अब ट्वीटरमा लामो स्टाटस लेख्न पाइने
एजेन्सी । ट्वीटरमा भएको अक्षर सीमाको कारणले मानिसहरुले सो प्लेटफर्ममा आफ्नो इच्छाअनुसारको विषय लेख्न सकिरहेका छैनन् । अहिले ट्वीटरमा भएको २ सय ८० अक्षरको सीमालाई बढाउने संकेत ट्ीवटरका मालिक एलन मस्कले दिएका छन् । ट्वीटरमा एक प्रयोगकर्ताले अक्षरको सीमा बढाउनेबारेमा दिएको सल्लाहलाई मस्कले सकारात्मक रुपमा लिएको बताएका छन् । एलन मस्कले ट्वीटर खरिद गरिसकेपछि पछिल्लो समयमा यसको स्वरुप र सुविधामा उनले परिमार्जन गर्ने कोशिष गरिरहेका छन् । आगामी केही समयमभित्रमा ट्वीटरले धेरै नयाँ विशेषताहरु थप्दै जाने अनुमान गरिएको छ ।
एनसेलले बाँड्न थाल्यो ई–सिम, कुन कुन मोबाइलमा प्रयोग गर्न मिल्छ ?
काठमाडौं । एनसेल आजियाटाले शुक्रबारदेखि आफ्ना ग्राहकहरुलाई ई–सिम वितरण गर्न थालेको घोषणा गरेको छ । यससँगै एनसेलका ग्राहकहरुले अब आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्नेछन् । ई–सिम अर्थात इम्बेडेड सिम हाल प्रयोग भईरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो । यो सिम ई–सिम सपोर्ट गर्ने मोबाइल वा उपकरण भित्र सानो चिपमा हुन्छ र यसबाटै दूरसञ्चार सेवा लिन सकिन्छ । यो भौतिक रुपमा प्रयोग हुने सिम भन्दा सुरक्षित मानिन्छ र केही गरी आफ्नो मोबाइल हराएमा वा चोरी भएमा पनि ई–सिम सो मोबाइलबाट झिक्न वा हटाउन मिल्दैन । एनसेलका ग्राहकहरूले एसएमएसमार्फत अनुरोध पठाई सजिलै आफ्नो हाल प्रयोग भईरहेको सिम ई–सिममा अपग्रेड गर्न सक्छन् । यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनु पर्दछ । ई–सिम सुचारु गर्नु भन्दा पहिला ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्दछन् । यो एसएमएस पठाउन र सिम अपग्रेड गर्नका लागि कुनै शुल्क लाग्ने छैन । ग्राहकले आफुलाई पायक पर्ने नजिकैको एनसेल सेन्टरबाट पनि आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्छन् । नयाँ ग्राहकहरुले पनि कुनै पनि एनसेल सेन्टरबाट आफुले चाहेको स्टार्टर प्याकका साथ आवश्यक प्रक्रिया पुरा गरि ई–सिम लिन सक्छन् । ई–सिम सुविधा लिनका लागि, ग्राहकहरूका साथमा ई–सिम सपोर्ट गर्ने मोबाइल हुन आवश्यक हुन्छ । ग्राहकहरूले आफ्नो मोबाइल ई–सिम चल्ने/नचल्ने थाहा पाउन *०६# डालय गर्न सक्छन् । यदि इम्बेडेड आईडेन्टिटी डकुमेन्ट (ईआईडी) सहितको विवरण ग्राहकको डिस्प्लेमा आएमा त्यस्तो मोबाइलमा ई–सिम चल्छ । ग्राहकलाई सेवा प्रदान गर्न नयाँ प्रविधि र सेवाहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धताअनुरूप चल्ने सुविधा सञ्चालनमा ल्याउन पाउँदा कम्पनी खुसी रहेको एनसेलले बताएको छ । उपभोक्ता र व्यवसाय दुवै माझ कनेक्टेड डिभाइसहरुको प्रयोग बढ्ने क्रममा रहेकाले ई–सिमले सूचना तथा सञ्चार प्रविधिको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ । आइफोनका पछिल्ला मोडलहरु जस्तै आइफोन एक्सएस सिरिज, आइफोन ११ सिरिज, आइफोन १२ सिरिज, आइफोन १३ सिरिज र आइफोन १४ सिरिजमा ई–सिमको सुविधा रहेको छ । त्यसै गरि सामसङको ग्यालेक्सी ए२१ सिरिज, ग्यालेक्सी ए२२ सिरिज, ग्यालेक्सी