एनसेलले ल्यायो ‘ननस्टप युट्युब’ अफर

काठमाडौं / एनसेलका सबै फोरजी ग्राहकले अब लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट भरपुर फाइदा लिन सक्छन् । भिडियो सामाग्रीहरु हेर्दा धेरै डेटा खपत हुने र शुल्क पनि बढि लाग्ने चिन्ताबाट मुक्त हुँदै ग्राहकले युट्युबको प्रयोग गर्न सक्छन् । एनसेलको प्राइभेट लिमिटेडले आफ्नो नयाँ ‘प्लस’ थिमअन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर ल्याएको छ । एनसेलको ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको कम्पनीले जनाएकाे छ । ‘प्लस’ थिम अन्तर्गतको ननस्टप युट्युब अफरमा ग्राहकले निश्चिन्त रुपमा मात्र रु १०० (कर सहित मात्र रु १२७.६९) मा एक साताभरि ४८०पी मा युट्युब भिडियो सामाग्रीहरुकोे मजा लिन सक्नेछन् । साथै यो अफरमा ग्राहकले ४ जिबी फोरजी अल टाइम अल नेटवर्क डेटाको पनि फाइदा लिन सक्नेछन् । फोरजी नेटवर्कमा ननस्टप युट्युब र ४ जिबी अल टाइम अल नेटवर्क डेटा सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ । साथै यो प्याक सुचारु गर्ने ग्राहकले फेसबुक र टिकटकको लागि सुलभ दरमा छुट्टा छुट्टै आकर्षक प्याक पनि लिन सक्ने कम्पनीले जनाएकाे छ । ग्राहकले ननस्टप युट्युब प्याक सुचारु गरे पछि हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र रु २० (कर सहित मात्र २५.५३) मा ३५०० एमबि थप डेटाको लिन सक्नेछन् । उक्त डेटा ग्राहकले फेसबुक चलाउनको लागि प्रयोग गर्न सक्नेछन् । त्यति नै शुल्कमा टिकटक चलाउन रुचाउने ग्राहकले पनि हरेक दिन ५०० एमबिको दरले ७ दिन सम्म ३५०० एमबि थप डेटाको मजा लिन सक्नेछन् । आफ्नो आवश्यकता अनुसार ग्राहकले फेसबुक र टिकटकका लागि दुवै डेटा पनि लिन सक्नेछन् । एनसेलका फोरजी ग्राहकले एस्ट्रिक्स१७१२३ एस्ट्रिक्स१ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार यो प्याक सजिलै सुचारु गर्न सक्नेछन् । सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता अनुरुप एनसेलले आफ्ना फोरजी ग्राहकलाई लक्षित गर्दै यो आकर्षक योजना ल्याएको हो । सन् २०१७ मा फोरजी सेवा संचालनमा ल्याए पछि कम्पनीले देशको विभिन्न भागमा तदारुकताका साथ यो सेवाको विस्तार गरेको छ । भिडियो कन्टेन्टको बढ्दो मागले गर्दा देशमा डेटा सेवाको बढ्दो उपभोग भइरहेको अवस्थामा ननस्टप युट्युब अफरको साथमा सुलभ दरमा आफ्ना ग्राहकलाई युट्युबमा पहुँच दिन पाएकोमा निकै हर्षित रहेको एनसेलले जनाएको छ । फोरजी अल टाइम अल नेटवर्क डेटासँग बण्डलिङ्ग तथा लोकप्रिय सामाजिक सञ्जाल फेसबुक र टिकटकको लागि निकै सुलभ दरमा थप डेटा सहितको यस अफरले ग्राहकलाई थप लाभ प्रदान गर्ने विश्वास एनसेलले लिएको छ । यस अफर अन्तर्गतको ननस्टप युट्युबको फाइदा लिन ग्राहकसंग एनसेल फोरजी सिम कार्ड, फोरजी चल्ने मोवाइल र एनसेलको फोरजी नेटवर्क कभरेज भित्र हुनु पर्दछ । आफ्नो थ्रिजी सिम कार्ड फोरजी सिममा अपगे्रड गरी नसकेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गएर आफ्नो सिम निःशुल्क अपग्रेड गर्न सक्नेछन् । साथै सिम अपगे्रड गर्नुहुने ग्राहकले थप १ जिबी डे प्याक डेटा निःशुल्क प्राप्त गर्नेछन् ।

इन्टरनेट सस्तो र गुणस्तरिय हुनुपर्नेमा सरोकारवालाको चासो, करछुट गर्न आइस्पानको माग

काठमाडौं । पछिल्लो समय नेपालमा पनि इन्टरनेट प्रविधिको प्रयोग बढिरहेको छ । इन्टरनेट प्रयोगकर्ता बढेसँगै डिजिटल सर्भिसेस, ई-कमर्श, अनलाइन शिक्षा, डिजिटल स्वास्थ्य र डिजिटल कृषिको आवश्यकता र माग पनि बढिरहेको छ । दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको गत वैशाख २०७७ सम्मको तथ्यांक हेर्ने हो भने नेपालमा ७२ प्रतिशतले इन्टरनेट प्रयोग गरिरहेका छन् । लगभग ५४ प्रतिशत मानिसले मोबाइल डेटाकै प्रयोग गरेर इन्टरनेट चलाइरहेका छन् । तर अहिले पनि ग्रामीण र विकट क्षेत्रहरूमा इन्टरनेटको पहुँच पुग्न सकेको छैन । यसैबीच असार २० गते आयोजित डिजिटल संवाद कार्यक्रममा बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ग्रामीण क्षेत्रमा इन्टरनेटको विस्तार मुख्य प्राथमिकतामा रहेको बताए । ग्रामीण दूरसञ्चार कोष मार्फत विभिन्न परियोजना अन्तर्गत कामहरू भइरहेको र ४१ जिल्लाका सम्पूर्ण वडाहरूमा इन्टरनेट विस्तार गरिएको उनको भनाइ छ । फाइबर विस्तारको काममा सडक विभाग र विद्युत् प्राधिकरणसँग समन्वय हुन नसक्दा काममा ढिलाइ भएको र पछिल्लो समय कोरोना, लकडाउन र केही परियोजनामा अदालती प्रक्रिया जस्ता कारणले मध्यपहाडी लोकमार्ग र अन्य क्षेत्रमा केही ढिला हुन गएको अध्यक्ष खनालले स्वीकारे । संवादमा बोल्दै पूर्वमन्त्री गणेश शाहले अब इन्टरनेट आधारभूत आवश्यकता जस्तो भइसकेको हुँदा इन्टरनेट सस्तो र भरपर्दो हुनुपर्ने औंल्याए । डिजिटल नेपाल बनाउने सरकारले तयारी गरे पनि इन्टरनेको पहुँच विस्तार नभएसम्म धेरै काम अघि नबढ्ने हुँदा ग्रामीण क्षेत्रमा डिजिटल कनेक्टिभिटीको पहुँच विस्तारमा जोड दिनुपर्ने शाहले बताए । आइसिटी विज्ञ मनोहर भट्टराईले डिजिटल रूपान्तरणको लागि इन्टरनेट पहिलो शर्त भएको बताए । एआई, आइओटी, बिगडेटा जस्ता नयाँ प्रविधिहरू पनि आइरहेको हुँदा डिजिटल डिभाइड बढ्नेतर्फ सचेत हुँदै ‘मिनिङफुल’ ब्रोडब्याण्ड कनेक्टिभिटीमा जोड दिनुपर्ने उनको भनाइ थियो । डिजिटल संवाद कार्यक्रममा बोल्दै नेपाल टेलिकमका अध्यक्ष डिल्ली अधिकारीले पछिल्लो समय ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच विस्तारमा उल्लेख्य प्रगति भइरहेको र टेलिकमले विभिन्न योजनाहरू बनाएर काम गरिरहेको बताए । विभिन्न ३५ सय टावरहरू मार्फत फोरजी विस्तार भइरहेको हुँदा यसले डिजिटल रूपान्तरणमा फड्को मार्ने अधिकारीले बताए । पछिल्लो समय नेपाल टेलिकमले दूरसञ्चार कोष अन्तर्गतको परियोजनामा पनि प्राथमिकताको साथ काम गरिरहेको हुँदा अब इन्टरनेटको प्रोडक्टिभिटी र उपयोगितामा पनि जोड दिनुपर्ने उनको भनाइ थियो । यसैगरी दूरसञ्चार प्राधिकरण अन्तर्गत इन्फ्रास्ट्रक्चर डिभिजनका निर्देशक डा. सुरेन्द्र हाडाले अब स्थानीय सरकारसँग समन्वय गर्दै काम गर्नुपर्ने आवश्यकता महशुस भएको बताए । ७०१ स्थानीय तहमा इन्टरनेट विस्तार भइसके पनि अझै उच्च गतिको मिनिङफुल इन्टरनेट विस्तारमा धेरै काम गर्नुपर्ने हाडाको भनाइ थियो । कार्यक्रममा नेपाल टेलिकमका इन्जिनियर अमृत नेपालले टेलिकमले विस्तार गरिरहेको इन्टरनेट र विभिन्न प्रविधिहरूको बारेमा जानकारी गराए । कार्यक्रममा आइस्पानका अध्यक्ष भोजराज भट्टले सरकारले ग्रामीण क्षेत्रमा पहुँच विस्तार गर्न सेवा प्रदायकलाई विभिन्न किसिमले प्रोत्साहन गर्नुपर्ने बताए । उनले इन्टरनेटमा कर बढी भएको, ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तारको लागि छुट्टै फ्रिक्वेन्सी ब्याण्ड उपलब्ध गराउनुपर्र्नेमा जोड दिए । भायानेट कम्युनिकेसनका निर्देशक सेवा पाठकले ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तारको लागि लाइसेन्स ब्याण्ड र इन्फ्रास्ट्रक्चर सेयरिङमा जानुपर्ने बताइन् । उनले इकोसिस्टम विकास गर्न स्थानीय स्तरमा उद्यमशीलताको विकास बढाउनुपर्नेमा जोड दिइन् । एभरेष्ट लिंकका सिटिओ चेछन लामाले ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तार सहज नभएको र यसका लागि स्थानीय बासिन्दालाई बढी अपनत्व हुनेगरी सेवा विस्तार गर्नुपर्नेमा जोड दिए । देशभरमा सयौं स्थानीय निकायका आइटी अफिसर र अन्य सरोकारवालामाझ बोल्दै भेरी नगरपालिकाका मेयर सिपी घर्तीले इन्टरनेटको समस्या र अभावले स्थानीय स्तरमा बजेटमा दिइएको स्मार्टपालिका बनाउने नाराहरू पूरा गर्न नसकिएको बताए । सेवा प्रदायकहरूले गुणस्तरीय सेवामा जोड दिनुपर्ने र स्थानीय निकायसँग समन्वय गरेर काम गनुपर्ने मेयर घर्तीको भनाइ थियो । आइसिटी फोरडीका कार्यकारी निर्देशक पवन शाक्यले पिपिपि मोडसँगै स्थानीय व्यक्तिहरूलाई सक्रिय बनाउँदै ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तार गर्न सके भरपर्दो हुने बताए । इन्टरनेट विस्तार गर्न नसकिने स्थानमा इन्ट्रानेट र ओपन सोर्स प्लाटफर्महरूबाट पनि सेवा दिन सकिने शाक्यले सुझाव दिए । यसैगरी वयलपाटा अस्पतालका