शुभ इन्टरनेशनलले ल्याउँदै आईपीओ, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी थालेको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत साधारण सेयर निष्काशन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो । यससम्बन्धी सम्झौतापत्रमा शुभ इन्टरनेशनल हस्पिटालिटीका अध्यक्ष कविन श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कार्यक्रममा कम्पनीका प्रतिनिधि विकास चौधरी र सञ्चालक प्रशान्त तातेडको पनि उपस्थिति थियो । शुभ इन्टरनेशनल हस्पिटालिटीले विराटनगरको धरान रोडस्थित अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल सञ्चालन गर्दै आएको छ । भारतको प्रतिष्ठित होटल व्यवस्थापन समूहसँगको व्यवस्थापन साझेदारीमा सञ्चालित उक्त होटल विराटनगरको पहिलो अन्तर्राष्ट्रिय ब्रान्डअन्तर्गत सञ्चालित पाँचतारे होटल रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार होटलले व्यावसायिक यात्रु, स्वदेशी तथा विदेशी पर्यटक, सम्मेलन, विवाह तथा अन्य विशेष कार्यक्रमलाई लक्षित गर्दै अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध गराइरहेको छ । आधुनिक सुविधा, अन्तर्राष्ट्रिय सेवा मापदण्ड र व्यावसायिक व्यवस्थापनमार्फत पूर्वी नेपालको पर्यटन, आर्थिक गतिविधि तथा आतिथ्य उद्योगको विकासमा योगदान पुर्‍याउने लक्ष्य कम्पनीको छ । कम्पनीले आगामी दिनमा क्यासिनो सञ्चालन गर्ने योजना पनि रहेको जनाएको छ ।

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तको मर्जर प्रस्ताव पारित

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारणसभाले तीनवटा लघुवित्तबीचको मर्जर सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।  मोरङको कटहरीस्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न साधारणसभाले अध्यक्ष बिक्रमराज सुवेदीद्वारा प्रस्तुत मर्जर सम्बन्धी प्रस्तावलाई पारित गरेको हो । गत चैत २८ गते मोरङमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त, बाँकेको कोहलपुरमा मुख्य कार्यालय रहेको युनिक नेपाल लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको थियो । यो सम्झौता लघुवित्त क्षेत्रमा भएको हालसम्मकै ठूलो सम्झौता हो । सोही सम्झौतालाई अनुमोदनका लागि जीवन विकासले विशेष साधारणसभा आह्वान गरेको थियो । विशेष साधारणसभाले संस्थाको नाम जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ र केन्द्रीय कार्यालय मोरङको कटहरी गाउँपालिका–२ मै रहने प्रस्ताव पनि पारित गरेको छ । मर्जरपछि युनिक नेपाल र मानुषी लघुवित्तको हालको केन्द्रीय कार्यालयलाई प्रादेशिक कार्यालयको रूपमा रूपान्तरण गरिनेछ । मर्जरपछि संस्थाको नेतृत्व जीवन विकास लघुवित्तका वर्तमान प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ । साधारणसभाले मर्जरका लागि सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन र हालसम्मका सम्पूर्ण कामकारबाहीलाई अनुमोदन गरेको छ । साधारणसभाले भविष्यमा अन्य लघुवित्तहरूसँग पनि मर्जर वा प्राप्तिको प्रक्रिया अघि बढाउन सक्ने गरी समितिलाई अधिकार प्रदान गरेको छ । हाल जीवन विकासको चुक्ता पुँजी १ अर्ब ७५ करोड १२ लाख ३२ हजार, युनिक नेपालको १४ करोड ८५ लाख ७५ हजार र मानुषी लघुवित्तको १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ । मर्जर पश्चात् संस्थाको कुल चुक्ता पुँजी १ अर्ब ९८ करोड ८४ लाख ४ हजार ३१२ रुपैयाँ पुग्नेछ । एकीकृत कारोबारपछि संस्थाको कार्यक्षेत्र कर्णाली प्रदेश बाहेक देशभर विस्तार हुनेछ । ६ वटा प्रदेशमा गरी संस्थाको शाखा संख्या २३३ पुग्ने साधारणसभामा जानकारी दिइयो । जीवन विकासले हाल ३१ जिल्लामा लघुवित्त सेवा प्रवाह गरिरहेको छ । युनिक नेपालले १० जिल्ला र मानुषीले १४ जिल्लामा वित्तीय सेवा प्रवाह गरिरहेको छ । मर्जरको सम्पूर्ण प्रक्रिया पूरा गरी २०८३ साल असार मसान्तभित्रै एकीकृत कारोबार सुरु गर्ने तयारी छ । बुधबारको साधारणसभामा संस्थाका सञ्चालक श्यामचन्द्र खतिवडा, प्रकाश कुमार श्रेष्ठ, इन्द्र नारायण देव वैश्य, गोकर्ण खतिवडा, अशोक सिटौला,डाक्टर वन्दना कुमारी जैन प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डललगायत संस्थाका सेयरसदस्यहरु उपस्थित रहेका थिए ।

सेयर बजारमा ४ अर्बको कारोबार, ३ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.४५ अंकले घटेर २६६० बिन्दुमा झरेको हो ।  नेप्सेका अनुसार ६२ कम्पनीको सेयर मूल्य बढ्दा २०२ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३३८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको छ । आँखु खोलाको २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै सोपन फर्माको १७ करोड, युनाइटेड मोदीको ११ करोड ८२ लाख, सप्तकोशी डेभलपमेन्टको ११ करोड ४ लाख र साहस ऊर्जाको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । टक्सार पिखुवा खोला र यम्बलिङ हाइड्रोको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । भुजुङ हाइड्रोको सेयर मूल्य १४.६९ प्रतिशतले बढेको छ ।