रु रु जलविद्युतको आईपीओ बाँडफाँड भोलि, कति बजे ?

काठमाडौं । रु रु जलविद्युत परियोजनाले हालै निष्काशन गरेको आईपीओ भोलि अर्थात बैशाख ३ गते बाँडफाँड हुने भएको छ । उक्त आईपीओ भोलि बिहान ८ः३० बजे नागपोखरीमा रहेको एनएमबी क्यापिटलमा बाँडफाँड हुन लागेको हो । कम्पनीले गत चैत २० गतेदेखि चैत २४ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो । जसमा अन्तिम दिनसम्म १६ लाख ६९ हजार ५६६ जना आवेदकले संस्थाको २ करोड ३३ लाख ७७ हजार २२० कित्ता सेयर माग गरेका थिए । जुन, कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा ६१.६५ गुणा बढी आवेदन हो । कम्पनीले सर्वसाधारणमा ४ लाख ७ हजार ७०६ कित्ता सेयरको बिक्री खुला गरेको थियाे । जसमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेकाे हाे । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गरेकाे हाे । संस्थाले स्थानियमा भने अंकित मूल्य १०० रुपैयाँमै सेयर बिक्री गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड ६१ लाख रुपैयाँ रहेको छ । आईपीओ निष्काशत तथा बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ४० करोड ७७ लाख रुपैयाँ नाघ्ने छ ।

उन्नति सहकार्य लघुवित्तको अध्यक्षमा डा.शाह नियुक्त, सञ्चालकमा ६ जना निर्वाचित

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा डा. अनिता ढुङ्गाना शाह नियुक्त भएकी छिन् । चैत ३१ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको अध्यक्ष पदमा डा. ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको हो । डा. ढुङ्गानालाई सोहि दिन सम्पन्न संस्थाको साधारणसभाले सञ्चालकमा निर्वाचित गरेको थियो । र, त्यसपछि बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै, संस्थाको सञ्चालक पदमा ६ जनालाई निर्वाचित भएका छन् । अध्यक्षसहित संस्थापक सेयरधनीको समूहबाट ४ जना, सर्वसाधारण समूहमा २ जना र स्वतन्त्र सञ्चालकमा १ गरी ७ जनाको सञ्चालक समिति बनेको छ । संस्थापक समूहबाट खड्ग बहादुर राना, खिलराज मैनाली, तुलसीराम खनालले प्रतिनिधित्व गर्ने छन् । त्यस्तै, सर्वसाधारण समूहबाट राजन तिवारी र यमकुमार खड्काले र स्वतन्त्र सञ्चालकमा भार्गव धितालले प्रतिनिधित्व गर्ने छन् । संस्थाको साधारण सभा रुपन्देहीको भरहवास्थित होटल पौवामा सम्पन्न भएको थियो ।

कुमारी क्यापिटलले ल्यायो अनलाईन डिम्याट खाता तथा लगानी मेला

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले नव बर्ष २०७८ को पावन अवसरमा लगानी मेला तथा अनलाइनबाट नै हितग्राही खाता खोल्न सकिने सेवा संचालनमा ल्याएको छ । जसबाट नयाँ तथा पुरानो लगानीकर्तालाई धितोपत्रमा लगानीको योजना, धितोपत्रमा पोर्टफोलियोको सन्तुलन तथा पुनः संरचना, सम्पत्ती व्यवस्थापन सम्बन्धि परामर्श र बजारीकरण रणनीति सम्बन्धि निशुल्क सेवा संचालनमा ल्याएको छ । साथै अनलाइन मार्फत हितग्राही खाता खोल्दा खल्ती डिजिटल वालेट प्रयोग गरि ५ प्रतिशत क्यास ब्याक पाउन सकिने छ । लगानी मेलाबाट यस संस्थाले सर्बसाधारण तथा संस्थालाई लगानीको उचित पहिचान गरी परामर्श सेवा प्रदान गर्नेछ । लगानीकर्ताहरुले यस संस्थाको लगानी विशेषज्ञहरुद्धारा परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनिकरण गरी लगानीको योजना बनाई धेरै भन्दा धेरै लाभ लिन सक्ने छन् । साथै, अनलाइन मार्फत हितग्राही खाता खोल्नका लागि यस क्यापिटलको वेबसाइटमा गई अनलाइन लिंकमा क्लिक गरि अनलाइन डिम्याटमा गई सम्पुर्ण आवश्यक विवरण प्रबिष्ट गरि हितग्राही खाताको लागि एकपटक नजिकैको कुमारी बैंकको शाखा कार्यालय वा कुमारी क्यापिटलमा आफ्नो सक्कल नागरिकता, नाबालकको हकमा सक्कल जन्म दर्ता तथा संरक्षकको सक्कल नागरिकता लिई समयमै सरल र छिटो तरिकाले आफ्नो हितग्राही खाता खोल्न सकिने छ । यस लगानी मेलामा परामर्श सेवा बैशाख महिना भरि निःशुल्क गरिएको छ । साथै, यस मेला मार्फत कुमारी क्यापिटल लिमिटेडको लगानी ब्यवस्थापन सेवामा आवद्ध हुने सम्पुर्ण लगानीकर्तालाई वार्षिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने छ । सार्वजनिक बिदाको दिन र शुक्रबार बाहेक प्रत्येक दिन कार्यालय समयमा यो मेला संचालन हुनेछ । यस लगानी मेलामा भर्चुअल माध्यमबाट पनि आवद्ध भई लाभ लिन सकिने छ । यो सेवा प्राप्त गर्नका लागि कुमारी क्यापिटल लिमिटेड नागपोखरी नक्साल स्थित कार्यालयमा सम्पर्क गरि अथवा निम्न फोनमा सम्पर्क तथा इमेल ठेगानामा इमेल गरि सहभागी हुन सकिने छ ।