इन्फिनिटी लघुवित्तको ९औं साधारण सभा सम्पन्न, सञ्चालक समिति निर्विरोध निर्वाचित

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९औं वार्षिक साधारण सभा बुधबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोटस्थित सहमति संस्थान, विजय चोकमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विष्णु कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न साधारण सभामा कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले सभा सञ्चालन गर्दै उपस्थित सञ्चालक, अतिथि तथा सेयरधनीहरूलाई स्वागत गरेका थिए । सभाले आर्थिक वर्ष २०८१/८२ सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, मर्जर तथा एक्विजिसनसम्बन्धी प्रस्तावहरू पारित गरेको छ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरिएको छ। यसैगरी, निर्वाचन अधिकृत कृष्ण प्रसाद खनालका अनुसार आगामी कार्यकालका लागि विष्णु कुमार घिमिरे, रामकृष्ण डंगोल, रमेश कर्मचार्य तथा शशी तिमल्सिनालाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरिएको छ। सभाको अन्त्यमा उपस्थित सम्पूर्ण सञ्चालक, अतिथि तथा सेयरधनीहरूप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी संस्थाले दिएको छ।

प्रभु बैंकको साधारण सभा सम्पन्न, वित्तीय विवरण सर्वसम्मत पारित

काठमाडौं । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा बुधबार बबरमहलस्थित प्रधान कार्यालयमा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा बसेको सभाले विभिन्न प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ । सभाले सञ्चालक समितिको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू पारित गरेको छ । साथै, बैंकका सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको सोही आर्थिक वर्षको एकीकृत वित्तीय विवरण पनि पारित गरिएको छ । वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सबै प्रस्तावहरू सर्वसम्मत रूपमा अनुमोदन भएका हुन् । प्रभु बैंकले हाल देशभर ३१२ शाखा, ६८ एक्सटेन्सन काउन्टर र २६९ एटीएममार्फत ३७ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिसहित गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । साधारण सभाको अवसरमा बैंकले प्रगतिका लागि शुभकामना व्यक्त गर्ने सेयरधनी, सञ्चारकर्मी तथा सरोकारवाला सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

कामना सेवा विकास बैंकद्वारा लम्की मानव सेवा आश्रमलाई न्यानो सामग्री वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय लम्कीमार्फत कैलालीस्थित लम्की मानव सेवा आश्रममा आश्रित असहाय, बेसाहारा तथा संरक्षणविहीन वृद्ध–वृद्धा र टुहुरा बालबालिकालाई न्यानो सामग्री वितरण गरेको छ । बैंकका लम्की शाखा प्रमुख भिमराज जैसीले आश्रमका सञ्चालक विनोद थापालाई ब्लाङ्केट, म्याट्रेस, सिरक तथा चिसो मौसममा आवश्यक अन्य न्यानो सामग्री हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण गर्दै शाखा प्रमुख जैसीले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रमले लम्की मानव सेवा आश्रमलाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । यस अवसरमा आश्रमका सञ्चालक थापाले जाडोयाममा प्राप्त न्यानो सामग्रीले आश्रममा बसोबास गर्दै आएका बेसाहारा वृद्ध तथा बालबालिकाको जीवनमा न्यानोपन, सुरक्षा र आत्मबल थपिने उल्लेख गर्दै बैंकको मानवीय पहलप्रति आभार व्यक्त गरे । कार्यक्रममा बैंकका कर्मचारी, मानव सेवा आश्रमका प्रतिनिधि तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।