हेटौंडामा अर्थमन्त्री वाग्लेले गरे नेपाल बैंकको नयाँ भवन उद्घाटन
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हेटौंडा उपमहानगरपालिका–४ स्थित नेपाल बैंक लिमिटेडको नवनिर्मित भवन उद्घाटन गरेका छन् । आइतबार आयोजित एक कार्यक्रमबीच उनले उक्त भवनको औपचारिक समुद्घाटन गरेका हुन् । उद्घाटनका अवसरमा अर्थमन्त्री वाग्लेले नेपालको पहिलो बैंकको रूपमा रहेको नेपाल बैंकको गौरवपूर्ण इतिहास स्मरण गर्दै आफ्नै भवनबाट अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रवाह सुरु गर्नु सकारात्मक कदम भएको बताए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले डिजिटल बैंकिङको युगलाई आत्मसात् गर्दै ग्राहकलाई थप प्रभावकारी सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए । उनले आधुनिक प्रविधिमा आधारित सेवा विस्तारमार्फत ग्राहक सन्तुष्टि अभिवृद्धि गर्ने लक्ष्य लिइएको उल्लेख गरे । उद्घाटन कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारी, हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, बैंकका प्रमुख वित्त अधिकृत दीपेन्द्रराज काफ्ले लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले नेपाल बैंकले अपाङ्गतामैत्री सेवासहित उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै क्षेत्रीय आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । हाल नेपाल बैंकले देशभर २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । आधुनिक प्रविधि, दक्ष जनशक्ति र छिटोछरितो सेवामार्फत बैंक प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको जनाएको छ ।
गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्डबाट सम्मानित
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड ‘कर्पोरेट बिजनेस अवार्ड एण्ड समिट २०२६’ मा ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित भएको छ । कर्पोरेट बिजनेस म्यागजिनद्वारा असार ४ गते काठमाडौंस्थित होटल र्याडिसनमा आयोजित अवार्डको अठारौं संस्करणमा बैंकले उक्त सम्मान प्राप्त गरेको हो । अवार्ड वितरण कार्यक्रममा विशेष अतिथि तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरी ढकालले बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा विभिन्न व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यस अवसरमा बैंकले आफ्नो सफलतामा योगदान पुर्याउने ग्राहक, सेयरधनी, नियामक निकाय तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ । यसअघि पनि बैंकले न्यू बिजनेस एज लिमिटेडद्वारा मे ८, २०२६ मा आयोजित ‘न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्ड’को दशौं संस्करणमा ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ अवार्ड प्राप्त गरेको थियो ।
११६ कम्पनीको सेयर मूल्य बढ्यो, ४ अर्बको कारोबार
काठमाडौं । शुक्रबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.६३ अंकले बढेर २७०२.११ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार ११६ कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको सेयर मूल्य घटेको छ । १७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । शुक्रबार ३५३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार ग्लोबल आइएमई बैंक लिमिटेड डिभेन्चर २०८६/८७ को भएको छ । ग्लोबल आइएमईको ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै सोपन फर्माको २० करोड, आँखु खोलको १९ करोड र युनाइटेड मोदीको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज एपोलो हाइड्रोको सेयर मूल्य १४.९९ प्रतिशत र सोपन फर्माको सेयर मूल्य १४.०२ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।