नेपाल पर्यटन बोर्ड र एयरलाइन्सबीच सहकार्य, पर्यटन प्रवर्द्धन गर्ने
काठमाडौं । नेपालका पर्यटन उत्पादनहरूको अन्तर्राष्ट्रिय बजारमा संयुक्त प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड (एनटीबी) र नेपाल वायु सेवा निगम (एनएसी) बीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । समझदारीपत्र अनुसार दुवै संस्थाले विश्वभरका पर्यटन मेला, डिजिटल क्याम्पेन, फ्याम ट्रिप, संयुक्त प्रचार–प्रसार, मेगा–इभेन्ट तथा ब्रान्डिङजस्ता गतिविधि सहकार्यका आधारमा सञ्चालन गर्ने सहमति जनाएका छन् । यस कदमले नेपालको पर्यटन कूटनीतिलाई नयाँ चरणमा प्रवेश गराएको बताइएको छ । बोर्डले विदेशी पर्यटन मेलाहरू, सेल्स मिसन, रोड शो, पत्रकार सम्मेलन र फ्याम ट्रिपमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई ‘पार्टनर एयरलाइन’को रूपमा निःशुल्क सहभागी गराउनेछ । निगमले पनि आफ्ना उडान गन्तव्यहरूमा १०० किलोसम्मका प्रवर्द्धन सामग्री निःशुल्क लैजान दिने, संयुक्त कार्यक्रमका लागि उपहार टिकट उपलब्ध गराउने र रियायती टिकट सुविधा प्रदान गर्ने व्यवस्था मिलाएको छ । दुवै संस्थाले अन्तर्राष्ट्रिय बजारमा नेपालबारे सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले प्रभावशाली व्यक्तित्व, पत्रकार, ब्लगर, टुर अपरेटर्स र सेलिब्रिटी सहभागी हुने फ्याम ट्रिपहरूमा सामूहिक रूपमा काम गर्नेछन् । समझदारीपत्रमा डिजिटल विज्ञापन, प्रमोशन भिडियो, संयुक्त ब्रान्डिङ, वेबसाइट लिंक–सपोर्ट, संयुक्त होर्डिङ बोर्ड लगायत सामग्री उत्पादनलाई एकीकृत गर्ने प्रावधान पनि उल्लेख गरिएको छ । आवश्यक परेको अवस्थामा संयुक्त ब्रोसर, गाइडबुक, पोस्टर तथा सांस्कृतिक विविधता झल्किने सामग्री निर्माण गर्ने र विदेशी राष्ट्रिय दिवस वा व्यापारिक कार्यक्रमहरूमा संयुक्त उपस्थिति जनाउने व्यवस्था पनि गरिएको छ । नेपालभित्र विदेशी कलाकार, फिल्म उत्पादक, खेलाडी तथा सेलिब्रिटी सहभागी हुने मेगा–इभेन्टमा पनि निगमले सहुलियत टिकट उपलब्ध गराउनेछ । समझदारीपत्र मार्फत नेपालको पर्यटन प्रवर्द्धन संरचना बढी गतिशील, समन्वित र परिणाममुखी बन्ने अपेक्षा गरिएको छ । दुवै संस्थाले हरेक छ महिनामा संयुक्त प्रतिवेदन तयार पारेर कार्यक्रमहरूको प्रभावकारिता मूल्यांकन गर्नेछन् । समझदारीपत्र हस्ताक्षरपछि नेपाल पर्यटन बोर्डका सीईओ दीपक राज जोशीले यस सहकार्यलाई नेपालको अन्तर्राष्ट्रिय छवि र बजार पहुँच विस्तारका लागि ऐतिहासिक कदमको रूपमा व्याख्या गर्दै भने, 'नेपाल एयरलाइन्स हाम्रो राष्ट्रिय गौरव हो र पर्यटन यसको मूल चालक शक्ति हो । दुवै संस्थाबीचको यो रणनीतिक साझेदारीले ‘नेपाली ब्रान्ड’लाई विश्वभर उच्चतम प्रचार र प्रवर्द्धन गर्न टेवा पुग्नेछ । विमानस्थलदेखि गन्तव्यसम्म एकीकृत प्रवर्द्धनले नेपालको पहिचान थप स्पष्ट र प्रभावकारी बनाउँछ ।'
नोभेम्बरमा भित्रिए १ लाख १६ हजार पर्यटक, ११ महिनामा १० लाख ६० हजार
