तेल्या इँटा बिछ्याए पछि पाटन दरबार क्षेत्र थप आकर्षक, लागत डेढ करोड रुपैयाँ

काठमाडौं । विश्व सम्पदाको सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार क्षेत्र झनै आकर्षक र सौन्दर्य पूर्ण बनेको छ । ललितपुर महानगरपालिकाले यस क्षेत्रमा पुरानो चाइनिज इँटा हटाएर रैथाने तेल्या इँटा बिछ्याए पछि सम्पदाको मौलिकता झल्किने गरी सुन्दर र सफा देखिएको छ । महानगरपालिकाले करिब १ करोड ५२ लाख रुपैयाँ लागतमा पुरानो चाइनिज इँटा हटाएर स्थानीयस्तरमै उत्पादित रैथाने ‘तेल्या’ इँटा बिछ्याउने कार्य सम्पन्न गरेको हो । यो इँटा मल्लकालदेखि प्रयोग हुँदै आएको परम्परागत प्रकारको इँटा हो, जुन बलियो, टिकाउ र सौन्दर्य पूर्ण मानिन्छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जनका अनुसार तेल्या इँटा रैथाने इँटा हो, यो निकै चम्किलो र बलियो हुन्छ । पुरानो इँटा काम नलाग्ने भएकाले सम्पदा संरक्षणका लागि नयाँ तेल्या इँटा बिछ्याएका उनले बताए । नगर प्रमुख महर्जनका अनुसार तत्कालीन राजा वीरेन्द्र शाहको राज्याभिषेकको समयमा चाइनिज इँटा बिछ्याइएको थियो, जुन समयसँगै जीर्ण भइसकेको थियो । त्यही इँटा हटाएर अहिले तेल्या इँटा राखिएको छ, जसले पानी जम्न नदिने र सफा देखिन्छ । इँटा राखिएपछि सम्पदा क्षेत्रको सतह पनि करिब चार इञ्च अग्लो भएको छ । स्थानीय उपेन्द्रकुमार श्रेष्ठले महानगरपालिकाले अत्यन्त सकारात्मक काम गरेको प्रतिक्रिया दिए ।  ‘पुरानो इँटाका कारण पाटन दरबार क्षेत्र फोहर देखिन्थ्यो । अहिले त निकै चम्किलो र सफा देखिन्छ । सफा गर्न पनि सजिलो छ, पानी जम्ने समस्या पनि छैन । निकै राम्रो काम भएको छ,’ उनले भने । महानगरले यस किसिमका कार्यमार्फत ऐतिहासिक सम्पदाको संरक्षणसँगै पर्यटकीय आकर्षण बढाउने प्रयास गरेको देखिन्छ । दरबार क्षेत्रको मर्मत र पुनर्निर्माणलाई निरन्तरता दिइरहेको महानगरले भविष्यमा पनि यस क्षेत्रको मौलिकता जोगाउने प्रतिबद्धता जनाएको छ । 

६ हजार ३८ मिटर उचाइको चुलु सुदूरपूर्व हिमाल आरोहणका लागि खुला

काठमाडौं । सरकारले चुलु सुदूरपूर्व (चुली) हिमाल आरोहणका लागि खुला गरेको छ । दामोदर हिमशृङखला अन्तर्गत पर्ने सो हिमाल आरोहणका लागि खुला गरिएको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । सो हिमालको कुल उचाइ ६ हजार ३८ मिटर रहेको छ । सो हिमाल आरोहणका लागि जोमसोम, कागबेनी, झार्कोट, मुक्तिनाथ, थोराङला, लेडर हुँदै आधार शिविरतर्फ जान सकिनेछ । यस्तै, चामे, सिपाङ, हुम्डे, मनाङ लेडर हुँदै आधार शिवरसम्म पुग्न सकिनेछ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने सो हिमाल गण्डकी प्रदेशको मनाङ जिल्लामा अवस्थित छ । डिस्याङ गाउँपालिका-५ र नार्पाभूमि गाउँपालिका–३ मा रहेको हिमालचुली पर्वतारोहणका लागि खुला गरिएको छ । चुलु सुदूरपूर्वको नामले परिचित सो हिमालको आरोहणमा प्रायः गरेर ‘अन्नपूर्ण सर्किट ट्रेकसँग जोडिन्छ । चुलु पूर्व हिमाल मनाङ उपत्यकाभन्दा माथि रहेको छ । जहाँ अन्नपूर्ण दोस्रो, अन्नपूर्ण तेस्रो र अन्नपूर्ण चौथो, गङ्गापूर्ण, हिमनदी, धवलागिरि, तिलिचो र मनास्लुको मनमोहक दृश्यहरूसमेत हेर्न सकिन्छ । नेपाल पर्वतारोहण सङ्घले सो हिमाल आरोहणका लागि व्यवस्थापन गर्दै आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही भदौ १२ गते रापजत्रमा सूचना प्रकाशित गरी चुलु सुदूरपूर्व हिमाल आरोहणका लागि अनुमति दिइएको जनाएको छ । आरोहीहरूका अनुसार चुलु सुदूरपूर्व चुचुरोलाई नेपालका अन्य चुचुराका तुलनामा सजिलो मानिन्छ ।

