टेलिकममा क्रान्ति ल्याएको एनसेलमाथि अन्याय, आफू जलेर पनि निःशुल्क सेवामा दैनिक १० करोड खर्च
काठमाडौं । ‘एनसेलले नेपालको टेलिकम क्षेत्रमा कायापलट गरेको छ, जनतालाई सस्तो, सहुलियत र सहज सेवा प्रदान गर्न महत्वपूर्ण योगदान गरेको छ । तर, यही एनसेल प्रदर्शनकारीको निशाना पर्यो । जुन नेपाल र नेपालीका लागि दुःखद विषय हो,’ एनसेलमा आवद्ध एक उच्च अधिकारीले गुनासो गर्दै भने । दुई दशकअघि सर्वसाधारणका लागि सिम पाउन पनि ठूलो शक्ति संघर्ष प्रयोग गर्नुपर्थ्यो । सहजै सिम पाउनु सर्वसाधारणका लागि कठिन विषय थियो । दुई दिन लाइन लागेर बल्लतल्ल सिम पाउने अवस्था दुई दशकअघि थियो, त्यो पनि हुनेखानेहरूका लागि । तर, जब सन् २००४ मा स्थापना भएर सन् २००५ बाट एनसेलले आफ्नो सेवा सुरु गर्यो, सिम चाहने नागरिकको बाटो सहज बन्यो । त्यतिखेर ६ प्रतिशत नेपालीसँग मात्रै भएको सिम अहिले सबैको हातहातमा पुगिसकेको छ । एनसेलका अनुसार अहिले डेढ करोडभन्दा बढी सो कम्पनीका ग्राहक छन् । नेपालमा मोबाइल प्रयोगकर्ता ११५ प्रतिशत पुगेका छन् । यो क्रान्ति ल्याउन एनसेलको ठूलो भूमिका र योगदान छ । कम्पनीले एकै आर्थिक वर्षमा ४० अर्ब रुपैयाँसम्म कारोबार गरेको वित्तीय विवरणमा उल्लेख छ । वार्षिक २० अर्बभन्दा बढी राजस्व सरकारलाई बुझाउँदै आएको छ । स्थापनादेखि हालसम्म ३४० अर्ब रुपैयाँभन्दा बढी राजस्व तिरेको कम्पनीको दाबी छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले उदाहरणीय कामहरू गर्दै आएको छ । कम्पनीले प्रत्यक्ष तथा अप्रत्यक्ष २५ हजारभन्दा बढीलाई रोजगारी दिएको छ । उच्चस्तरको कमाइ हुने भएकाले जागिर खान जेनजी पुस्ताले रोज्ने कम्पनीमा पर्छ एनसेल । गुणस्तरीय सेवाको लागि पनि जेनजी पुस्ताले रोजेको कम्पनी हो एनसेल । तर दुर्भाग्य, यही जेनजीको नाममा अराजकवादीहरूले एनसेलमा आगो लगाए । एनसेल आवद्ध ती कर्मचारीका अनुसार तत्काल एनसेलले मुख्यालयमा बसेर काम गर्न सकिने अवस्था छैन । भवनको ग्राउन्ड र पहिलो तलामा आगजनी भएको छ । भवनको १०औं तलासम्मको ल्यापटप, टीभी लगायत सबै सामानहरु लुटपाट भएका छन् । ‘देशको ठूलो करदाता भनेर सरकारले पटक-पटक सम्मान गरेको छ, विभिन्न समयमा निःशुल्क सेवा पनि दिँदै आएको छ, टेलिकम क्षेत्रमा एनसेलले कायापलट नै ल्याएको छ । तर, यही कम्पनीको विरोध गरेर आगजनी गर्नु, कसैका लागि पनि राम्रो होइन,’ एनसेल आवद्ध ती कर्मचारीले भने । एनसेल परिसरमा जलेर नष्ट भएका सवारीसाधन । २१ वटा गाडी जले २४ गते भएको जेनजीको आन्दोलनपछि हामी