मनाङ मर्स्याङ्दी जलविद्युत निर्माणमा जुटे विदेशी लगानीकर्ता, कसको स्वामित्व कति ?

काठमाडौं । १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण तथा सञ्चालनको लागि विदेशी लगानीकर्ता भित्रिएका छन् । बुटवल पावर कम्पनीको पूर्ण स्वामित्वमा रहेका मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीले उक्त हाइड्रो सञ्चालनका लागि सेयर स्वामित्व हस्तान्तरण गरेर विदेशी लगानीकर्ता भित्राएको हो । उक्त आयोजनामा बुटवल पावर कम्पनीसहित विभिन्न ४ कम्पनीले लगानी गर्ने भएका छन् । यससँगै कम्पनीले ४ कम्पनीलाई सेयर स्वामित्व हस्तान्तरण गरेकाे छ । जसमध्ये बुटवल पावर कम्पनीको २२.४० प्रतिशत, एससीआईजी इन्टरनेशनलको ४९.४७ प्रतिशत, छिङ्गचेङ्ग इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनीको १६.४९ प्रतिशत र क्यूवाईसी इन्टरनेशनल कम्पनीको ११.६४ प्रतिशत सेयर स्वामित्व रहेको छ । मनाङ मर्स्याङ्दी हाइड्रो कम्पनीले मनाङको चामे र नासोङ गाउँपालिकास्थित मर्स्याङदी नदीमा १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजना निर्माण गर्न लागेको हो । यो योजनाको विद्युत खरिद बिक्री सम्झौता २०७७ चैत ९ गते भइसकेको छ । र, हाल वित्तीय व्यवस्थापन कार्यको प्रक्रियामा रहेको छ । उक्त काम छिट्टै सम्पन्न गरी निमार्ण काम शुरु गर्ने र सन् २०२५ को मार्च महिनाभित्र विद्युत उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

गुडविल फाइनान्सको बोनस सेयर सूचीकृत

काठमाडौं । गुडविल फाइनान्सको ८.४ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज(बैशाख १६ गते) बिहीबार मात्रै ६ लाख ७२ हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । यससँगै, फाइनान्सको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

सीईडीबी हाइड्रोको आईपीओ भोलिदेखि भर्न पाइने, आगामी वर्षमै लाभांश दिने प्रक्षेपण

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि (अर्थात बैशाख १७ गते) देखि प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । सो मध्ये कम्पनीले २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फण्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने छ । कम्पनीको साधारण सेयरको निष्काशन तथा बिक्रीको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले बैशाख १७ गतेदेखि सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् । उक्त सेयर निष्काशन बन्द छिटोमा बैशाख २१ गतेसम्म रहने छ । यस कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा ४.४० मेगावटको राधी विद्युत कम्पनी र ०.१८ मेगावटको स्यागे खोला जलविद्युत आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ । कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रकशन लिमिटेड, दोर्दी खोला जलविद्युत लिमिटेड तथा खारे खोला जलविद्युत कम्पनी गरी ३ वटा आयोजनाहरु निमार्ण भइरहेको छ । साथै कम्पनीको लगानी रहेको संखुवासभा मकालु गाउँपालिका-०२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ । कम्पनीले सन् २००९ मा स्थापना सीईडीबी हाइड्रोको चालु आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १३.०५ र प्रतिसेयर खुद सम्पत्ति १३८.७९ रहेको छ । कम्पनीले आ.व. २०७५/०७६ मा १०.५४ प्रतिशत र २०७६/०७७ मा ७.३७ प्रतिशत नगद लाभांश वितरण गर्न सफल रहेको छ भने कम्पनीले आगामी आर्थिक वर्षमा पनि लाभांश प्रदान गर्ने समेत प्रक्षेपण गरेको छ । साधारण सेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख रुपैयाँ छ । आईपीओ पश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख रुपैयाँ पुग्ने छन् ।