निषेधाज्ञासँगै घट्यो डिजिटल भुक्तानी मार्फत हुने कारोबार
काठमाडौं । गत वैशाखदेखि देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएसँगै डिजिटल भुक्तानी प्रणालीमार्फत हुने कारोबार रकममा कमी आएको छ । निषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोबार रकममा कमी आएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दश महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत चैतको तुलनामा वैशाखमा मात्र कारोबार रकममा रु साढे दुई अर्बभन्दा बढीले कमी आएको छ । निषेधाज्ञा शुरु हुनुअघि डिजिटल कारोबार लगातार बढिरहे पनि निषेधाज्ञा शुरु भएसँगै कारोबारको सङ्ख्या र परिमाण घटेको राष्ट्र बैंकको तथ्याङ्कमा छ । निषेधाज्ञा लागू भएसँगै कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ, क्युआर स्क्यान मोबाइल वालेट र इकर्मसमार्फत हुने कारोबार रकममा कमी आएको हो । गत चैतमा डिजिटल भुक्तानीमार्फत रु एक खर्ब ६६ अर्ब ८१ करोडभन्दा बढीको कारोबार भएकामा वैशाखमा उक्त कारोबार रकममा कमी आई रु एक खर्ब ६४ अर्ब ७५ करोड बराबरको कारोबार भएको छ । गत वर्षकोे निषेधाज्ञासँगै कारोबार रकममा वृद्धि हँुदै आएकामा निषेधाज्ञा लागू भएसँगै कारोबार रकममा कमी आएको हो । कुनको कति रकम घट्यो ? राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत चैतकोे तुलनामा कनेक्ट आइपिएसमार्फत हुने कारोबार रकममा रु ९३ करोड २० लाखले कमी आएकोे छ । वैशाखमा कनेक्ट आइपिएसमार्फत रु एक खर्ब ४१ अर्ब २७ करोड बराबरको कारोबार भएको छ । गत चैतमा रु एक खर्ब ४१ अर्ब ८० करोढ २० लाख बराबरको कारोबार भएको थियो भने फागुनमा रु एक खर्ब १० अर्ब ५७ करोड २० लाख बराबरको कारोबार भएको थियो । चैतमा २० लाख ३८ हजार ४६५ पटक कनेक्ट आइपिएसको प्रयोेग भएकामा वैशाखमा १८ लाख ४३ हजार ५५१ पटक मात्र कारोबार भएको छ । यस्तै गत चैतकोे तुलनामा इन्टरनेट बैंकिङमार्फत हुने कारोबार रकममा समेत कमी आएको छ । वैशाखमा रु दश अर्ब ८० करोड बराबरको कारोबार भएकामा गत चैतमा रु दश अर्ब २१ करोड पाँच लाख बराबरको कारोबार भएको थियो । गत चैतमा वालेटमार्फत रु ११ अर्ब २१ लाख बराबरको कारोबार भएकामा वैशाखमा रु १० अर्ब १० लाख बराबरको कारोबार भएको छ । क्युआरमा आधारित भुक्तानीमार्फत गत चैतमा रु दुई अर्ब ७२ करोड २२ लाख बराबरको कारोबार भएकामा वैशाखमा रु दुई अर्ब ५२ करोड ९० लाख कारोबार भएको छ । यस्तै गत चैतमा अनलाइन ९इ–कमर्स० का माध्यमबाट रु दश अर्ब ५८ करोड बराबरको कारोबार भएकामा वैशाखमा कारोबार रकममा कमी आई रु ७६ करोड ८० लाख बराबरको कारोबार भएको छ । अन्य डिजिटल माध्यमबाट गत चैतको तुलनामा वैशाखमा कारोबार रकममा कमी आए तापनि मोबाइल बैङ्किङमार्फत हुने कारोबार रकममा केही वृद्धि भएको छ । गत चैतमा मोबाइल बैङ्किङमार्फत रु ४८ अर्ब ६५ करोड २० लाख बराबरको कारोबार भएकामा वैशाखमा रु ४८ अर्ब ८८ करोड ७० लाख बराबरको कारोबार भएको छ । गत चैतको तुलनामा वैशाखमा रु २३ करोड ५० लाख बराबरले वृद्धि भएको छ ।
परिवार योजनाका साधानहरुकाे जानकारी दिन ‘मेरी संगिनी’ एप सुरु
