नयाँ हवाई नीति बनाउन कार्यदल गठन
काठमाडौँ । सरकारले हवाई यातायातका क्षेत्रमा विश्वव्यापीरुपमा ग्रहण गरिएको प्रविधि, असल अभ्यास र नयाँ आयामलाई दृष्टिगत गरी नयाँ हवाई नीति बनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उड्डयन क्षेत्रमा आएको विश्वव्यापी आयाम, दक्षिण एशियाली मुलुकमा रहेको व्यवस्था र नेपालको बदलिँदो आवश्यकता समेतलाई समष्टिगत गर्दै नयाँ हवाई नीति तर्जुमाका लागि एक कार्यदल गठन गरेको हो । विसं २०७६ असोज २९ गतेको मन्त्रीस्तरीय निर्णयानुसार पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा सात सदस्यीय कार्यदल गठन गरिएको मन्त्रालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ । कार्यदलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन, नेपाल वायु सेवा निगमका पूर्वउपप्रबन्धक राजु केसी, प्राधिकरणका उपमहानिर्देशक देवानन्द उपाध्याय, वायुसेवा सञ्चालक सङ्घका सुमन पाण्डे र वरिष्ठ विमानचालक (पाइलट) क्याप्टन दधिराम निरौला सदस्य रहेका छन् । कार्यलदको सदस्य सचिवमा पर्यटन मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महशाखा प्रमुख सहसचिव सुरेश आचार्य रहेका छन् । कार्यदललाई ६० दिनभित्र हवाई नीतिको मस्यौदा तयार गरी मन्त्रालयसमक्ष पेश गर्ने समयावधि तोकिएको छ । कार्यदलले हवाई यातायातका क्षेत्रमा विश्वव्यापी प्रविधि, असल अभ्यास एवं सार्क मुलुकमा रहेको व्यवस्था र नेपालको बद्लिँदो आवश्यकता समेतलाई समष्टिगतरुपमा अध्ययन गरी नयाँ हवाई नीतिको मस्यौदा तयार गर्नेछ । नीतिको मस्यौदा पेश गर्न दुई वटा कार्यशाला गोष्ठीकोसमेत आयोजना गर्ने कार्यादेश प्राप्त उक्त कार्यदलको आज बसेको बैठकले हवाई क्षेत्रसँग आबद्ध एवं जानकारप्राप्त व्यक्ति वा संस्थाले सुझाव दिन चाहनुभएको खण्डमा सुझाव सङ्ग्रह गर्ने निर्णय गरेको छ । मन्त्रालयको हवाई उद्योग शाखामा स्वयं उपस्थित भई वा पत्राचार÷फ्याक्स वा इमलेमार्फत आफ्नो सुझाव उपलब्ध गराउन पनि अनुरोध गरिएको छ ।
देशभरका ५६ विमानस्थल, कुन विमानस्थलको अवस्था कस्तो ?
काठमाडाैं । हाल देशभर ५६ विमानस्थल छन् । कुनै विमानस्थल निर्माण भएर हवाई सुविधा दिँदै आएका छन् भने कुनै निर्माण भएर पनि भौतिक पूर्वाधार कमिका कारण रुग्ण अवस्थामा छन् । निर्माण भएका विमानस्थलहरुमा भौगलिक कठिनाइ, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा पनि रुग्ण अवस्थामा रहेका हुन् । अहिले देशका सातवटै प्रदेशमा हवाई सुविधा रहेको छ । मुलुकको हवाई सेवाको पहुँच देशव्यापी भएपनि यसका चुनौती भने यथावथ छन् । अधिकाशं जिल्लामा विमानस्थल निर्माण भएका छन् । ती विमानस्थलहरु प्रभावकारी रुपमा सञ्चालनमा आउन नसक्नु समस्याका रुपमा रहदैं आएको छ । विमानस्थल निर्माण भएका ठाउँहरुको भौगलिक कठिनाइ, जनसंख्याको चापको कमी, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा विमानस्थल प्रभावकारी र नियमित बन्न नसेको नियमक निकाय बताउँछन् । नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार हाल देशभर ५६ विमानस्थल मध्ये ३३ वटा सञ्चालनमा छन् भने १६ वटा विमानस्थल बन्द अवस्थामा छन् । हाल देशमा एक अन्तर्राष्ट्रिय विमानस्थल, चार