दशैं–तिहार नजिकिँदा पनि सुनसान छ रामेछाप विमानस्थल

मन्थली । कुनै बेला व्यस्त हुने गरेको रामेछाप विमानस्थल पछिल्लो समय सुनसान छ । यहाँको विमानस्थबाट नियमित उडान नहुँदा सुनसान भएको हो । काठमाडौंमा रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पूर्वी क्षेत्रको नजिकै रहेको विमानस्थलका रूपमा रहेको यो विमानस्थल अहिले हवाइजहाजहरू नचल्दा सुनसान भएको हो । पर्यटकीय समयमा मात्र सोलुको लुक्ला जाने बेला विमानस्थलबाट उडान भर्ने गरिन्छ । त्यसबेला काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बढी व्यस्त हुने भएकाले विदेशी पर्यटकलाई काठमाडौँबाट सडकमार्ग हुँदै मन्थली ल्याउने र त्यसपछि हवाइजहाजमार्फत सोलुको लुक्ला पुर्याउने गरिन्छ । दशैँ, तिहार र छठ जस्ता चाडपर्व नजिकिँदै गर्दा अन्य जिल्लामा चल्ने विभिन्न एयरलाइन्सले जिल्ला जिल्लामा जान अग्रिम बुकिङ खुला गरे पनि रामेछापका नागरिकहरूका लागि भने हवाइजहाजबट यात्र गर्न कुनै एयरलाइन्सहरूले अग्रिम बुकिङ खुला गरेका छैनन् । पर्यटकको सिजनमा मात्र विमानस्थल चल्ने भएकाले विमानस्थल वरपरका रहेका होटल तथा पसलहरू पनि यतिखेर सुनसान छन् । जिल्लामा विमानस्थल हुँदाहुँदै पनि रामेछापका नागरिकहरूले यसको सुविधा नपाउनु दुःखको कुरा भएको स्थानीयको भनाइ छ । रामेछापका नागरिकहरूलाई पनि हवाई सुविधा दिलाउने पहल राजनीतिक दल र प्रदेश तथा सङ्घीय सांसदले गर्नुपर्ने स्थानीय वीरेन्द्र श्रेष्ठले बताए । उनले भने, 'यहाँका मानिसहरू सडकमार्गमार्फत काठमाडौं जाँदा बिपी राजमर्गको १२५ किमि पार गर्नुपर्छ भने पुष्पलाल मार्गको तामाकोशी–चरिकोट–मुडे हुँदै करिब २०० किलोमिटर दूरी पार गर्नुपर्दछ ।' गत वर्ष असोजको १२ गते आएको बाढीले पुष्पलाल मार्ग र बिपी राजमार्गको धेरै ठाउँका सडकमा क्षति पुगेकाले यी दुवै मार्ग जोखिमयुक्त छ । जिल्लामा सुविधा सम्मन्न एम्बुलेन्स नभइरहको अवस्था र मन्थलीबाट काठमाडौंका लागि भएका दुईवटा सडक मार्गहरू पनि भरपर्दा नभएकाले जटिल प्रकृतिका बिरामीहरू काठमाडौँ पठाउन निक्कै समस्या हुने गरेको श्रेष्ठको भनाइ छ । नजिकिँदै गरेको दशैँ तिहारजस्ता पर्वका लागि हिजोआज सहरबाट गाउँ आउनेहरूको सङ्ख्या बढ्दै जान लागेको छ । जोखिमपूर्ण सडकमार्गका कारण चाडपर्वमा घर आउनेलाई यात्रा सहज नभएको मन्थली–१ का नारायणदास श्रेष्ठ बताउँछन् । जिल्लामा हवाई सेवाला निरन्तर गरी पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्‍याउने उद्देश्यका साथ मन्थली नगरले पटकपटक पहल गरेको भए पनि त्यसको टुङ्गो नलागेको मन्थली नगरपालिकामा नगर पालिकाका प्रमुख लव श्रेष्ठ बताउँछन् । उनले भने, 'रामेछाप विमानस्थलमा नियमित उडानका लागि पहल गर्न जिल्लाका सङ्घीय सांसदसहित आफूहरू पर्यटन मत्रीलाई ध्यानाकर्षणपत्र बुझाउन पर्यटन मन्त्रालय गएको र मन्त्रीले सकारात्मक आश्वासन पनि दिएको तर त्यसको कुनै सुनुवाइ अहिलेसम्म नहुँदा नागरिकले निर्वाचित प्रतिनिधिलाई विश्वास गर्न छाडेका छन् ।' रामेछापमा लामो सङ्घर्षपछि मात्र एयरपोर्ट कालोपत्रे गर्न सफल भएको, आफ्नो निरन्तर प्रयासले गत वर्ष असोजमा गएको बाढीका कारण मन्थलीबाट काठमाडाैं जाने दुवैतर्फको बाटो अवरुद्ध हुँदा आफूले निक्कै प्रयास गरेर केही समय हवाई सेवा सुरु भए पनि हाल बन्द भइको पूर्वराज्यमन्त्री एवं सङ्घीय सांसद पूर्णबहादुर तामाङले बताए । उनले भने, 'यहाँको विमानस्थलबाट रामेछापका नागरिक आउजाउ गर्नसक्ने गरी जहाज सञ्चालनका लागि विशेष पहल भइरहेको छ, सकभर दशैँअघिदेखि नै नियमित उडान गराउन म लागिपरेको छु । विशेष पहल गर्ने तयारी छ ।' सोलुको लुक्लासम्मका लागि सीता, तारा र समिट एयरका एयरलाइन्सले यस एयपोर्टबाट पर्यटक ओसार्ने सिजनका बेला ६० देखि ६५ वटासम्म उडान भर्ने गरेका छन् । ती एयसलाइन्सका जहाजमार्फत आलोपालो प्रणालीद्वारा जिल्लाका नागरिक र बिरामीहरूलाई पनि सेवा दिने गरी आफ्ना कार्यक्रम सञ्चालन गर्नुपर्ने मन्थली न पा–२ का स्थानीय गुञ्जबहादुर श्रेष्ठले बताए । रासस