भुक्तानी नभएपछि ईसेवाले भन्यो- अस्थायी रूपमा प्रभावित भएको हो, चाँडै समाधान हुन्छ
काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवामा समस्या देखिएको छ । एपमार्फत भुक्तानी कारोबार हुन नसकेपछि कम्पनीले प्राविधिक कठिनाइका कारण सेवा अस्थायी रूपमा प्रभावित भएको जानकारी दिएको छ । ‘प्राविधिक कठिनाइहरूको कारण इसेवाका सेवाहरू केही समयको लागि अस्थायी रूपमा अवरुद्ध भएको यो सूचना मार्फत जानकारी गराउँदछौं,’ ईसेवाद्वारा जारी सूचनामा भनिएको छ । ईसेवाले सेवा अवरुद्ध हुँदा ग्राहकले भोग्नुपरेको असुविधाका लागि माफी मागेको छ । समस्या समाधानका लागि प्राविधिक टोली सक्रिय रूपमा जुटेको पनि कम्पनीले उल्लेख गरेको छ । भुक्तानी कारोबार रोकिएपछि सेवाग्राहीहरू प्रभावित भएका छन् । ईसेवा नेपालकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । सन् २००९ मा स्थापना भएको कम्पनी ईसेवाले अहिले नेपालका ७७ जिल्लाको ७५३ वटै स्थानीय निकायमा आफ्नो एजेन्ट नेटवर्क पुर्याउन सफल रहेको छ ।
‘एनसेल वुमन आइकन आइसीटी अवार्ड २०२४’ बाट बन्दना शर्मा सम्मानित
काठमाडौं । ‘एनसेल वुमन आइकन आइसीटी अवार्ड- २०२४’ बन्दना शर्माले पाएकी छन् । हालै सम्पन्न आइसीटी अवार्ड २०२४ को ग्राण्ड फिनाले कार्यक्रममा उनले यो अवार्ड पाएकी हुन् । सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर योगदान पुर्याएवापत् शर्मालाई यो वर्षको अवार्ड प्रदान गरिएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेल र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले संयुक्त रूपमा अवार्ड प्रदान गरे । नेपाल बैंकको कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुखको रूपमा कार्यरत शर्माले यो अवार्डसँगै ३ लाख रुपैयाँ नगद पुरस्कारसमेत पाएकी छिन् । नेपालको सूचना प्रविधि क्षेत्रमा काम गर्दै यो क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याएका महिलालाई यो अवार्ड प्रदान गरिन्छ । सूचना प्रविधि क्षेत्रमा सक्रिय महिलाहरुलाई सम्मान तथा प्रोत्साहन गर्नका लागि विगत पाँच वर्षदेखि आइसिटी अवार्ड र एनसेलबीच सहकार्य हुँदै आएको छ । यो वर्षको एनसेल वुमन आइकन आइसिटी अवार्ड विजेता शर्मा सूचना प्रविधि क्षेत्रमा १८ वर्षदेखि निरन्तर क्रियाशील महिला हुन् । यसअघि २०२३ मा सुनैना घिमिरे पाण्डे, २०२२ शीला कंसाकार कार्की, २०२१ मा गुणकेशरी प्रधान र २०२० मा तिमिला यमी ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’बाट सम्मानित भएकी थिइन् । यो अवार्डबाहेक एनसेल फाउन्डेसनले सूचना प्रविधिको पाटोमा विशेष गरी शिक्षा, डिजिटल डिभाइड कम गर्न र साइबर सुरक्षा, डिजिटल साक्षरता जगाउन विभिन्न कार्यहरु गरेको छ । यो वर्षको एनसेल वुमन आइकन आइसिटी अवार्ड विजेता शर्मा २००६ मा आइटी सपोर्ट अफिसरको रूपमा नेपाल बैंकमा प्रवेश गरेकी थिईन् । नेपाल बैंकलाई डिजिटलाइज गर्ने काममा सुरूवातदेखि नै आवद्ध उनले कोर बैंकिङ सिस्टम, नेटवर्क सुरक्षा, साइबर सुरक्षा लगायत