होङसी शिवमको क्षमता विस्तारमा ५ नेपाली बैंकको १६ अर्ब लगानी, उद्योगले दैनिक १२ हजार टन सिमेन्ट उत्पादन गर्ने

काठमाडौं । होङसी शिवम् सिमेन्ट प्राइभेट लिमिटेडको क्षमता विस्तार गर्न ५ नेपाली बैंकले १६ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।एनएमबी बैंकको अगुवाइमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंकले ऋण लगानी गर्ने भएका हुन् । अगुवा बैंकको तर्फबाट एनएमबीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसी र होङसी सिमेन्टका उपाध्यक्ष विश्वनाथ गोयले सोमबार ऋण लगानी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उद्योगमा एनएमबीको ६ अर्ब ७५ करोड, नेपाल इन्भेष्टमेन्टको ४ अर्ब, प्रभुको ३ अर्ब, एभरेष्टको १ अर्ब २५ करोड र एसबीआईको १ अर्ब रुपैयाँ ऋण लगानी हुने छ । उद्योगले नेपाल राष्ट्र बैंकबाट ९ अर्ब ८२ करोड रुपैयाँ वैदेशिक लगानी ल्याउन स्वीकृति पाएको छ । ७ वर्ष अवधि रहेको कर्जाको सुरक्षण जमानत बैंक अफ चाइना र मिङसेङले दिएका छन् । बैंकले थप लगानी गरेपछि होङसी शिवमको उत्पादन क्षमता दोब्बर बढेर दैनिक १२ हजार टन पुग्ने छ । हाल उद्योगले दैनिक ६ हजार टन अर्थात १ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गरिरहेको छ । गत जेठदेखि उद्योगले सिमेन्ट उत्पादन थालेको हो । काम शुरु गरेको १६ महिनामा उद्योग सञ्चालनमा आएको छ ।  गत वर्षको भदौ १८ गते लगानी बोर्ड र होङसीबीच परियोजना लगानी सम्झौता (पीएनए) भएको थियो । सम्झौताअनुसार कम्पनीले नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाको लागि ३६ अर्ब ७५ करोड रुपैयाँ (करिब ३५ करोड ९१ लाख अमेरिकी डलर) लगानी गरेको छ । कारखानाका लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा छ । उद्योग सञ्चालनका लागि आवश्यक ५० मेगावाट मध्ये १२ मेगावाट आफैले उत्पादन गर्ने छ । चीनको होङसी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट ३ लिमिटेडको लगानी छ । कारखानामा नेपालको व्यवसायीक समुह शिवम् होल्डिङसको ३० र होङसीको ७० प्रतिशत लगानी छ । सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट वा ब्राण्डको नाम ‘होङ्सी’ राखिएको छ । चिनियाँ गुणस्तर पीओ ४२.५ र पीओ ५२.५ ग्रेडको “लो अल्काली” ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दैछ । १३ करोड टन उच्च गुणस्तरको आफ्नो चुनढुङा खानी छ । उद्योगले ६ सेट हवल स्वचालित प्याकेजिङ मेशिन र १२ सेट बोरा सिमेन्ट लोडिङ मेशिन जडान गरेको छ । जसको प्याकेजिङ र ढुवानी क्षमता १० हजार टन भएको उद्योगले जनाएको छ ।

बुवाको सम्मानमा नेपाली जुत्ता घरः ५० प्रतिशतसम्म छुटको अफर

काठमाडौं । नेपाली जुत्ता घर प्रालीले बुवाहरुको सम्मानमा बिशेष अफर ल्याएको छ । कम्पनीले बुवाको मुख हेर्ने समय नजिकिँदै गर्दा २० देखि ५० प्रतिशतसम्म छुटको अवसर ल्याएको हो । यसपाली भदौ २४ गते बुवाको मुख हेर्ने दिन परेको छ । सो दिनलाई नेपालीहरुले आफ्ना बुवाको मुख हेर्ने पर्वका रुपमा मनाउने गरेका छन् । पछिल्लो समयमा केहि उपहार दिएर सो दिन बुवाको मुख हेर्ने प्रचलन बढ्दै गएको छ । ‘हरेक सन्तानहरुले आफ्ना बुवालाई केहि न केहि उपहार दिन्छन, यसपाली नेपाली जुत्ता उपहार दिएर बुवाको मुख हेरुन भन्ने उदेश्यले ५० प्रतिशतसम्म छुटको अफर ल्याएका हौं’, नेपाली जुत्ता घर प्रालीका अध्यक्ष होमनाथ उपाध्यायले विकासन्युजसँग भने । नेपाली जुत्ता घरमा ४ सय रुपैंयाँदेखि ५ हजार मूल्यसम्मका जुत्ता पाइन्छन् । जुत्ता घरमा खरिद गरिने हरेक जुत्ताहरुमा ६ महिना वारेन्टी पाइन्छ । नेपालमा उत्पादन हुने सबै किसिमका जुत्ता किन्ने, हेर्ने र अनुसन्धान गर्ने अवसर पनि प्राप्त हुनेछ । त्यस बाहेक नेपाली उत्पादन र नेपाली ब्राण्डका बारेमा जानकारी लिन पनि सकिन्छ । सबै नेपालीलाई नेपाली उत्पादन प्रयोग गराउने उदेश्यले ६ बर्ष पहिले सुरु भएको नेपाली जुत्ता घर अहिले जमल, बुद्धमल माछापोखरी, महाराजगंज चक्रपथ, अद्धैत मार्ग पुरानो बसपार्क, कुमारीपाटी ललितपुर र पोखरा सिद्धार्थ चोक स्थित चिप्लेढुंगामा विस्तार भैसकेको छ । नेपाली जुत्ता घरमा बिएफ डिअर हिल सुज, शिखर, कोशेली, क्रसरोड, स्काई सुज, टाकुरा, लेदर विंग्स, शु ल्याण्ड, सफ्ट टच ब्राण्ड सहभागी छन् । एकापसमा प्रतिष्पर्धा गरिरहेका नेपाली ब्राण्डहरुले सामुहिक बिक्रि केन्द्रको अवधारणामा जुत्ता घरको आरम्भ गरिएको हो । बजार विस्तारमा प्रतिष्पर्धा गरिरहेका ब्राण्डहरुले एउटै शोरुमबाट आ आफ्ना उत्पादनहरुको प्रवद्र्धन गरिरहेका छन् ।

