अपर सोलु हाईड्रोले आईपीओ जारी गर्ने, अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड

काठमाडौं । अपर सोलु हाईड्रो इलेक्ट्रीक कम्पनीले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले स्थानिय र सर्वसाधारलाई गरी कूल ३३ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । उक्त परिमाणकाे अर्थात ३३ लाख ७ हजार ५ सय कित्ता सेयर निष्काशन गर्नकाे लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेकाे छ । कम्पनीले गत चैत १६ गते बोर्ड पुगेको हो । यससँगै, बोर्डको अनुमति पाए पश्चात कम्पनीले बिक्री प्रबन्धक एनएमबी क्यापिटलमार्फत सो मात्राको आईपीओ जारी गर्ने छ ।

लाभांश पारित गर्न रिलायन्स फाइनान्सले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुक क्लोज ?

काठमाडौं । रिलायन्स फाइनान्सले आगामी बैशाख २२ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले गत आर्थिक वर्षको लाभांश पारित गर्न आफ्नो ११औं वार्षिक साधारण सभा डाकेको हो । सो दिन बिहान ११ बजे लैनचौरस्थित लैनचौर बैंक्वेटमा हुन लागेको उक्त सभा भर्चुअल माध्यमबाट सञ्चालन गरिने संस्थाले जनाएको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । सभाले पारित गरेसँगै संस्थाले चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश पाउने छन् । साथै, सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीयसँग मर्जर अथवा एक्विजिशनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावलाई अनुमोदन गर्दै छ । सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी बैशाख १० गते बुक क्लोज गर्ने हो । यससँगै बैशाख ९ गतेसम्म कायम भएका सेयरधनीले संस्थाको प्रस्तावित लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ८३ करोड २४ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस वितरण पश्चात संस्थाको चुक्ता पुँजी ९१ करोड ५६ लाख रुपैयाँ नाघ्ने छ ।

तीन कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्सेञ्ज(नेप्से)मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज(चैत २३ गते) बरुण हाइड्रोपावर कम्पनी, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र ङादी ग्रुप पावरको एकैदिन बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये बरुण हाइड्रोपावरको ५ प्रतिशत बोनस अर्थात १ लाख २७ हजार ५७५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको ७.३७ प्रतिशत बोनस पछि ६ लाख १० हजार ९९८ कित्ता सेयर सूचीकृत भएको हो । ङादी ग्रुप पावरको १० प्रतिशत बोनस अर्थात ५ लाख ३५ हजार ५५४ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै यी तीन वटै कम्पनीको सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।