बैंकको डिजिटल पूर्वाधार विकास तथा सेवाहरूलाई ग्राहकमैत्री बनाउन निकै महत्त्वपूर्ण भूमिका खेलेकी छिन् । पोखरा विश्वविद्यालयबाट बीसीए अध्ययन गरेकी शर्माले मास्टर्समा सूचना प्रविधि, नेटवर्क एण्ड ई बिजनेस र एमबीए पनि अध्ययन गरेकी छन् । शर्मा क्यान महासंघ, वुमन इन आईटी, युनिप्रोफेसनल म्यानेजमेन्ट कमिटिमा पनि आवद्ध भएर आफ्नो अनुभव बाँडिरहेकी छन् । साथै वित्तीय समावेशीता र स्टेम एजुकेसनमा उनको योगदान रहेको छ ।
नामीले ११ दिने एआई स्कुल सञ्चालन गर्ने, १० देशका उद्योगी विशेषज्ञहरूले तालिम दिने
काठमाडौं । एआईसम्बन्धी अध्ययन/अनुसन्धान गर्ने नेपाल अप्लाइड म्याथम्याटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी) ले ११ दिने ‘एआई स्कुल’ सञ्चालन गर्ने भएको छ । आगामी १२ गतेदेखि २३ पुससम्म ललितपुरमा अवस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा उक्त कार्यक्रम आयोजना गरिने भएको हो । एआईसम्बन्धी यस छोटो अवधिको तालिममा स्नातक तहदेखि विद्यावारिधि गरिरहेका विद्यार्थीहरू सहभागी हुने छन् । एआई स्कुलअन्तर्गत पढाउने शैली र पाठ्यक्रममा भएको समस्या सुधार तथा यस क्षेत्रमा अवसर दिनेगरी तालिम सञ्चालन हुने नामीले जनाएको छ । कार्यक्रममा एआई स्कुलको ५औं वार्षिक कार्यक्रमको उद्देश्य, महिमा र गरिमा र एआई क्षेत्रमा योगदानको यात्राको बारेमा जानकारी गराइने बताएको छ । यस्तै, नेपालका विविध क्षेत्रमा एआईको प्रयोगबाट सिर्जना हुने नयाँ प्रविधि र अवसरको महत्त्वका बारेमा प्रष्ट पारिने जनाएको छ। कार्यक्रममा १० देशका उद्योगी विशेषज्ञहरूले तालिम दिने तथा यसबारे गहन छलफल पनि गरिनेछ । विश्व बजारमा अहिले भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपाली समाजलाई जानकारी दिन तालिमको आयोजना गर्न लागिएको नामीका संस्थापक तथा डा. विशेष खनालले जानकारी दिए । विश्वभरका २५ जना वैज्ञानिक र प्राध्यापकहरूले तीन मुख्य क्षेत्र जीओमेट्रिक डीप लर्निङ, फन्डामेन्टल मोडल्स तथा एप्लिकेसन्स र मोडर्न प्राक्टिसमा भौतिक कक्षाहरू सञ्चालन गर्ने उनले बताए । ‘सानो ठाउँबाट ठूला परिवर्तन आउनसक्छ,’ भन्ने मान्यतामा आधारित यस वर्षको एआई स्कूलले नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थी तथा एआई अभ्यासकर्ताहरूलाई विश्वस्तरमा भइरहेको अत्याधुनिक विकाससँग परिचित गराउने लक्ष्य राखेको छ । तालिममा भाग लिनेहरूले ११ दिनसम्म विश्वस्तरीय विशेषज्ञहरूसँग सिक्ने, व्यावहारिक कार्यशालामा भाग लिने र आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसर पनि पाइने जनाइएको छ । यस कार्यक्रमलाई सफल बनाउन एफवन सफ्ट, इसेवा, फोनेपे, यूके इन्टरनेशनल डेभलपमेन्ट, एशिया फाउन्डेसन, डाटा फर डेभलपमेन्ट इन नेपाललगायतकाे साझेदारी रहेको छ । साथै, यंग इनोभेसन्स, सेक्युरिटीपल, गुगल, र फ्युजमेसिन्स पनि मुख्य समर्थनकर्ता रहेका छन् । विगतका चार संस्करणमा ४० भन्दा बढी देशका ५५० भन्दा बढी विद्यार्थीहरूले यस कार्यक्रममा भाग लिएका थिए ।