सगरमाथा सिमेन्ट गुणस्तरहिन, दाङकाे उद्योग र देशभर बिक्री वितरण बन्द

काठमाडौं । घोराही सिमेन्ट उद्योगले उत्पादन गर्दै आएको सगरमाथा सिमेन्ट गुणस्तरहिन भेटिएको छ । प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरहिन भेटिएपछि गुणस्तर तथा नाप तौल विभागले देशभर सगरमाथा सिमेन्ट बिक्री वितरणमा रोक लगाएको छ । दाङ जिल्लामा रहेको यस उद्योगको उत्पादन पनि बन्द गरिएको छ । सगरमाथा सिमेन्ट उत्पादनमा प्रयोग भएको केमिकल र फिजिकल (क्लिङकर) दुबै कच्चा पदार्थ गुणस्तरहिन पाइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । कम्पनीको उत्पादन गुणस्तरहिन भेटिएपछि सर्वसाधारण उपभोक्ताको हितलाई ध्यानमा राखेर तत्काल देशभर सगरमाथा सिमेन्टको बिक्री वितरण रोक लगाइएको उनले जानकारी दिए । कम्पनीका जनसम्पर्क अधिकृत अमर सुवेदीले सगरमाथा सिमेन्टको ओपीसी प्रडक्टमा ओजीएम तोकिएको मापदण्ड भन्दा बढी भएको जनाउँदै गुणस्तर विभागले बिक्री वितरण बन्द गर्न निर्देशन दिएको बताए । ‘ओएमजी ५ प्रतिशत हुनु पर्नेमा सगरमाथामा ५ दशमलव ५ देखियो । त्यसैका आधारमा बिक्री वितरण रोक्न निर्देशन आएको छ’ सुवेदीले भने । विभागको निर्देशन अनुसार विगत एक महिनादेखि बिक्री विरतरण बन्द रहेको उनले बताए । ‘हामीले गुणस्तरको पुनः जाँच गर्न विभागलाई अनुरोध गरेका छौं’ उनले भने–‘गुणस्तरले अनुमति दियो भने आगामी सातादेखि बिक्री वितरण थाल्ने छौं ।’ गत असारमा जिल्ला प्रशासन कार्यालय बर्दियाले बजार अनुगमन गर्ने क्रममा सगरमाथा सिमेन्टको नमुना गुणस्तर तथा नाप तौल जाँच पठाएकाे थियाे ।  त्यसमा गुणस्तर तथा नाप तौल विभागले थप चेकजाँच गर्दा गुणस्तरहित भेटिएकाे थियाे । पछिल्लो समय सगरमाथा सिमेन्टको विभिन्न ५ स्थानबाट नमूना संकलन गरी फेरि गुणस्तर जाँच भईरहेको महानिर्देशक पुडासैनीले बताए । ‘यसै हप्ता थप परिक्षणको रिपोर्ट आउन सक्छ । सोही आधारमा कम्पनीमाथि आवश्यक कारवाही हुन्छ’ पुडासैनीले भने । उक्त उद्योगलाई कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाए ऐन, २०३२ अन्र्तगत कारवाही हुन सक्ने छ । यसअघि २०७३ माघ र २०७२ चैत महिनामा पनि सगरमाथा ब्राण्डको ओपीसी सिमेन्ट गुणस्तरहिन भेटिएको थियो । त्यतिबेला ओपीसी सिमेन्टको गुणस्तर पीपीसी सरह भेटिएको थियो । पीपीसी सिमेन्ट प्लास्टर गर्न, फ्लोरिङ गर्न, साधारण प्रकारको कंक्रिट सामाग्री निर्माण गर्न प्रयोग हुन्छ । ओपीसी सिमेन्ट पिल्लर निर्माण गर्न, ढलान गर्न, पुल बनाउन, जलविद्युत गृह निर्माण गर्न तथा बलिया कंक्रिट निर्माण गर्न प्रयोग हुन्छ । घोराही सिमेन्ट उद्योगले सगरमाथा, विश्वकर्मा, श्रीपशुपति, कपिलवस्तु ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ । यो उद्योगमा संघाई ग्रुप र विशाल ग्रुपको संयुक्त लगानी रहेको छ ।