सिनियर इएचआर रमेश महरले विभिन्न समस्या हुँदाहुँदै पनि इन्टरनेट हब बनाउने काम गरिरहेको अनुभव सुनाए । कार्यक्रममा हुम्ला, धनकुटा रुकुमका स्थानीय पालिकाका आइटी अफिसहरूले इन्टरनेटको बारेमा अनुभव सुनाएका थिए । इन्टरनेटको कर घटाऔं र इन्फ्रास्ट्रक्चर सेयरिङमा जाऔंः आइस्पान सरकारले इन्टरनेटमा लगाएको कर महँगो भएको आइस्पानको गुनासो छ । आगामी आर्थिक वर्षमा सेवा प्रदायकलाई मर्मतसम्भारमा ५० प्रतिशत कर छुट गरे पनि यो पर्याप्त नभएको आइस्पानका अध्यक्ष भोजराज भट्टले डिजिटल संवादमा बताए । नेपालमा विभिन्न किसिमका करहरू लगाएर इन्टरनेट महँगो बनाएको र ग्रामीण क्षेत्रमा विस्तार गर्न सेवाप्रदायकलाई प्रोत्साहन नगरिएको उनले गुनासो गरे । यसैगरी इन्फ्रास्ट्रक्चर सेयरिङ, ग्रामीण क्षेत्रमा फ्रिक्वेन्सी ब्याण्ड उपलब्ध गराउनुपर्ने र आरटिडिएफको सही परिचालन गरिनुपर्ने विषयमा इन्टरनेट सेवा प्रदायकले जोड दिएको उनले बताए । ग्रामीण दूरसञ्चार कोषको रकम दुरुपयोग भएको छैनः प्राधिकरण सरकारले ग्रामीण दूरसञ्चार कोषको रकम राजस्वमा तानेको र रकमको सदुपयोग नभएको गुनासो आइरहेको बेला प्राधिकरणले बाहिर भनिएजस्तो दुरुपयोग नभएको प्रष्ट पारेको छ । डिजिटल संवादमा बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले कोष अन्तर्गत थुप्रै योजनाहरू अघि बढिरहेको र आधा बढी जिल्लाहरूमा सबै स्थानीय तहसम्म इन्टरनेट विस्तार गरिसकेको जानकारी दिए । विभिन्न चरणमा प्रदेश, क्षेत्र र पूर्वपश्चिम मध्यपहाडी लोकमार्गमा फाइबर विस्तार गर्दै २ वर्षसम्म स्थानीय निकाय, विद्यालय र स्वास्थ्य केन्द्रहरूमा निःशुल्क इन्टरनेट प्रदान गर्ने काम सफलतापूर्वक अघि बढिरहेको खनालले जानकारी दिए । यद्यपि कतिपय स्थानमा सडक विभाग र विद्युत् प्राधिकरणको कारण काम अड्किएको, सुदूरपश्चिममा चाँडै नयाँ टेण्डरबाट शुरू हुन लागेको र कोरोनाको कारण भएको लकडाउनले इन्फ्रास्ट्रक्चर विस्तारमा ढिलाइ भएको अध्यक्ष खनालले स्वीकार गरे । ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत सञ्चालित परियोजनामार्फत ४१ जिल्लाका वडा वडामा इन्टरनेट सेवा पुगेको प्राधिकरणले बताएको छ । ग्रामीण दूरसञ्चार प्राधिकरणका निर्देशक डा। सुरेन्द्र हाडाले डिजिटल संवाद भइरहेको काम र प्रगति पेश गर्दै ४१ जिल्लाका सबै स्थानीय तहमा इन्टरनेट विस्तार भइरहेको बताए । प्राधिकरणले कोषको रकम खर्चेर विभिन्न १८ वटा प्याकेजमा देशभर इन्टरनेट सेवा विस्तार गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ, जसअन्तर्गत ११ परियोजनाको काम सम्पन्न भएको प्राधिकरणले बताएको छ ।

प्राधिकरणले किन बनायो २ वटा मात्रै सिम प्रयोग गर्न पाइने नियम ?