डोमेस्टिक हब विमानस्थल र ४४ घरेलु विमानस्थल छन् । जसमा ६ वटा डोमेस्टिक र तीन वटा अन्तर्राष्ट्रिय विमानस्थलहरु निर्माणाधीन अवस्थामा छन् । ६ घरेलु र ३ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन सरकारले हाल ६ वटा घरेलु विमानस्थल निर्माण गरिरहेको छ । निर्माण भइरहेका घरेलु विमानस्थलमा अर्घाखाँची, गुल्मी, इलाम, कालिकोट, कमल बजार र खिजी चण्डेश्वर हुन् । यस्तै निर्माण भइरहेका अन्तर्राष्ट्रिय विमानस्थलहरुमा नीजगढ अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् । पोखारा विमानस्थल र गौतमबुद्ध विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेका छन् भने निजगढ विमानस्थलको मोडालिटी तयार भइरहेको छ । देशभरका विमानस्थलहरु मध्ये ३३ विमानस्थल मात्र कालोपत्रे भएका छन् ।हाल बैतडी, बझाङ, डोल्पा, मसिनेचौर, डोटी, कलिकोट र लामिडाँडा विमानस्थल कालोपत्रे भइरहेका छन् । यस्तै रात्री उडान सुविधा रहेका विमानस्थलहरु मध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बिराटनगर, चन्द्रगढी, धनगढी, गौतमबुद्ध भैरहवा, नेपालगञ्ज र सिमरा रहेका छन् भने अन्यमा रात्री उडान गर्न सक्ने प्रविधि छैन । देशभरका विमानस्थलको पुर्ननिर्माण तथा स्तरोन्नतिमा सरकारले करिब १ खर्ब ३७ अर्ब ६४ करोड रुपैयाँ लगानी गरेको छ । १६ विमानस्थल बन्द अवस्थामा हाल देशभर १६ वटा विमानस्थलहरु बन्द अवस्थामा छन् । बन्द अवस्थामा रहेका विमानस्थलहरुमा बैतडी विमानस्थल, बझाङको चैनपुर विमानस्थल, दार्चुला विमानस्थल, ढोरपाटन विमानस्थल, डोल्पा मासिनेचौर विमानस्थल र डोटी विमानस्थल रहेका छन् । यस्तै जीरी विमानस्थल,कंगेलडाँडाँ, लाङटाङ विमानस्थल, मनाङ विमानस्थल, मेघौली विमानस्थल, कञ्चनपुरको महेन्द्रनगर विमानस्थल र पालुङटार विमानस्थल बन्द अवस्थामा रहेका छन् । रोल्पा विमानस्थल, स्याङबोचे विमानस्थल र टीकापुर विमानस्थल पनि हाल बन्द अवस्थामा छन् । जुन विमानस्थलहरुमा हवाई सुविधा नियमित भए पर्यटकहरु बढ्नेसँगै त्यहाँको आर्थिक तथा भौतिक अवस्थामा सुधार हुने अवस्था छ । सूचना अधिकारी पौड्यालले बन्द भएका विमानस्थलहरुको पनि निर्माण कार्य थालिएको बताए । उनले अब तिनीहरुको निर्माण प्रक्रिया सकेर छिट्टै नै सञ्चालनमा ल्याउने बताए । बन्द भएका कतिपय विमानस्थलमा परिक्षण उडान गरेर पनि निर्माणको कार्य सुरु भइसकेको उनले बताए । कुन प्रदेशमा कति विमानस्थल ? हाल देशका सबै प्रदेशमा विमानस्थलको पहुँच छ । विमानस्थलहरु हुँदाहुँदै पनि नियमित हवाई सुविधा नहुँदा स्थानिय नागरिकहरुलेसँगै पर्यटकहरुले पनि सास्ती खेप्नु पर्ने अवस्था छ । प्रदेश एकमा १२ विमानस्थल, प्रदेश दुईमा तीन विमानस्थल , प्रदेश तीनमा ६ विमानस्थल, गण्डकी प्रदेशमा पाँच विमानस्थल, प्रदेश पाँचमा पाँच विमानस्थल, कर्णाली प्रदेशमा नौ विमानस्थल र सुदूरपश्चिम प्रदेशमा नौ वटा विमानस्थलहरु रहेका छन् । भौगलिक र अतिरिक्त सुविधाका रुपले विकट मानिने कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि जिल्लापिच्छे विमानस्थल भएपनि तिनीहरु सञ्चालनमा भने आउन सकेका छैनन् । कर्णाली प्रदेशका सबै जिल्लाहरुमा मोटरबाटो पुग्न सकेको छैन । तर विमानस्थलको