हाम्रो ‘म्याण्डेड’ चुनाव गराउने हो, फागुन २१ गते निर्वाचन हुन्छ : मन्त्री खरेल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्राप्त जिम्मेवारीअनुसार आगामी फागुन २१ गते निर्वाचन गराउने प्रतिबद्धतासहित सरकार अघि बढेको बताएका छन् । नेपाल पत्रकार महासङ्घले आइतबार आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चरमन्त्री खरेलले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने ‘म्याण्डेट’ रहेकाले सोहीअनुसार निर्वाचन गराउनेतर्फ सरकार केन्द्रित भएको स्पष्ट गरे । सरकारको प्रमुख प्राथमिकता भनेको तोकिएको मितिमा व्यापक जनसहभागितासहित स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढङ्गबाट निर्वाचन गराउने हो भन्दै उनले निर्वाचन प्रक्रियामा सहभागी हुन सम्पूर्ण राजनीतिक पार्टीलगायत सम्बद्धपक्षसँग अनुरोध गरे । यसैगरी, मन्त्री खरेलले फागुन २१ गते निर्वाचन गराउने सन्दर्भमा निर्वाचन आयोगले ‘क्यालेण्डर’ नै तयार गरिसकेको अवस्थामा आवश्यक वातावरण तयारीका लागि नेपाल पत्रकार महासङ्घका तर्फबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । उनले फरक प्रसङ्ग उल्लेख गर्दै सुरक्षाकर्मीलाई राज्यले परिचालन गर्ने भएकाले एकाध घटना घट्दैमा सुरक्षाकर्मीको मनोबल नगिर्ने जिकिर गरे । 'सुरक्षाकर्मीलाई राज्यले परिचालन गर्छ, एकाध घटनाले उहाँहरुको मनोबल गिर्दैन र हामीले गिर्ने वातावरण पनि सृजना गर्नुहुँदैन', उनले भने । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले फागुन २१ गतेको निर्वाचनका लागि पत्रकार महासङ्घले आवश्यक सहयोगसहित सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास दिलाइन् । उनले भनिन्, 'पत्रकार महासङ्घ सरकारसँग सहकार्य गरेर काम गर्न इच्छुक छ । निर्वाचन गराउनमा पत्रकारले गर्नुपर्ने सहयोग र भूमिका सकारात्मक हुने विश्वास दिलाउन चाहन्छु ।' रासस
करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्छ : सञ्चारमन्त्री खरेल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले करारमा रहेका सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने बताएका छन् । आइतबार काठमाडौंको सञ्चारग्रामस्थित न्युनतम पारिश्रमिक निर्धारण समितिको कार्यालयमा अनुगमन गर्ने क्रममा उनले करारमा रहेका सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनका लागि तत्काल गृहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री खरेलले अन्य सरकारी कर्मचारीहरुले पेन्सन लगायतका सुविधा समेत पाउने भएकाले करारमा रहेका कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक रहेको तर्क समेत गरे । उनले सबै सञ्चारकर्मीहरुलाई सो कोषको दायरामा ल्याउन सरकार लागि परेको पनि बताए । सञ्चारमन्त्री खरेलले भने, ‘मैले सचिवज्युलाई म आएलगत्तैको हप्तामा यो कुरा राखेको पनि छु कि कसरी हामीले अव सामाजिक सुरक्षा कोषको दायरामा पत्रकारलाई, सञ्चारकर्मीलाई ल्याउन सकिन्छ । अब कसरी व्यवहारिक रुपमा सकिन्छ त ? यसको व्यवहारिक पाटो पनि हेर्दै कम्तिमा शुरुवात गरेर अगाडि बढियो । र एउटा फाउण्डेशन, बेसलाईन बनाइयो भने अगाडि बढन सकिन्छ ।’ मन्त्री खरेलले सामाजिक सुरक्षा कोषको दायरामा अनौपचारिक क्षेत्रलाई समेट्ने कामलाई सरकारले जोड दिएको पनि जानकारी दिए ।