जेड फ्लिप सिरिज र गुगलको पिक्सल ४ सिरिज, पिक्सल ५ सिरिज र पिक्सल ६ सिरिजमा पनि ई–सिमको चल्ने सुविधा रहेको हुन्छ । ब्रान्ड र मोबाइलका मोडलहरुका आधारमा विभिन्न मोबाइलहरुमा एक भन्दा बढि ई–सिम नम्बर दर्ता गर्न सकिने सुविधा पनि रहेको हुन्छ । यद्यपि एक पटकमा एक मात्र नम्बर सक्रिय रहन्छ । ई–सिमले सूचना तथा सञ्चार प्रविधि तथा इन्टरनेट अफ थिङ्गस्मा पनि ठूलो महत्व राख्दछ । विकसित देशहरुमा यो कार, घरायसी सामानहरु र औद्योगिक क्षेत्रका मसिनहरुमा पनि प्रयोग हुने गरेको छ ।
टेलिकमको इन्टरनेट जोड्नेले मोबाइलमा १०६ जिबी डाटा निःशुल्क पाउने
काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा फाइबर टु द होम (एफटिटिएच) सेवा पुर्याउने भएको छ । राजधानीका मुख्य सहरी भागमा अहिले पनि एफटिटिएच सेवा पुगेकामा चालु आवको अन्त्यसम्म भने काँठ र ग्रामीण भेगमा लैजाने गरी तयारी गरिएको हो । टेलिकमले सन् २०१५ जनवरीदेखि पाइलट प्रोजेक्टका रुपमा एफटिटिएच सेवा सुरु गरेको थियो । सन् २०१७ देखि भने व्यावसायिक रुपमा यो सेवा आरम्भ भएको नेपाल टेलिकमका सहायक प्रवक्ता रञ्जित लोहियाले जानकारी दिए । घरघरमा फाइबर पुर्याउने उद्देश्यले यो सेवा सुरु गरिएको हो । हालसम्म ६८ जिल्लाका मुख्य मुख्य सहरमा फाइबर सेवा पुगेको छ । गत वर्षमात्र एफटिटिएचको दुई लाख २६ हजार पोइन्ट जोडिएको उनले बताए । चालु आवमा एफटिटिएचका तीन लाख पोइन्ट जोड्ने कार्यक्रम छ । हालसम्म एफटिटिएच सेवाका लागि देशभर नौ लाख ५५ हजार छ सय ६६ पोइन्ट जोडिएको छ । हाल यो सेवाका ग्राहक भने दुई लाख ८६ हजार छन् । एफटिटिएच सेवाका लागि पोइन्ट जोड्न भौतिक रुपमा काम गर्नुपर्ने भएकाले व्यावसायिक सेवा सुरु गरेको पाँच वर्षमा पनि देशभर सेवा बिस्तार गर्न नसकिएको सहायक प्रवक्ता लोहिया स्वीकार गरे । कोरोना महामारीका कारण दुई वर्ष विदेशबाट सामग्री ल्याउन नसकिएकाले पनि एफटिटिएच सेवा विस्तारको काममा ढिलाइ भएको हो । यो काम काठमाडौं उपत्यकाकामा भने २०८० साल असारसम्ममा सक्ने लक्ष्य राखिएको छ । हालसम्म डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, रुकुम पूर्व, रुकुम पश्चिम, बझाङ र बाजुरामा एफटिटिएच सेवा पुग्न सकेको छैन । यस बाहेकका ६८ जिल्लामा यो सेवा पुगेको छ । जसमध्ये जुम्लामा भने काम भइरहेको टेलिकमले जनाएको छ । एफटिटिएच सेवा लैजान घरअघि बक्स राखिन्छ । तार भूमिगत रुपमा लगिन्छ । बक्सबाट भने पोलबाट पनि तार लगिने जनाइएको छ । तामाको तारमा आधारित प्रणालीमा रहेको एडिएसएल सेवाको इन्टरनेटलाई अप्टिकल फाइबर प्रणालीमा आधारित प्रविधिमा रुपान्तरण गर्न एफटिटिएच सेवा विस्तारलाई प्राथमिकतामा राखिएको हो । सबैतिर अप्टिकल फाइबर पुगेपछि तामाको तारमा आधारित प्रविधि बन्द गर्ने टेलिकमको तयारी छ । एफटिटिएच प्रविधिबाट इन्टरनेटका साथै ग्राहकले टेलिभिजन र टेलिफोन सेवा पनि पाउने छन् । यी तीनै सेवा प्रदान गर्ने अरु इन्टरनेट प्रदायक संस्था नेपालमा छैनन् । यो प्रविधि जोड्नेले एक महिनामा मोबाइलमा १०६ जिबी डाटा पनि निःशुल्क पाउने व्यवस्था गरिएको छ ।