भने सुविधा छ । ती विमानस्थलहरु नाममा मात्रै सिमित छन् । कर्णालीका ९ वटा विमानस्थलहरुमा अहिले पनि नियमित उडान नहुँदा त्यहाँका स्थानियहरु समस्यामा छन् । सर्वसाधरणका लागि सहुलियत दरमा हवाई भाडा र भरपर्दो सेवा भने अझै पुगिसकेको छैन । कर्णाली प्रदेशका विमानस्थलहरु हुम्लाको सिमिकोट,जुम्ला विमानस्थल,सुर्खेत विमानस्थल, रुकुमको सल्ले विमानस्थल, रुकुमको चौरजहारी विमानस्थल, डोल्पा विमानस्थल, मुगुको रारा विमानस्थल अहिले सञ्चालनमा भएपनि नियमित उडान भने भर्न सकेका छैनन् । यस्तै सुदूरपञ्चिमका विमानस्थलको हालत पनि त्यस्तै छ । सुदूरपश्चिमका विमानस्थलहरु मध्ये कैलालीको धनगढी, अछामको साँफेबगर र बाजुराको कोल्टी विमानस्थल सञ्चालनमा छन् । जसमा धनगढी विमानस्थल नियमित रुपमा उडान भर्दै आएको छ भने साँफेबगर र बाजुरको कोल्टी विमानस्थलले नियमित रुपमा उडान भर्न सकेका छैनन् । दार्चुलाको गोकुलेश्वर, डोटीको दिपायल, अछामको कमल बजार, बझाङको चैनपुर, बैतडीको पाटन, कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टिकापुर विमानस्थल बन्द अवस्थामा छन् । सुदूरपश्चिमा नेपालकै सुन्दर ठाउँ खप्तड, बडिमालिका, अपि, साइपाल, मानसरोवर लगायतका पर्यटकिय स्थलहरु भएपनि त्यहाँ पुग्न हवाई सुविधा नहुँदा विदेशी पर्यटकहरुलाई गन्तव्यमा पुग्न समस्या हुने गरेको छ । हवाई सुविधाको कमीले पनि आन्तरिक र बाह्य पर्यटकहरुको आगमन को संख्या न्यून छ । १३ विमानस्थल मात्रै नाफामा देशभर सञ्चालित विमानस्थलहरु मध्ये १३ वटा विमानस्थलहरु मात्र फाइदामा रहेको नेपाल उडड्यन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सञ्चालनमा रहेका ३३ विमानस्थलमा त्रिभुवन विमानस्थलसहित १३ वटा विमानस्थल मात्र आत्मनिर्भर बन्न सकेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै नेपालगञ्ज विमानस्थल, पोखरा विमानस्थल, गौतमबुद्ध विमामनस्थल, विराटनगर विमानस्थल, सिमरा विमानस्थल र चन्द्रगढी विमानस्थल नाफामा रहेको नागरिक उडड्यन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालले बताए । यस्तै नाफामा हुने विमानस्थलमा धनगढी, जनकपुर, भरतपुर, जोमसोम, सिमिकोट र लुक्ला विमानस्थलहरु रहेको उनले बताए । गत वर्ष मात्रै त्रिभुवन विमानस्थलले ८ अर्ब ११ करोड आम्दानी गरेको उनले बताए । यस्तै पोखरा विमानस्थलले ९ करोड ३९ लाख, विराटनगरले ८ करोड ८० लाख, धनगढीले २ करोड ७६ लाख, भरतपुरले २ करोड ३० लाख, लुक्लाले २ करोड, सिमाले १ करोड ८३ लाख र सिमिकोटले १ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको पौड्यालले बताए । ३४ विमानस्थलमा १ अर्ब ६७ करोड खर्च नेपाल नागरिक उडड्यन प्राधिकरणकका अनुसार असार मसान्तसम्म देशभरका ३४ वटा विमानस्थल स्तरोन्नति १ अर्ब ६७ करोड ८८ लाख खर्च भएको छ । विमानस्थलका लागि विनियोजन भएको २ अर्ब ८४ करोड २८ लाख बजेट मध्ये ५९.