मल्टीपर्पस फाइनान्सको हकप्रद सेयर सूचीकृत
काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । संस्थाको आज (बैशाख १४ गते) मात्रै संस्थाको १७ लाख ५९ हजार ६२१ कित्रा हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो ।
सिंगटी हाइड्रोको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार हुने, मूल्य रेञ्ज कति ?
काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको १ करोड ४५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर बैशाख १४ गते मंगलबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर बुधबार (बैशाख १५ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल ‘एसएचईएल’ दिइएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता १०० रुपैयाँ र अधिकतम ३०० रुपैयाँ तोकेको छ । साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको त्रिपुरेश्वरस्थित मेगा क्यापिटल मार्केटस्लाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
९ महिनामै मेरो माइक्रोफाइनान्सको खुद नाफा २०९ प्रतिशतले बढ्यो, १३ अर्ब कर्जा लगानी गर्न सफल
काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो ९ महिनामै २०९.४१ प्रतिशतले खुद नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म ९ करोड ५८ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको संस्थाले चालु आवको सो अवधिमा २९ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको हो । समिक्षा अवधिमा संस्थाकाे खुद ब्याज आम्दानी ८१.८९ प्रतिशतले बढेर ५७ करोड १४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा २१८ प्रतिशतले बढेर ३८ करोड ७३ लाख रुपैयाँ पुगेको छ । हाल संस्थाको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । जगेडा कोषको रकम ६८ प्रतिशतले बढेर ४८ करोड १ लाख रुपैयाँ पुगेको छ । गत चैत मसान्तसम्म २ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले १२ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ५१.८१ र १३१.८५ प्रतिशतले बढी हो । संस्थाको निष्कृय कर्जा (एनपीएल) १.९ प्रतिशतबाट घटेर १.७ प्रतिशतमा पुगेको छ । त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी (वार्षिक) बढेर ३९.५३ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ पनि बढेर १४८ रुपैयाँ पुगेको छ ।