काठमाडौं । नेपाल दूर–संचार प्राधिकरणले अबदेखि एक जनाले २ वटाभन्दा बढी सिम कार्ड प्रयोग गर्न नमिल्ने व्यवस्था गरेको छ । अन्य सेवा प्रदायकको २ वटा मात्रै सिम प्रयोग गर्न पाइने भएपनि नेपाल टेलिकमको हकमा भने ग्राहकले सिडीएमएको समेत थप एउटा सिम गरी ३ वटा प्रयोग गर्न सक्ने छन् । यस्तो प्रबन्ध सेवा प्रदायकहरुले आफ्ना ग्राहकहरुलाई सिम कार्ड बेच्दा मिलाउनु पर्नेछ । नियामक निकाय नेपाल दूरसंचार प्राधिकरण (एनटीए) ले सबै सेवा प्रदायकहरुलाई सो विषयमा निर्देशन समेत जारी गरेको छ । अहिलेसम्म बजारमा एकै जनाले विभिन्न सेवा प्रदायकका थुप्रै सिम कार्डहरु प्रयोग गर्दै आएका छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार धेरै सिम कार्डहरु किन्ने गरेका हुन् । किन रोक्यो प्राधिकरणले ? एनटीएका अनुसार एक जना व्यक्तिको नाममा धेरै वटा सिम कार्ड निकाल्दा दुरुपयोग बढ्ने सम्भावना हुन्छ । आफ्नो नामको सिम कार्ड आफैले प्रयोग गर्दा फोनको दुरुपयोग हुने सम्भावना कम हुन्छ । एनटीएका प्रवक्ता मिन प्रसाद अर्यालका अनुसार नेपालमा मात्र नभई अन्य देशमापनि सिम कार्डमा लिमिट तोकिएको छ । ‘हाम्रो देशमा मात्र होइन, अरु देशले पनि सिम कार्ड प्रयोग गर्दा लिमिट तोक्ने गरिएको छ, यसले सबै पक्षलाई राम्रो हुन्छ, मुख्य कुरा त सिम कार्डको दूरुपयोग रोकिन्छ’, प्रवक्ता अर्यालले भने । अहिले मोवाइल फोनको प्रयोग बढ्दो क्रममा छ । डिजिटल फाइनान्सिङमा ग्राहकको आकर्षण बढ्दो छ । सरकारले प्रयोग गरेको नागरिक एपहरुमा समेत सिम कार्डको प्रयोग हुन्छ । एकजनाले नै धेरै वटा सिम कार्ड निकाल्दा गोपनीयता कायम हुन नसक्ने प्राधिकरणको भनाइ छ । त्यसरी अर्काको नामको सिम चलाउदा उक्त सिम कार्डहरुमा लेखिएका सेक्यूरिटी कोडहरु सुरक्षित नहुने एनटीए बताउँछ । सिम कार्डको गलत प्रयोग हुनबाट रोक्न तथा अपराधिक क्रियाकलापमा मोबाइलको प्रयोग हुन नदिन सिम कार्ड लिमिटेसन गर्नु पर्ने एनटीएको दाबी छ । आफ्नो घर परिवारको लागि सिम निकाल्दा समेत परिवार बाहिरको मान्छेहरुले प्रयोग गर्ने गरेको भेटिएको एनटीएले जानकारी दिएको छ । तर, त्यसरी सिम कार्डको प्रयोग गर्दा सिम कार्ड चलाएको व्यक्तिले गल्ती गरेपनि जसको नाममा सिम छ सोही व्यक्ति दोषी हुने भएकोले पनि सिमकार्डमा कडाइ गरिएको प्राधिकरणले जानकारी दियो ।