१० प्रतिशत खर्च भएको हो । विमानस्थलको लागत नेपाल सरकारले ८८ करोड ४९ लाख र प्राधिकरणले १ अर्ब ९५ करोड ७८ लाख छुट्याएको थियो । पौड्यालका अनुसार विमानस्थल स्तरोन्नतिमा निर्माण सामाग्रीहरुको ल्याव परीक्षण, निर्माण सामाग्रीहरुको अभाव, जनशक्तिको अभाव लगायत समस्याहरु झेल्नु परेको छ । चालु आवमा प्राधिकरणले ४६ अर्ब ९६ करोड रुपैयाँ बजेट ल्याएको छ । जसमा ८ अर्ब ३३ करोड एरोनटीकल र ननएरोनटीकल आय प्रक्षेपित गरेको छ । देशभर ५६ वटा विमानस्थलहरु भएपनि तिनीहरु सञ्चालनमा नआउँदा देशको भौतिक पक्षमा प्रभाव परेको छ । देशका सुन्दर पर्यटकीय स्थलहरुसम्म हवाई सुविधा नपुग्दा पर्यटन क्षेत्रमा धेरै प्रभाव परेको छ । विदेशी पर्यटकहरुको आगमन तथा यात्रा गर्ने महत्वपूर्ण साधन हवाई भएपनि देशका सुन्दर तथा पर्यटकीय स्थलहरुमा हवाई सेवा नहुँदा पर्यटकहरुलाई समेत समस्या हुने गरेको छ । नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपले मनाउने घोषणा गरेको छ । तर मुलुकका सुन्दर पर्यटकीय स्थलहरुसम्म हवाई नपुगेको कारणले पनि भ्रमण वर्षलाई नकरात्मक प्रभाव पार्न सक्ने अवस्था छ । नेपाल भ्रमण वर्ष २०२० आउन दुई महिना मात्र बाँकी रहँदा सरकारले छिटोभन्दा छिटो निर्माणाधिन विमानस्थलको निर्माण सम्पन्न गरी हवाई सुविधा सुरु गरे नेपाल भ्रमण वर्ष २०२० सफल हुनेमा दुई मत छैन ।
वार्षिक ३५ लाख पर्यटक भित्र्याउने रणनीति बन्दै,‘एक नेपालीले एक विदेशी साथी नेपाल ल्याउने अभियान’सञ्चालन गरिने
काठमाडौँ । सरकारले आगामी दशकलाई भ्रमण वर्षका रुपमा मनाउँदै वार्षिक ३५ लाख पर्यटक भित्र्याउने योजना अघि सारेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने योजनाका साथ प्रवद्र्धनात्मक कामलाई तीव्रता दिएको सरकारले भ्रमण वर्षलाई आगामी दशकको रुपमा मनाउँदै वार्षिक ३५ लाख पर्यटक भित्र्याउने योजना अघि सारेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आगामी दशकलाई भ्रमण वर्षका रुपमा मनाएर बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने योजनका लागि सरकारलगायत सरोकार भएका निकायसँग छलफल गरी रणनीति तय गरिने जानकारी दिए । नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीच समझदारी तथा नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्ष अभियानलाई आउने दशकलाई उत्साहका साथ मनाउन सकेको खण्डमा आगामी १५औँ पञ्चवर्षीय योजनाको समाप्ति हुँदा कम्तिमा पनि ३५ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने सरकारको अपेक्षा रहेको बताए । उनले भने, “अबको दुई महिनापछि (सन् २०२० लाई) हामीले भ्रमण वर्ष मनाउँदै छौँ, त्यसलाई सफल बनाउन हरतवरले लागि परेका छौँ, तर २०२० मै भ्रमण वर्षको सम्पूर्ण अभियान सकिने हैन, यो त भ्रमण वर्षको थालनी हो । आगामी दशकलाई नै भ्रमण वर्षको दशकको रुपमा मनाएर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने योजनाका साथ काम अघि बढाउछौँ ।” मन्त्री भट्टराईले भ्रमण वर्ष अभियानको तयारीमा सिङ्गो मुलुक जुटिरहेको बताउदै अभियानलाई सफल बनाउन एनआरएनको सक्रिय भूमिकाको खाँचो औंल्याए । उनले अथाह पर्यटकीय सम्भावना भएको नेपालमा भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्र्याउनु त्यति चुनौतिको विषय नभएपनि विश्वमा नेपालको प्रर्यटनबारे प्रभावकारीरुपमा प्रचारप्रसार हुननसकेका कारण पर्यटकीय लाभ लिन नसकिएको धारणा राखे । पर्यटनमन्त्री भट्टराईले मुलुकको कुल गाह्स्थ उत्पादनमा पर्यटन क्षेत्रको १० प्रतिशत योगदान पुर्याउने लक्ष्यका साथ सबैखाले तयारीमा सरकार जुटेको उल्लेख गर्दै पर्यटकीय पूर्वाधार विकास र कनेक्टिभिटिलाई जोड दिइएको बताए । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान चाप न्यूनीकरण गर्न क्षमता विस्तार र सेवा स्तरीकरणको कामलाई प्रभावकारी अघि बढाइएको तथा सन् २०२० को मार्च महिनाबाट निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलाई सञ्चालनमा ल्याइनुका साथै पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणलाई तीब्रताका साथ अघि बढाइने उनले बताए । पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भ्रमण वर्षलाई प्रभावकारी बनाउदै पूर्वाधार विकासलाई प्राथमिकताकासाथ अघि बढाइएको बताए । मुलुकको पर्यटन प्रवद्र्धनका निम्ति कनेक्टिभिटी महत्वपूर्ण भएकाले हवाई पूर्वाधारका साथै सडक सञ्जाल विस्तारलाई पनि जोड दिइएको उनले बताए । कार्यक्रममा नेपाल भ्रमण वर्ष अभियान राष्ट्रिय कार्यक्रमका संयोजक सुरज वैद्यले भ्रणण वर्ष अभियानको प्रवद्र्धनात्मक कामलाई थप गति दिएको र अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसारको काम शुरु भइसकेको जानकारी दिए । एनआरएनएका अध्यक्ष कुमार पन्तले नेपालमा अधिक विदेशी पर्यटक भित्र्याउन संस्थाले सद्भावनादूतका रुपमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे । नेपालको पर्यटनबारे विदेशमा हुने गरेको नकारात्मक प्रचारप्रसारलाई चिर्दै नेपाल गन्तब्य प्रवद्र्धनका साथै नेपालको आर्थिक समृद्धिको विकासका निम्ति पनि संस्थाले सक्रिय योगदान गर्ने स्पष्ट पारे । भ्रमण वर्ष प्रवद्र्धनका लागि समझदारी भ्रमण वर्ष अभियानको प्रभावकारी प्रवद्र्धनका लागि नेपाल भ्रमण वर्ष २०२० सचिवालय र गैरआवासीय नेपाली सङ्घबीच नेपालको पर्यटन प्रवद्र्धनसम्बन्धी एक समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । सचिवालयकातर्फबाट संयोजक वैद्य र एनआरएनका अध्यक्ष पन्तले उक्त समझदारी पत्रमा हस्ताक्षर गरे । समझदारी अनुरुप भ्रमण वर्ष २०२० का सन्दर्भमा विश्वभरबाट ‘एक नेपालीले एक विदेशी साथी नेपाल ल्याउने अभियान’ सञ्चालन गर्ने छ । उक्त कुराको अभिलेखिकरण सचिवालय र एनआरएनएले गर्ने व्यवस्था मिलाइने जनाइएको छ । सबैभन्दा बढी विदेशी साथी पढाउने व्यक्ति वा संस्थालाई सचिवालयले सम्मान गर्नेछ । भ्रमण वर्षअवधिभर एनआरएनका विश्वभरि गरिने औपचारिक सेमिनार, गोष्ठीलगायत कार्यक्रम नेपालमा नै गर्ने व्यवस्था मिलाउने, विदेशस्थित नेपाली दूतावास र नियोगमा भ्रमण वर्ष प्रवद्र्धन कक्ष स्थापना गर्न आवश्यक जनशक्ति उपलब्ध गराउने समझदारी पत्रमा उल्लेख छ । त्यस्तै एनआरएनएले विश्वभरका कम्तिमा ५० देशका मिस एनआरएनए इन्टरनेश्नल आयोजना गर्ने र उक्त प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा सन् २०२० को जुन महिनाभित्र नेपालमा गर्नेछ । भ्रमण वर्षको शुभारम्भ समारोहलाई सफल बनाउन सम्बन्ध्ति देशका कुटनीतिक नियोगसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने, सञ्चारमाध्यममा डिजिटल मार्केटिङ, सामाजिक सञ्जालको प्रयोग, वेवसाइटमार्फत भ्रमण वर्षसम्बन्धि सकारात्मक सन्देश दिने सामग्रीको प्रवाह गरिने जनाइएको छ । रासस