काठमाडौं । सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो। जसमा प्रमुख पर्यटक गन्तव्य मुलुकमा सबैभन्दा बढी भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् । त्यसैगरी, क्रमश: संयुक्त राज्य अमेरिकाबाट ११ हजार २५४, चीनबाट ७ हजार ८७१, बेलायतबाट ७ हजार १८९, बंगलादेशबाट ५ हजार ६५३, अष्ट्रेलियाबाट ५ हजार ३९३, श्रीलंकाबाट ४ हजार ८३१, म्यानमारबाट ४ हजार ४८४, फ्रान्सबाट ४ हजार २११ र जर्मनीबाट ४ हजार १३४ पर्यटक भित्रिएका छन् । क्षेत्रगत रूपमा दक्षिण एसियाली मुलुकबाट ३० हजार ८७०, एसियाली अन्य मुलुकबाट २८ हजार ६१३, युरोपबाट ५ हजार ८९१, अमेरिकाबाट १३ हजार ६७८, मध्यपूर्वी मुलुकबाट १ हजार ८०२, अफ्रिकाबाट ४१२ र अन्य मुलुकबाट ६ हजार २६९ पर्यटक भित्रिएको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । २०२५ को पछिल्लो ११ महिना जनवरीदेखि नोभेम्बरसम्म १० लाख ६० हजार २६९ पर्यटक भित्रिएका छन् । यस वर्षको अक्टोबर महिनामा मात्रै १ लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो महिनालाई मुख्य पर्यटकीय याम मानिन्छ । सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने अगष्टमा ८८ हजार ६८० पर्यटक भित्रिएका थिए ।
सोमबारदेखि पुनः सञ्चालनमा आउँदै चन्द्रागिरी केबलकार
काठमाडौं । राजधानीमा सञ्चालित चन्द्रागिरि केबलकार सेवा सोमबार (भोलि)देखि पुनः सञ्चालनमा आउने भएको छ । केही समयदेखि निर्माणाधीन तथा मर्मतसम्भारका कारण बन्द रहेको उक्त सेवा अब नियमित रूपमा सञ्चालनमा आउन लागेको हो । केबलकार सञ्चालक समिति सचिव झलक शर्माका अनुसार सोमबार बिहान ८ बजेदेखि यात्रुहरूका लागि नियमित सेवा उपलब्ध हुनेछ । भाडादरमा भने कुनै परिवर्तन गरिएको छैन । पहिलेकै ८ सय २५ रुपैयाँ भाडा कायम गरिएको उनले जानकारी दिए । यद्यपि, विद्यार्थीहरूका लागि भने २५ प्रतिशत छुटको व्यवस्था यथावत राखिएको छ । तत्कालका लागि अन्य कुनै नयाँ छुट वा विशेष अफरहरू नभएको उनको भनाइ छ। मंसिर १५ गते सोमबार एक दिनका लागि केबलकार टिकटमा २५ प्रतिशत छुट सुविधाको व्यवस्थासमेत गरिएको छ । आगामी दिनमा नयाँ योजनाहरू ल्याउन सकिने विषयमा छलफल गरिने सचिव शर्माले बताए । कम्पनीका अनुसार सञ्चालन प्रणाली (प्यानल बोर्ड) मा समस्या देखिएपछि सेवा अनिश्चितकालका लागि स्थगित गरिएको थियो । गत भदौ २४ गते केबलकारमा तोडफोड भएपछि केबलकार बन्द भएको थियो । केबलकारमा पुर्ननिर्माण भएर कात्तिक २२ र २३ गते सञ्चालनमा आएको थियो । सचिव शर्माले विकासन्युजसँग भने, ‘प्यानल बोर्डमा धुलो जम्मा भई प्रणालीमा समस्या आएको थियो । यसलाई समाधान गर्न अस्ट्रियाबाट आवश्यक पार्टपुर्जा मगाइएको छ र सबै काम सकेर भोलिबाट केबलकार सञ्चालनमा आउँछ ।’ सेवा नियमित सञ्चालनमा आउनु अघि रोकिएको निर्माण कार्य सम्पन्न भइसकेको र अब सेवा सुचारु गर्न कुनै प्राविधिक समस्या नरहेको जानकारी गराइएको छ ।