ओपीसी सिमेन्टमा देखिएको विवाद समाधान, सगरमाथालाई गुणस्तरताको स्विकृती
घोराही । केहि दिन यता घोराही सिमेन्टको ओपीसी सिमेन्टमा देखिएको गुणस्तर सम्बन्धि विवाद समाधान भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले घोराही सिमेन्ट उद्योगको ओपीसी सिमेन्टको नमुना परिक्षण गर्दा मापदण्ड अनुरुप रहेको भन्दै उत्पादन अनुमति दिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग परिक्षण तथा बजार अनुगमन शाखाले भदौ १८ गते जिल्ला प्रशासन कार्यालय दाङलाई पत्र पठाएर परिक्षण नतिजाको बारेमा जानकारी गराएको छ । विभागले उद्योगबाट केहि दिन अघि ओपीसी सिमेन्टको नमुना लगेको थियो । परिक्षणका क्रममा ओपीसी सिमेन्ट नेपाल गुणस्तर ४९ अनुसार ठिक रहेको जानकारी जिल्ला प्रशासन कार्यालयलाई गराएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले दिएको पत्र अनुसार जिल्ला प्रशासन कार्यालय दाङले घोराही सिमेन्ट ई.प्रा.लि. लाई पत्र पठाएर गुणस्तर ठिक रहेको जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयको पत्र अनुसार उद्योगले सिमेन्ट उत्पादन र बिक्री वितरणको लागि अनुमति पाएको छ ।
युवा उद्यमीको प्रश्नः होङसी शिवमको विदेशी लगानी यहि हो ?
प्रबलजंग पाण्डे काठमाडौं । युवा उद्यमी प्रबलजंग पाण्डेले होङसी शिवम् सिमेन्टले विदेशी लगानी ल्याउने भनेर नेपाली बैंकबाटै ऋण लिएको भन्दै प्रश्न गरेका छन् । नेपाली लगानीमै मुलुक सिमेन्टमा आत्मनिर्भरताको बाटोमा अघि बढिरहेका बेला विदेशी लगानीका नाममा नेपाली बैंकबाटै ऋण लिएर प्रतिफल विदेश जाने अवस्था बनेको भन्दै पाण्डेले प्रश्न गरेका हुन् । नेपाल उद्योग बाणिज्य महासंघका कार्य समिति सदस्य समेत रहेका युवा उद्यमी पाण्डेको पनि सिमेन्ट उद्योगमा लगानी रहेको छ । विदेशी लगानीका नाममा नेपाली बैंकबाट ऋण लिएर नाफा जति विदेश लैजानुको साटो स्वदेशी उद्योगीहरुलाई नै अवसर दिनुपर्ने पनि उनले बताएका छन् । उनले फेसबुकमा लेखेका छन्ः ‘नेपाल को सबै भन्दा ठुलो बिदेशी लगानीमा भर्खरै सन्चालनमा आएको सिमेन्ट उद्योगले सबै लगानी बिदेशबाटै ल्याउछ भनेको त नेपाली बैक हरुबाटै ऋण लिएर प्रतिफल बिदेश जाने रै छ । नेपाली पुंजी नै लगानी हुने हो भने नेपाली नै लगानी कर्ता भएको भए त प्रतिफल बिदेश जाने त थिएन , जबकी नेपाली कै लगानीमा नेपाल सिमेन्टमा आत्मनिर्भर उन्मुख भैरहेको थियो ।’
होङसी शिवमको क्षमता विस्तारमा ५ नेपाली बैंकको १६ अर्ब लगानी, उद्योगले दैनिक १२ हजार टन सिमेन्ट उत्पादन गर्ने
काठमाडौं । होङसी शिवम् सिमेन्ट प्राइभेट लिमिटेडको क्षमता विस्तार गर्न ५ नेपाली बैंकले १६ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।एनएमबी बैंकको अगुवाइमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंकले ऋण लगानी गर्ने भएका हुन् । अगुवा बैंकको तर्फबाट एनएमबीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसी र होङसी सिमेन्टका उपाध्यक्ष विश्वनाथ गोयले सोमबार ऋण लगानी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उद्योगमा एनएमबीको ६ अर्ब ७५ करोड, नेपाल इन्भेष्टमेन्टको ४ अर्ब, प्रभुको ३ अर्ब, एभरेष्टको १ अर्ब २५ करोड र एसबीआईको १ अर्ब रुपैयाँ ऋण लगानी हुने छ । उद्योगले नेपाल राष्ट्र बैंकबाट ९ अर्ब ८२ करोड रुपैयाँ वैदेशिक लगानी ल्याउन स्वीकृति पाएको छ । ७ वर्ष अवधि रहेको कर्जाको सुरक्षण जमानत बैंक अफ चाइना र मिङसेङले दिएका छन् । बैंकले थप लगानी गरेपछि होङसी शिवमको उत्पादन क्षमता दोब्बर बढेर दैनिक १२ हजार टन पुग्ने छ । हाल उद्योगले दैनिक ६ हजार टन अर्थात १ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गरिरहेको छ । गत जेठदेखि उद्योगले सिमेन्ट उत्पादन थालेको हो । काम शुरु गरेको १६ महिनामा उद्योग सञ्चालनमा आएको छ । गत वर्षको भदौ १८ गते लगानी बोर्ड र होङसीबीच परियोजना लगानी सम्झौता (पीएनए) भएको थियो । सम्झौताअनुसार कम्पनीले नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाको लागि ३६ अर्ब ७५ करोड रुपैयाँ (करिब ३५ करोड ९१ लाख अमेरिकी डलर) लगानी गरेको छ । कारखानाका लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा छ । उद्योग सञ्चालनका लागि आवश्यक ५० मेगावाट मध्ये १२ मेगावाट आफैले उत्पादन गर्ने छ । चीनको होङसी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट ३ लिमिटेडको लगानी छ । कारखानामा नेपालको व्यवसायीक समुह शिवम् होल्डिङसको ३० र होङसीको ७० प्रतिशत लगानी छ । सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट वा ब्राण्डको नाम ‘होङ्सी’ राखिएको छ । चिनियाँ गुणस्तर पीओ ४२.५ र पीओ ५२.५ ग्रेडको “लो अल्काली” ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दैछ । १३ करोड टन उच्च गुणस्तरको आफ्नो चुनढुङा खानी छ । उद्योगले ६ सेट हवल स्वचालित प्याकेजिङ मेशिन र १२ सेट बोरा सिमेन्ट लोडिङ मेशिन जडान गरेको छ । जसको प्याकेजिङ र ढुवानी क्षमता १० हजार टन भएको उद्योगले जनाएको छ ।