नी’ अफर पनि उपलब्ध गराएको छ । यस अनुसार प्रयोगकर्ताहरूले खल्ती एपमा राईट स्वाइप गरी तोकिएको शीर्षक अनुसारको भुक्तानीमा इन्स्टेन्ट रिवार्ड जस्तै : खल्ती ब्यालेन्स , खल्ती पाेईन्ट , कुपनहरू र अन्य विभिन्न उपहार जित्न सक्नेछन् । ‘खल्ती जर्नी’ मा १ देखि ७ वर्ष को शीर्षकमा विभिन्न चरणमा विभिन्न कार्य ताेकिएकाे छ । सोही अनुसारकाे चरणहरू पार गर्दै प्रयोगकर्ताहरूले विजेता बन्न सक्नेछन् । भुक्तानी मात्र नभई खल्ती क्विज, बैंक ट्रान्सफर, भाेटिङ , दामी क्यु आर र फ्री विड्र बैंक खाता सेटअप जस्ता खल्ती विशेष ईनाेभेसनहरूको चरण पार गर्न गर्दै रिवार्डकाे लाभ उठाउन सक्नेछन् । साथै, खल्तीले विभिन्न मर्चेन्टसँग साझेदारी गर्दै विभिन्न अफर तथा उपहार पनि आफ्नो ६ औँ वार्षिकोत्सव कै उपलक्षमा उपलब्ध गराएको छ ।
भुक्तानी बाँकी रहेको रकम दाबी गर्न नेपाल टेलिकमको आग्रह
काठमाडौं । नेपाल टेलिकमले लामो समयदेखि भुक्तानी नगरेका विभिन्न कम्पनीलाई रकम दाबी गर्न आग्रह गरेको छ । ५ वर्षअघि भुक्तानी नगरेका कम्पनीलाई भुक्तानी गरिने टेलिकमले जनाएको छ । कम्पनीका अनुसार मल्टी एसवाइएस पीटीई, वाइसीओ, पाथवे टेक्नोलोजी एण्ठ सर्भिसेज, टेक वान ग्लोबल नेपाल र एशिया इन्फो लिंकेज टेक्नोलोजी कम्पनीलाई रकम दाबीका लागि आग्रह गरेको हो । टेलिकमको सूचना प्रणाली सहयोगी निर्देशनालय जावलाखेलसँग हाल कारोबार नरहेका एवं विगत लामो अवधि (५ वर्षभन्दा अघि)देखि भुक्तानी हुन बाँकी हिसाबमा देखिएका रकमहरू फरफारक गर्नुपर्ने छ । त्यसैले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफ्नो लिनुपर्ने रकम स–प्रमाणसहित दाबी पेस गर्न कम्पनीले आग्रह गरेको छ । साथै, भुक्तानी बाँकी रहेको प्रमाणसहित आर्थिक वर्ष २०७९/८० को कर चुक्ता प्रमाणपत्र रकम भुक्तानीको लागि निवेदन पेश गर्नु पर्ने कम्पनीले जनाएको छ । तोकिएको अवधिमा रकम दाबी नभएमा भुक्तानी बाँकीमा रहेका रकमहरू यस निर्देशनालयको खातामा आम्दानी बाँधिने र उक्त रकम भविष्यमा भुक्तानी गर्न नसकिने कम्पनीको भनाइ छ ।