एनसेलको मुख्यालय लैनचौरमा पुगेका थियौं । विगतमा महँगा–महँगा गाडीले सजिएर आकर्षक देखिने एनसेल अहिले मरुभूमिजस्तै देखिएको छ । घटनास्थलमा भेटिएका एनसेलका एक अधिकारीले कम्पनीको परिसरभित्र रहेका २१ वटा गाडीहरू जलेर पूर्णरूपमा ध्वस्त भएको जानकारी दिए । ‘पार्किङभित्र रहेका र बाहिर रहेका २१ वटा गाडी नष्ट भएका छन्, भवनभित्रको सबै सामान लुटपाट भएको छ, पहिलो तलामा आगजनी भएपनि १०औं तलासम्मको सबै सामान लुटपाट हुँदा अहिले कार्यालयबाटै काम गर्न सकिने अवस्था छैन,’ ती अधिकारीले भने । अहिले एनसेलले घरबाटै सेवा दिइरहेको जानकारी दिएको छ । अफिस जाने माहोल नभएर अहिले सबै कर्मचारीले ‘वर्क फ्रम होम’ गरिरहेको एक कर्मचारीले बताए । ‘यो आगजनी जेनजीले गरेको होइन, आन्दोलनको नाममा विध्वंशकारीहरूको निजी कम्पनी ध्वस्त पार्ने नियत देखियो,’ ती अधिकारीले भने, ‘एनसेलकै डेटा प्रयोग गरेर एनसेलकै आगजनीको फोटो/भिडिओ सामाजिक सञ्जालमा राखेको देखियो ।’ दैनिक १० करोडको निःशुल्क सेवा आफ्नै मुख्यालयमा आगजनी भएर करोडौंको क्षति बेहोरे पनि एनसेल भने विचलित भएको छैन । कम्पनीले बरु यो संकटमा निःशुल्क सेवा दिने काम गर्यो । एनसेलले गत साताको मंगलबारदेखि शुक्रबारसम्म निःशुल्क लोकल भ्वाइस, एसएमएस र इन्टरनेट सेवा दिएको छ । उपभोक्तालाई देश, विदेशमा रहेका आफन्तजनसँग सम्पर्क कायम राख्न सहजता प्रदान गर्ने उद्देश्यले निःशुल्क सेवा दिएको बताएको छ । जसका लागि कम्पनीले दैनिक १० करोड रुपैयाँ खर्च गरेको जानकारी दिएको छ । एनसेलको यो सुविधा अन्तर्गत ग्राहकहरूले एनसेल र एनटीसी दुवै नेटवर्कमा बिना कुनै शुल्क लोकल भ्वाइस कल, इन्टरनेट र एसएमएस सेवा पाएका छन् । ‘हाम्रो भवनमा आगजनी भए पनि हामीले हाम्रा उपभोक्ता र सर्वसाधारणप्रतिको धर्म बिर्सेनौं, दैनिक १० करोड खर्च गरेर निःशुल्क सेवा दियौं,’ ती अधिकारीले विकासन्युजसँग भने । ती अधिकारीका अनुसार एनसेलको मुख्यालयसँगै धनगढी, महेन्द्रनगर र पोखराको कार्यालयमा पनि आगजनी भएको छ । देशको सबैभन्दा ठूलो करदाता, रोजगारीका लागि आकर्षण केन्द्र र सूचना प्रविधि क्षेत्रमा नयाँ आयाम थपेको एनसेलमाथि भएको यो आक्रमणले देशमा लगानीमैत्री वातावरण बिथोलिएको चिन्ता धेरैको छ । लगानीकर्तालाई यस्ता घटनाले निरुत्साहित र उनीहरुको आत्मबल कमजोर पार्ने काम भएको बुझाइ अधिकांशको छ ।
भायनेटको इन्टरनेट र भीआइए टिभी सेवा सामान्य स्तरमा फर्कियो