आपसी समन्वयका कारण विपद्मा पनि यसरी सम्भव भयो दूरसञ्चार सेवा
काठमाडौं । निरन्तरको भारी वर्षा र त्यसपछिको बाढीपहिरोका कारण असोज तेस्रो साता जनजीवन प्रभावित भयो । खासगरी मुलुकका मध्यभागदेखि पूर्वोत्तर क्षेत्र वर्षाबाट बढी प्रभावित भए । बाढीपहिरोका कारण हालसम्म ५३ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन् । अलपत्र यात्रु गन्तव्यमा अझै पुगिसकेका छैनन् भने सबै सडकमा पूर्ण रुपमा यातायात सञ्चालन गर्न अझै केही दिन लाग्ने सरकारले बताइसकेको छ ।देशको विषम परिस्थितिमा पनि दूरसञ्चार क्षेत्रले भने निरन्तर सेवा दिन सक्यो । बाढीपहिरोका कारण दूरसञ्चारका पूर्वाधारमा धेरै क्षति हुँदा पनि निरन्तर सेवा सञ्चालन भयो । नेपाल टेलिकमका सहप्रवक्ता नवीन मिश्र जनशक्तिको निरन्तरको खटाइ र पूर्वतयारीका कारण निर्वाध सेवा प्रवाह सम्भव भएको बताउँछन् । विशेषगरी मधेस र कोशी प्रदेशमा कम्पनीको सेवा बढी प्रभावित भयो । 'भारी वर्षा, बाढीपहिरो तथा डुबानका कारण मुलुकभर नेपाल टेलिकमका एक हजार १५० वटा टावरमा क्षति भयो । मधेसमा करिब ३०० वटा टावरमा क्षति भयो', उनले भने । धेरै ठाउँमा विद्युत् आपूर्तिमा अवरोध हुँदा समस्या भएको थियो । सहप्रवक्ता मिश्रका अनुसार नेपाल टेलिकमले विपत्तिका बेला काम गर्न मुलुकभर ‘इन्टिग्रेटेड मेन्टिनेन्स युनिट’ नै राखेको छ । सोही टोली जस्तोसुकै परिस्थितिमा पनि कार्यक्षेत्रमा परिचालन हुन तयारी अवस्थामा हुन्छन् । गत असोज १८ र १९ गते कोसी र मधेस प्रदेशका करिब पाँच लाख उपभोक्ता प्रभावित भएका थिए । कोसी प्रदेशको इलाममा भने दुई दिनसम्म सेवा प्रभावित भए पनि अन्य क्षेत्रमा भने लामो समयसम्म सेवा अवरुद्ध हुन नपाएको उनको भनाइ छ । निजी क्षेत्रको टेलिकम सेवाप्रदायक एनसेलका अनुसार बाढीपहिरो तथा डुबानका कारण कम्पनीका करिब ४०० टावरमा क्षति भएको छ । समस्या भएका ठाउँ पहिचान गरेर सेवा सञ्चालन भइसकेको एनसेलको भनाइ छ । विद्युत्का कारण इलामका केही स्थानमा समस्या रहे पनि अहिले सबै स्थानमा सेवा सञ्चालन भइसकेको छ । 'समस्या हामीलाई पनि परेको थियो तर हामीले अहोरात्र खटिएर तत्कालै सेवा सञ्चालन गर्न सफल भयौँ । अहिले कतै पनि एनसेलको सेवामा समस्या भयो भनेर गुनासो आएको छैन', एनसेलले भनेको छ । दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकम र एनसेलसँग सहकार्य गरिरहेको चिनियाँ कम्पनी हुवावेका अनुसार सरकारले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षाको प्रक्षेपण गरेपछि यसको तयारी सुरु भइसकेको थियो । गत वर्ष पनि भारी वर्षापछि बाढी र पहिरोका कारण ठूलो क्षति भएकाले हुवावेले आफ्नो क्षेत्राधिकारभित्र पूर्वतयारी सुरु गरिसकेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पनि त्यसअघि नै टेलिकम कम्पनीहरुलाई उच्च सतर्कता अपनाउन र आपत्कालीन समयमा सेवा निरन्तरताको सुनिश्चित गर्नका लागि आग्रह गरिसकेको थियो । विपद्मा कस्ता समस्या आउँछन् ? प्राकृतिक विपत्तिका बेला सेवा प्रवाह गर्ने प्रमुख उपकरण टावरलगयतमा अवरोध हुन्छ । बाढीपहिरोमा फाइबर वा ‘माइक्रोवेभ लिङ्क’ काट्दा वा सडक बगाउँदा टावरको सञ्जाल विच्छेद हुन्छ । केही टावर डुबानमा पर्छन् वा बिजुलीका खम्बा ढल्दा वा लाइन क्षतिग्रस्त हुँदा विद्युत् आपूर्ति बन्द भएर पनि सेवा अवरुद्ध हुन्छ । कहिलेकाहीँ हुरी, बाढीपहिरोले ठूलोमात्रामा फाइबर केबल विच्छेद गरिदिन्छ । रूख ढल्दा वा पहिरो खस्दा हावामा तन्काइएका फाइबर केबलहरू चुँडिन्छन् । सो अवस्थामा पनि सेवा अवरुद्ध हुन्छ । त्यस्तै, सडक भासिँदा वा जमिन तलमाथि हुँदा पनि भूमिगत फाइबर चुँडिने वा भाँचिने हुन्छ जसका कारण केबल ज्वाइन्ट (स्प्लाइस पोइन्ट र इन्क्लोजर) नष्ट हुन्छन् । जसले गर्दा सेवा अवरुद्ध हुन्छ । त्यसबाहेक विद्युत् आपूर्तिका समस्या भएर पनि सेवा अवरुद्ध हुन्छ । ‘ब्याकअप ब्याट्री वा डिजेल जेनेरेटर’ क्षतिग्रस्त हुन सक्छन् वा इन्धन पुनःभरण पहुँच नहुँदा प्रयोग गर्न नसकिने अवस्था आउँछ जसका कारण सेवा सञ्चालन गर्न ढिला हुन्छ । हालैको बाढीपहिरोमा सडक नै बगाएको वा अवरुद्ध भएका कारण सेवा पुनःसुरु गर्न ढिला भएको छ । फिल्ड इञ्जिनियरले अवरुद्ध वा डुबान भएका सडक, ढलेका पुल वा पहिरोका कारण क्षतिग्रस्त स्थानमा पुग्न कठिनाइ हुन्छ । कसरी हुन्छ सेवा सञ्चालन ? टेलिकम सेवाप्रदायकले देशका सबै क्षेत्रमा अहोरात्र सेवा प्रवाह भइरहेको छ कि छैन भनेर अनुगमन गरिरहेका हुन्छन् । सोअन्तर्गत पूर्वसूचना र निगरानी लिने काम पनि हुन्छ । यसपटक जल तथा मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त सूचनाका आधारमा ‘नेटवर्क’ निगरानी बढाइएको थियो । यसरी उच्च जोखिम हुने क्षेत्र पहिचान गरिन्छ । यस्तो अवस्थामा टेलिकम सेवाप्रदायकले आपत्कालीन संयन्त्र परिचालन गर्छन् र कुनकुन स्थानमा फाइबर काटिएको छ, टावर भत्किएको छ वा बिजुली अवरुद्ध भएको छ त्यसको जानकारी फिल्ड इञ्जिनियर तुरुन्त दिइन्छ । त्यसपछि अवरुद्ध भएको स्थानमा ‘ब्याकअप पावर’ र उपकरणको अवस्था कस्तो छ सोको जानकारी गराइन्छ । ‘ब्याट्री, जेनेरेटर र स्पेयर पार्ट’हरू स्थानीयस्तरमै तयारी अवस्थामा राखिन्छन् । सेवा अवरुद्ध भएको स्थानमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र समुदायसँग सहकार्य गरी प्रभावित क्षेत्रमा मर्मत गरिन्छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा एनसेल र नेपाल टेलिकमजस्ता सेवाप्रदायकले एकापसमा समन्वय गरी नेटवर्क निरन्तरता सुनिश्चित गर्छन् । यी प्रयासले बाढीपहिरो र भूकम्पजस्ता विपद्का बेला पनि नेपालमा सञ्चार सेवा निरन्तर सञ्चालन राख्न मद्दत पुर्याउँछन् । दूरसञ्चार उपकरण तथा सूचना तथा सञ्चार प्रविधि सेवा प्रदायक हुवावेले नेपाल टेलिकम र एनसेललाई प्रविधि र स्थलमै जनशक्ति उपलब्ध गराई महत्वपूर्ण सहयोग गरेको जनाएको छ । सेवा प्रदायकसँग नजिकबाट सहकार्य गर्दै, हुवावेले देशभर आफ्ना प्राविधिक टोली निरन्तर खटाइ काम गरेको जनाएको छ । हुवावेका अनुसार कम्पनीले सञ्चालन गरेको नेटवर्क ‘एस्युरेन्स’ प्रणालीमार्फत लगातार निगरानी गरिएको थियो । ‘सिग्नल ड्रप’ वा ‘फाइबर कट’को सङ्केत ‘पिङ टेस्ट’, ‘अलार्म निगरानी’ र ‘अप्टिकल डायग्नोस्टिक्स’जस्ता उपकरण प्रयोगगरी तत्कालै पहिचान गरिएको थियो । फलस्वरुप ‘फाइबर कट’ विद्युत् अवरोध र सडक अवरुद्धजस्ता चुनौतीमा पनि आफूहरुले तत्काल सेवा प्रवाह गर्न सफल भएको उनीहरुको भनाइ छ । रासस