काठमाडाैं । नेपाल सीआरएस कम्पनीले परिवार योजना सम्बन्धि ‘मेरी संगिनी’ नामक मोबाइल एप सुरु गरेको छ । कम्पनीले अस्थाई र छोटो अवधिका परिवार योजनाका साधनहरुको बारे विस्तृत जानकारी दिने उदेश्यले मेरी संगिनी मोबाइल एप सुरु गरेकाे जनाएकाे छ । मेरी संगिनीबाट प्रदान गरिएको अस्थाई तथा छोटो अवधिका परिवार योजनाका साधनहरु सम्बन्धि तथा सो साधनको प्रयोगबाट पर्न जाने साधारण प्रतिअसरहरुको समेत जानकारी प्रजनन उमेरको जो कोहिलाई अति उपयोगी हुने भएता पनि विशेष गरी किशोर तथा किशोरी एवंम नवविवाहित जोडीहरुलाई अत्यन्त उपयोगी रहेकाे कम्पनीका प्रबन्ध निर्देशक जिबलाल पोखरेलले बताए । एपमा भएको ‘प्राय सोधिने प्रश्नहरु’ खण्डले परिवार योजनाका अस्थाई तथा छोटो अवधिका साधन प्रयॊगकर्ताहरुलाई अझ विस्तृत जानकारी दिनुको साथै सम्भाव्य प्रयोगकर्ताहरुलाई साधनहरुको सुसुचित छनौट गर्न मदत गर्नेछ । साथै एपमा आफु नजिकैको अस्थाई तथा छोटो अवधिका परिवार योजनाका साधन उपलब्ध गराउने औषधी पसल, क्लिनिक र संगिनी सेवा केन्द्रको ठेगाना र नक्शा पनि उपलब्ध हुने हुँदा आफु नजिकैको तालिम प्राप्त र दक्ष्य सेवा केन्द्रबाट आफुलाई उपयुक्त हुने साधनको सेवा समेत लिन मदत गर्ने पाेखरेलले बताए । परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेल परिवार योजनाका साधनहरुको पहुँच बढाउनका निम्ति मोबाइल प्रविधिको भूमिका अत्यन्त महत्वपुर्ण रहेको र मेरी संगिनी एपले उपभोक्ताहरुलाई अस्थाई गर्वनिरोधक साधनबारे सुसुचित छनौट गर्न सहयोग पुर्याउने बताउँछन् । नेपाल सी आर एस कम्पनीले सामाजिक बजारीकरणको सिदान्त अनुसार विगत चार दशकभन्दा अघिदेखि परिवार योजना, मातृ तथा बाल स्वास्थ्य र यौन रोगको रोकथामका साधनहरुको विक्रिवितरण तथा व्यवहार परिवर्तन सम्बन्धी कार्यक्रम संचालन गर्दै आएको छ। यस कम्पनीबाट वितरित परिवार योजनाका साधनहरु नेपालको ७७ ओटै जिल्लामा उपलब्ध छन् । नेपाल सीआरएस द्वारा वितरित गरिएका केहि प्रतिष्ठित ब्राण्ड ढाल, प्यान्थर, संगिनी तिन महिने सुइ , निलोकन व्हायिट, सुनौलो गुलाफ, नव जीवन तथा आकस्मिक गर्भ निरोधक चक्की ईकोन रहेका छन्।
नागरिक एपमा समस्या आए भाइबरबाट गुनासो गर्न सकिने
काठमाडौं । ‘सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा’ भन्ने नाराका साथ सार्वजनिक गरिएको ‘नागरिक एप’ का प्रयोगकर्ताले भाइबरबाटै समस्या र जिज्ञासाहरू टिपाउन पाउने भएका छन् । सरकारले पूर्णरूपमा सार्वजनिक गरेको उक्त एप सञ्चालनमा देखिएका समस्या समाधानका लागि भाइबर हेल्प हेस्क शुरु गरेको हो । एपका प्रयोगकर्ताले एपको अफिसियल मोबाइल नम्बर ९७७–११२२३३४४५५ मा गुनासो तथा जिज्ञासा म्यासेज गरेर (मार्फत) टिपाउन सक्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलका अनुसार ११०१ वा ०१–५९७००४६ मा फोन गरेर समस्या टिपाउन सकिनेछ । गत माघ २ गते बेटा भर्सनको रूपमा सार्वजनिक भएको नागरिक एप गत वैशाख १९ गते पूर्णरूपमा सार्वजनिक गरिएको हो । नेपाल सरकारद्वारा प्रदान गरिने सबै किसीमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने भन्दै नागरिक एप सञ्चालनमा ल्याइएको थियो । पछिल्लो समय एपमा ‘पोलिस क्लियरेन्स रिपोर्ट’ र स्वास्थ्य बीमा कार्यक्रमसमेत नागरिक एपमा थपिएका छन् । एपबाटै ‘क्युआर स्क्यान’ गरेर नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोल्न सकिन्छ । शुरुआती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको थियो । नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा र दोस्रो चरणमा अर्ध सरकारी सेवाहरू समेटिने छन् ।