काठमाडौं । भायनेटले इन्टरनेट र भीआइए टिभी सेवा सामान्य अवस्थामा फर्किएको जनाएको छ । कम्पनीका अनुसार सेवा अझै पूर्ण क्षमतामा नपुगे पनि अधिकांश ग्राहकले प्रयोग गर्न थालेका छन् । भायनेटले आइतबार २९ भदौभित्र सम्पूर्ण सर्भर अर्को डाटा सेन्टरमा सारिसकेपछि सेवा पूर्ण रूपमा सामान्य हुने अपेक्षा व्यक्त गरेको छ । अहिले भने केही प्रयोगकर्ताले इन्टरनेट गति स्लो भएको अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीको भायनेट कस्टमर मोबाइल एप पुनः सुचारु भइसकेको छ भने कल सेन्टर पनि बढाइएको क्षमतासहित सञ्चालनमा आएको छ। यसले ग्राहकलाई छिटो सहयोग गर्न सहज हुने कम्पनीको दाबी छ । भायनेटका फाइबर टेक्निसियनहरूले हालैका घटनाका कारण बिग्रिएका अधिकांश फाइबर लाइन मर्मत गरिसकेको र केही बाँकी काम निरन्तर भइरहेको जनाएको छ । कम्पनीले ४८ घण्टाभित्र सेवा सामान्य स्तरमा ल्याउन सफल भएको भन्दै यो उपलब्धिले आफ्नो नेटवर्कको मजबुती र टिमको समर्पणलाई पुष्टि गरेको जनाएको छ । यस अनुभवले भविष्यमा सेवा अवरुद्ध हुने जोखिम न्यून पार्न प्रणाली अझ बलियो बनाउन प्रेरणा मिलेको कम्पनीको भनाइ छ । भायनेटले पछिल्ला केही दिनमा ग्राहकले देखाएको धैर्य, बुझाइ र विश्वासप्रति आभार व्यक्त गर्दै विश्वसनीय र गुणस्तरीय सेवा दिन निरन्तर प्रतिबद्ध रहने जनाएको छ ।
एनसीएचएल र भायानेटको डेटा सेन्टर पनि जले, कसरी चलिरहेका छन् बैंकका सिस्टम ?
काठमाडौं । जेनजी आन्दोलनमा प्रदर्शनकारीहरूले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को डेटा सेन्टरमा आगजनी गरेका छन् । भदौ २४ गते जेनजी आन्दोलनकारीहरूले कान्तिपुर मिडिया रहेको भवनमा आगजनी गर्दा एनसीएचएलको डेटा सेन्टरमा समेत आगो लागेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधानले जानकारी दिए । ‘हाम्रो मल्टिपल डेटा सेन्टर छन् । एउटा डेटा सेन्टर कान्तिपुर भवनमा छ । कान्तिपुर भवनमा आगलागी हुँदा हाम्रो डेटा सेन्टर प्रभावित भएको छ । के कति क्षति भएको हो स्पष्ट हुन सकिएको छैन,’ उनले भने, ‘हाम्रो मल्टिपल साइट भएकाले सञ्चालनमा केही असर गरेको छैन । हाम्रो मल्टिपल साइटबाट चलिरहेको छ । हाम्रो ४ वटा साइटबाट सिस्टमहरू चल्छन् ।’ सीईओ प्रधानका अनुसार ४ वटा डेटा सेन्टरमध्ये एउटामा प्रभाव परे पनि अन्यबाट प्रणाली चलिरहन्छ । एउटा डेटा सेन्टर क्षति हुँदैमा अप्रेशन र ब्याकअपमा केही असर नगर्ने उनको भनाइ छ । ‘कान्तिपुर भवन पुरै जलेको छ । अब हाम्रो डेटा सेन्टरमा के कति क्षति भएको भनेर क्षतिको विवरण संकलनको काम भइरहेको छ,’ उनले भने, ‘उक्त डेटा सेन्टर कहिलेदेखि पुनः सञ्चालनमा आउला त्यसमा भएका सबै सामग्रीहरुको संकलन भइरहेको छ । काम लाग्ने जति सबै लिइरहेका छौं ।’ एनसीएचएल स्रोतका अनुसार कान्तिपुर भवन पुरै जलेको भएपनि ब्याकअप सर्भरमा भने हल्का मात्रै क्षति भएको छ । यस्तै समस्या निम्तिने सक्ने आँकलन गर्दै एनसीएचएले भैरहवा, हेटौंडा, कान्तिपुर भवन, एनसेल भवन, चाबहिल, सिंहदरबारमा ब्याकअप राखेको स्रोतको भनाइ छ । सिंहदरबारमा रहेको डेटा सेन्टर मुख्य रहेको उनले बताए । ‘एनसीएचएलको मुख्य डेटा सेन्टर सिंहदरबारभित्र छ । तर, त्यो डेटा सेन्टरमा केही क्षति भएको छैन । यदि त्यो डेटा सेन्टर जलेको भए बर्बाद हुने थियो । तर, त्यहाँ केही पनि भएन । एनसेलको टावर, कान्तिपुर भवनमा ब्याकअप थियो । कान्तिपुरमा जलेपछि अन्य ब्याकअपबाट प्रणाली सुचारु गरियो,’ उनले भने, ‘जलेको सर्भर लगायतको संकलनको काम भइरहेको छ । खासै धेरै ठूलो क्षति भएको देखिएको छैन । तारहरु जलेको छ । अरु सबै रिकोभरको काम भइरहेको छ ।’ एनसीएचएल स्रोतका अनुसार एउटा डेटा सेन्टर बनाउन २/३ करोड रुपैयाँ लागत लाग्छ । कान्तिपुरमा रहेको डेटा सेन्टर बनाउन पनि सोही अनुसारको लागत लागेको उनले बताए । एनसीएचएलको कान्तिपुर भवनमा रहेको डेटा सेन्टरमा क्षति पुगेको भएपनि बैंक तथा वित्तीय संस्थाहरूको डेटा सेन्टरमा केही असर नपुगेको बैंकरहरू बताउँछन् । यदि विगतको जस्तो कागजी रूपमा बैंक चलेकाे थिए भने सबै ध्वस्त भइसकेको हुने उनको भनाइ छ । ‘यदि कागज पत्र थियो भने ठूलो जोखिम निम्तिन्थ्यो । तर, अचेल सबै बैंकहरू पूर्ण रूपमा डिजिटल भइसकेका छन् । धेरै ठाउँमा डेटा सेन्टर राखेका हुन्छन् । प्राइमरी डेटा र सेकेण्डरी डेटा सेन्टर राखिएका हुन्छन् । जेनजीको आन्दोलनले कुनै पनि बैंकको डेटा सेन्टरमा क्षति पुगेको छैन,’ एक बैंकरले भने, ‘बैंकको डिजिटल प्रणाली स्मुथ तरिकाले चलिरहेका छन् । तर, हाम्रो सिस्टम मात्रै चलेर हुँदैन, इकोसिस्टम चल्नका लागि विभिन्न निकायका सिस्टम पनि चल्नुपर्छ ।’ जेनजी आन्दोलन अघि सिल्भर लाइनमा समस्या आउँदा ८/१० वटा बैंक समस्यामा परेको थियो । तर, आन्दोलनमा कुनै पनि बैंकको डेटा सेन्टर जलेको वा क्षति भएको नसुनेको उनले बताए । साथै, यदि कुनै एउटा डेटा सेन्टरमा असर गरेको भए ब्याकअपबाट सेवा तत्काल सुचारु हुने उनको भनाइ छ । ‘बैंकहरुले मल्टिपल लोकेसनमा सुरक्षित ठाउँमा डेटा सेन्टर राखेका हुन्छन् । जस्तो मेरो बैंकले तीन वटा ठाउँमा डेटा सेन्टर राखेको छ । प्राय: बैंकले २ वटा डेटा सेन्टर राखेका हुन्छन् । तर, कुनै कुनै बैंकले ३ वटासम्म डेटा सेन्टर राखेका हुन्छन्,’ उनले भने, ‘एउटा सेन्टरमा केही समस्या आयो भने अर्काे सेन्टरबाट काम हुन्छ । यदि सबै डेटासेन्टर जले भने समस्या आउँछ ।’ उनका अनुसार अधिकांश बैंकले काठमाडौं उपत्यकाभित्र नै डेटा सेन्टर राखेका छन् । तर, पछिल्लो समय उपत्यका बाहिर पनि पूर्वाधार विकास भइसकेको हुँदा हेटौंडा, पोखरा, बुटवल, चितवन लगायत ठाउँमा पनि डेटा सेन्टर राख्ने गरिएको उनको भनाइ छ । भायानेट कम्युनिकेशनका प्रबन्ध सञ्चालक विनय बोहरा कान्तिपुर भवन जल्दा भायानेटको ब्याकअपमा क्षति पुगेको बताउँछन् । क्लाउड हिमालय डेटा सेन्टर भाडामा लिए काम गरेको भएपनि त्यहाँ भएका संरचनामा क्षति पुग्दा भायानेटलाई पनि असर गरेको उनको भनाइ छ । ‘हाम्रो ७० प्रतिशत संरचना रहेको कान्तिपुर भवनमा आगलागी हुँदा भायानेटमा पनि क्षति भएको छ । भवनभित्र रहेका विभिन्न कार्यालयनमध्ये क्लाउड हिमालयको डेटा सेन्टर पनि थियो । त्यो डेटा सेन्टरमा भायानेटको पूर्वाधार थुप्रै थियो । गुगल, फेसबुक, टिकट, स्वीच, अकाउन्टिङ सफ्टवेयर लगायत सिस्टम त्यहाँ थियो,’ उनले भने, ‘हामीसँग ब्याकअप पनि हुन्छ । तर, मुख्य ठाउँमा नै क्षति हुँदा ब्याकअपले धान्न नसक्ने हुँदो रहेछ ।’ उनका अनुसार स्लो इन्टरनेट बाहेक अरु सबै समस्या समाधान भइसकेको छ । जेनजी आन्दोलनका कारण भायानेटलाई करिब ५ करोड रुपैयाँ बराबरको क्षति पुगेको उनको भनाइ छ । उनका अनुसार एउटा राम्रो डेटा सेन्टर बनाउन १०/१५ करोड रुपैयाँ लाग लाग्छ । ‘स्लो किन भयो भन्दा सर्भर बन्द गर्दैछौं । अहिले बाहिरिबाट कन्टेन्ट आइरहेको छ । आजसम्म समस्या समाधान गर्न सकियो भने अबको २४ घण्टामा सामान्य हुन सक्छ,’ उनले भने, ‘के कति क्षति भएको छ त्यसकाे गणना हुन समय लाग्छ । यदि सर्भर ठिकै छ भने खासै असर पर्दैन । तर, समय र जुन तनाव भयो जनताले ४/५ दिन नेट नचलाउन पाउनु नै ठूलो घाटा हो ।’ इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)को नेतृत्वमा सुधीर पराजुली भायानेट र सिजी नेटको डेटा सेन्टरमा क्षति पुगेको र ठाउँ ठाउँमा आगजनी हुँदा तारहरु पनि जलेको बताउँछन् । ‘चौधरी समूहको सतुङ्गलमा आगजनी गर्दा सीजी नेटको डेटा सेन्टर जलेको छ । भायानेटको कान्तिपुरमा रहेको क्लाउड हिमालय डेटा सेन्टर जल्दा क्षति पुगेको छ । अरु ठाउँमा आगजनी हुँदा तारहरु जलेका छन् । त्यो मर्मतको काम भइरहेको छ,’ उनले भने, ‘अधिकांश इन्टरनेट कम्पनीको तार जलेका छन् । हाम्रो पनि तार जलेर अवरोध भएको छ । त्यो बनाउने काम भइरहेको छ ।’