ई-सेवाको दशैं-तिहार अफर, जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने
काठमाडौं । नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाले यसपालिको दशैंतिहार र छठ पर्वलक्षित गरेर ‘इसेवा महा-उत्सव: ईसेवाको कारोबारमा नामीको दामी कार’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत असोज १ देखि कार्तिक ३० गतेसम्म ई-सेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरूमध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन् । आफ्नो आवश्यकताअनुरूप ई-सेवाका जुनसुकै सेवाको प्रयोग वा ई-सेवाबाट कारोबार गर्दा उक्त बम्पर उपहार जित्ने सकिने कम्पनीले जनाएकाे छ । यसका साथै एक सय रुपैयाँको खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले आइफाेन १६ पनि जित्न सक्नेछन् । मात्र एक सय रुपैयाँमा यो खेल खेल्न सकिनेछ भने त्यो रकम प्रयोगकर्ताहरूले मोबाइल रिचार्जको रूपमा नै फिर्ता पाउनेछन् । त्यसैगरी, दैनिक र साप्ताहिक रूपमा पनि आकर्षक अफर र उपहार जित्न सकिनेछ । दैनिक अफरअन्तर्गत, अफरको समयावधिमा हरेक दिन निर्धारित समयको लागि फ्ल्यास सेलको रूपमा अफर आउने कम्पनीले जनाएकाे छ । उक्त सेलमा प्रयोगकर्ताहरूले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्ने कम्पनीले जनाएकाे छ । साप्ताहिक रूपमा आउने अफरमा भने हरेक हप्ताको मंगलबार ई-सेवाका विभिन्न सेवाहरू: मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, इस्पीकर खरिद, बीमा भुक्तानीलगायतका सेवामा विशेष छुट तथा क्यासब्याक पाउन सकिनेछ । यी अफरहरूबारे थप जानकारीहरू ई-सेवाको फेसबुक, इन्स्टाग्राम पेज लगायतका आधिकारिक सामाजिक सञ्जालमार्फत प्राप्त गर्न सकिनेछ । ई-सेवा सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस ईसेवा लिमिटेडले उपत्यका बाहिर पनि ८ वटा शाखा कार्यालयहरू र ३ वटा सम्पर्क कार्यालयहरूबाट सेवा दिँदै आइरहेकाे छ । यस कम्पनीसँग १ करोड भन्दा बढी दर्ता भएका ग्राहकहरू, २ लाख ५० हजारभन्दा बढी एजेन्ट, ४९ बैंक, ४५ लघुवित्त, २ हजार २०० भन्दा बढी ई-सेवा क्यास पाेइन्ट तथा ३ लाख ५० हजारभन्दा बढी मर्चेन्टहरू आवद्ध रहेका छन् ।
महसुल भुक्तानी गर्दा नेपाल टेलिकमले शतप्रतिशत जरिवाना छुट
काठमाडौं । नेपाल टेलिकमले महसुल भुक्तानीमा जरिवाना छुट दिने भएको छ । कम्पनीले विभिन्न सेवाहरूको महसुल भुक्तानी गरेमा जरिवाना छुट दिने जनाएको छ । विभिन्न सेवाहरू पीएसटीएन, जीएसएम मोबाइल, सीडीएमए मोबाइल, एडएसएल, एफटीटीएच, लिज लाइन, प्रयोग गरेबापत भुक्तानी गर्न बाँकी बक्यौता समयमै तिर्न कम्पनीले ग्राहकहरूलाई अनुरोध गरेको छ । पुरानो बक्यौता भुक्तानी गर्ने ग्राहकहरूलाई जरिवाना छूट प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आर्थिक वर्ष २०७८÷७९ सम्मको बक्यौता २०८१ कार्तिक मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने सम्पूर्ण जरिवाना छुट दिइनेछ । आर्थिक वर्ष २०७९÷८० को बक्यौता २०८१ कार्तिक मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवानाको ५० प्रतिशत छुट दिने कम्पीले जनाएको छ । पुरानो बाँकी बक्यौता भुक्तानी नगर्ने ग्राहकहरूको नामावली पत्रिकामा प्रकाशन गर्ने र कालोसूचीमा समावेश गर्ने प्रक्रिया अगाडि बढाइने कम्पनीले बताएको छ ।
विश्वभरि बढ्दै आईफोनको क्रेज, कुन देशमा कति छन् प्रयोगकर्ता ?
काठमाडौं । अमेरिकाको अग्रणी टेक कम्पनी एप्पलको उत्पादनको क्रेज, विशेषगरी आईफोनको क्रेज विश्वभरि बढ्दै गएको छ । संसारका धेरै देशमा यो कम्पनीको फोन सबैभन्दा बढी प्रयोग गरिन्छ । भारतमा पनि यो प्रवृत्ति तीव्र गतिमा बढिरहेको छ । कम्पनीले नयाँदिल्ली र मुम्बईमा पनि आफ्नो स्टोर खोलेको छ । तर, भारतमा अहिले ५ प्रतिशतले मात्रै एप्पल प्रयोग गर्छन् भने धेरै देशमा आधाभन्दा बढी जनसंख्यासँग आईफोन छ । एप्पल अमेरिकी कम्पनी भए पनि त्यहाँ ५१ प्रतिशतले मात्रै आईफोन प्रयोग गर्छन् । अमेरिकामा २७ प्रतिशतले दक्षिण कोरियाली कम्पनी सामसङको फोन प्रयोग गर्छन् भने २२ प्रतिशतले अन्य ब्रान्डका फोन प्रयोग गर्छन् । आईफोनको बढी प्रयोग गर्नेमा जापान पहिलो स्थानमा छ । यो देशका ५९ प्रतिशत मानिससँग आईफोन छ । जापानमा ९ प्रतिशतले सामसङको फोन प्रयोग गर्छन् भने ३२ प्रतिशत जनतासँग अन्य कम्पनीका फोन छन् । त्यस्तै, क्यानडामा ५६ प्रतिशत र अस्ट्रेलियामा ५३ प्रतिशतले आईफोन प्रयोग गर्छन् । यद्यपि, यी देशको जनसंख्या अमेरिकाभन्दा निकै कम छ । भारतमा ५ प्रतिशतले मात्र आईफोन प्रयोग गर्छन् भने १९ प्रतिशतसँग सामसङ फोन छन् । देशका ७६ प्रतिशत मानिसले शाओमी, भिभो र ओप्पो जस्ता चिनियाँ कम्पनीका फोन प्रयोग गर्छन् । चाखलाग्दो कुरा के छ भने चीनमा पनि ७६ प्रतिशत मानिसहरूले शाओमी, भिभो र ओप्पोका फोनहरू प्रयोग गर्छन् । बेलायतमा एप्पल आईफोन प्रयोग गर्ने मानिसको जनसंख्या ४८ प्रतिशत, चीनमा २१ प्रतिशत, जर्मनीमा ३४ प्रतिशत, फ्रान्समा ३५ प्रतिशत, दक्षिण कोरियामा १८ प्रतिशत, अस्ट्रेलियामा ५३ प्रतिशत, ब्राजिलमा १६ प्रतिशत, इटालीमा ३० प्रतिशत, रुसमा ३० प्रतिशत, मेक्सिकोमा २० प्रतिशत र स्पेनमा २९ प्रतिशतसँग आईफोन छ । एजेन्सी