नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीताले गरिन् पदबहाली
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)की प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदबहाली गरेकी छन् । अर्यालले आइतबार पदबहाली गरेकी हुन् । भदाै २० गते बसेकाे मन्त्रिपरिषद्को बैठकले अर्याललाई प्रबन्ध निर्देशकमा नियुक्त गरेकाे थियाे । उनकाे नियुक्तिको पदावधि चार वर्ष रहेकाे छ । यसअघि प्रबन्ध निर्देशक अर्यालले नेपाल टेलिकमकाे निमित्त प्रबन्ध निर्देशककाे जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । उनले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छन् । उनी २०४९ चैत्र २३ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरी २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिइन् । यसैगरी, अर्याल २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन् । पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक अर्यालले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै पदको गरिमा र सबैको आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान आफ्नो पूर्ण ऊर्जा खर्चिने बताइन् ।
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगिता पहाडी नियुक्त
काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै कार्यकालमा गठित सिफारिस समितिले आवेदन मागेर लिखित तथा मौखिक प्रस्तुतिका आधारमा ३ जनाको नाम सिफारिस गरेको थियो । तत्कालीन सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित समितिले पहाडीसँगै अनिल झा र विमल आचार्यको नाम सिफारिस गरेको थियो । उक्त प्रस्ताव नै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषदमा पेश गरेका थिए । टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलमाथि भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लागेर निलम्बन भएपछि पहाडी कार्यवाहक प्रबन्ध निर्देशकको जिम्मेवारीमाा थिईन । पहाडीले करिव ३ दशक लामो यस क्षेत्रमा अनुभव सम्हालिसकेकी छन् ।
टिकटक प्रतिबन्ध हटाउन इन्टरनेट कम्पनीलाई निर्देशन
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लागिएको प्रतिबन्ध फुकुवा गर्न सबै इन्टरनेट सेवा र मोवाइल सेवा प्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले प्रदायक संस्थाहरुलाई प्रतिबन्ध फुकुवा गर्न निर्देशन दिएको जनाएको छ । सरकारले २०८० कार्तिक महिनादेखि टिकटकमा रोक लगाएको थियो । तर, गत भदौ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो । मन्त्रीपरिषदले फुकुवा गर्ने निर्णय गरेपनि सबै इन्टरनेट सेवामा टिकटक फुकुवा भएको थिएन् । सरकारबाट आधिकारीक जानकारी नआएको भन्दै इन्टरनेट प्रदायकले टिकटक फुकुवा गरेका थिएनन् । प्राधिकरणको यो निर्देशन पछि अब भने सबै इन्टरनेटमा टिकटक चल्ने भएको छ ।