कृषि विकास बैंकका सूचना टेलिकमले सेवा प्रदायकलाई पठाउने

काठमाडौं । कृषि विकास बैंक लिमिटेड र नेपाल टेलिकम (नेपाल दुरसंचार कम्पनी लिमिटेड) बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र नेपाल टेलिकमका तर्फबाट सबिना मास्केले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नेपाल टेलिकमले कृषि विकास बैंकका विभिन्न सेवा र कारोबारका सूचनाका रुपमा एसएमएस अलर्ट, बल्क एसएमएसहरु सेवा प्रदायकहरुलाई पठाउने छ ।

भारतबाट साढे १५ अर्ब डलरको स्मार्टफोन विश्वबजार निर्यात

काठमाडौं । विश्वबजारमा भारतमा बनेका स्मार्टफोनको माग बढिरहेको छ । यसै कारण स्मार्टफोन अब भारतको चौथो ठूलो निर्यात वस्तु भएको छ । भारतीय स्मार्टफोन निर्यात आर्थिक वर्ष २०२४ मा वार्षिक ४२ प्रतिशतले बढेर १५ अर्ब ६० करोड अमेरिकी डलर बराबर पुगेको छ । भारतले अप्रिल २०२२ देखि स्मार्टफोनका लागि छुट्टै डाटा संकलन गर्न थालेको थियो । पेट्रोलियम उत्पादनहरू भारतका शीर्ष निर्यात गरिएका वस्तुहरूमा पहिलो स्थानमा रहँदा स्मार्टफोनले मोटर पेट्रोललाई विस्थापित गरी वित्त वर्ष २०२४ मा चौथो ठूलो निर्यात गरिएको वस्तु बनेको छ । भारतीय वाणिज्य मन्त्रालयको तथ्यांक अनुसार भारतले आर्थिक वर्ष २०२४ मा अमेरिका, संयुक्त अरब इमिरेट्स (यूएई), नेदरल्यान्ड्स र इङ्ल्यान्डमा सबैभन्दा बढी स्मार्टफोन निर्यात गरेको छ । अमेरिकामा स्मार्टफोन निर्यात १ सय ५८ प्रतिशतले बढेको छ । भारतबाट अमेरिकामा जम्मा ५ अर्ब ६० करोड डलर बराबरका स्मार्टफोन पठाइएको छ । त्यसपछि भारतबाट यूएई २ अर्ब ६ करोड डलर, नेदरल्यान्ड्स १ अर्ब २० करोड डलर र बेलायतमा १ अर्ब १० करोड डलर बराबर स्मार्टफोन निर्यात भएको छ । सेलुलर एन्ड इलेक्ट्रोनिक्स एसोसिएसन अफ इन्डिया (आईसीईए) को अनुमान अनुसार आर्थिक वर्ष २०२४ मा निर्यात र घरेलु बजार दुवैका लागि भारतमा उत्पादन हुने मोबाइल उपकरणहरूको मूल्य बढेर ४१ खर्ब हुने अपेक्षा गरिएको छ । वार्षिक आधारमा १७ प्रतिशतले उत्पादन बढेको छ । आईसीईएले देशका अधिकांश मोबाइल प्लेयरहरूको प्रतिनिधित्व गर्दछ । चीनसँग प्रतिस्पर्धा सरकारद्वारा सञ्चालित उत्पादन-लिङ्क्ड इन्सेन्टिभ (पीएलआई) योजनाले भारतमा स्मार्टफोन उत्पादन बजारलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । यसले भारतलाई चीनपछि दोस्रो ठूलो मोबाइल फोन उत्पादन गर्ने देश बन्न मद्दत गरेको छ । यो चीनमा उत्पादन गर्ने कम्पनीहरूलाई आकर्षित गर्न र उनीहरूलाई आफ्नो व्यवसाय भारतमा सार्नका लागि मनाउन चीन-प्लस-वान रणनीतिको एक महत्त्वपूर्ण उपकरण पनि भएको छ । पीएलआई योजनाका प्रमुख कम्पनीहरूमा एप्पलका तीन विक्रेताहरू फक्सन, विस्ट्रोन इन्डिया (अहिले टाटा इलेक्ट्रोनिक्स), पेगाट्रोन र सामसङ समावेश छन् । एप्पलको भारतमा कीर्तिमानी कमाइ एप्पलले भारतमा मार्च २०२४ मा समाप्त भएको त्रैमासिकमा रेकर्ड आम्दानी गरेको छ । एप्पलका सीईओ टिम कुकले गत वर्ष सोही अवधिको तुलनामा आइफोनको बिक्रीमा १० प्रतिशतले कमी आएका कारण आम्दानीमा समग्र चार प्रतिशतले कमी आएको भए पनि अहिले भने रेकर्ड हासिल गरेको बताएका छन् । एजेन्सी

भ्रमपूर्ण विज्ञापन प्रकाशन र प्रसारण नगर्नू- विज्ञापन बोर्ड

काठमाडौं । विज्ञापन बोर्डले पछिल्लो समय सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा भ्रमपूर्ण विज्ञापन प्रकाशन तथा प्रसारण भइरहेको जनाउँदै भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न अपिल गरेको छ । बोर्डले सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा विभिन्न किसिमका चिया, तेल, स्याम्पो, औषधिलगायत वस्तुले विभिन्न रोग निको पार्ने तथा जुनसुकै स्वास्थ्य समस्या पनि समाधान गर्ने भन्दै चर्को मूल्य राखी बिक्री वितरण गर्न भ्रमपूर्ण विज्ञापन गरिएको अनुगमनका क्रममा पाइएको जनाउँदै त्यसो नगर्न आह्वान गरेको हो । ती विज्ञापनमा वस्तु वा सेवा उत्पादन गर्ने व्यक्ति र कम्पनीको नामसमेत उल्लेख भएको नपाइएको बताउँदै त्यस्ता विज्ञापनका विषयमा बोर्डमा उजुरीसमेत प्राप्त भइरहेको बोर्डका प्रवक्ता निशानराज गौतमले जानकारी दिए । उनका अनुसार बोर्डबाट श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण गर्नुपूर्व परीक्षण गराएर मात्र प्रसारण गर्नुपर्ने व्यवस्था विज्ञापन (नियमन) ऐन, २०७६ को दफा १५ (ख) मा उल्लेख गरिएको छ । बोर्डले विज्ञापन (नियमन गर्ने नियमावली, २) ७७ को दफा (५)मा भएको व्यवस्थाका साथै विज्ञापन गर्दा विज्ञापनकर्ताको नाम र ठेगाना स्पष्ट रूपमा उल्लेख हुनुपर्ने व्यवस्था ऐनको दफा ९ मा रहेकाले उक्त कानुनी व्यवस्थाविपरीत प्रसारण भएका कुनै पनि विज्ञापन तत्काल रोकी अनुमति लिएर मात्र प्रसारण गर्नरगराउन अनुरोध गरेको प्रवक्ता गौतमले बताए । अनुमतिविना विज्ञापन निरन्तर प्रसारण गरेको पाइएमा कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।