लाभांश पारित गर्न कालिका लघुवित्तले बोलायो सभा, सर्वसाधारणको स्वामित्व बढाउने प्रस्ताव
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले आगामी बैशाख ७ गते मंगलबार वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले सो दिन बिहान ८ बजे कास्कीको बुद्धचोकस्थित होटल टास्क इन्टरनेशनलको सभाहलमा आफ्नो दशौं र एघारौं वार्षिक साधारण सभा आव्हान गरेको हो । सभाले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, सभाले संस्थापक तथा सर्वसाधारण समूहको सेयर स्वामित्व परिवर्तन गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । सभाले संस्थापक समूहको सेयर स्वामित्व ६४.५२ प्रतिशतबाट ५४.५२ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व ३५.४८ प्रतिशतबाट बढाएर ४५.४८ प्रतिशत पुर्याउने प्रस्तावलाई पारित गर्ने भएको छ । सभामा जाने प्रयोजनको लागि संस्थाको चैत २२ गतेदेखि बैशाख ७ गतेसम्म बुक क्लोज हुने भएको छ ।
नागरिक लगानी कोषको संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म किन्न पाइन्छ ?
काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तर्गतको ४ लाख ६८ हजार ८ सय २८ कित्ता सेयर बिक्री गर्ने भएको छ । बैंकले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको न्यूनतम मूल्य १५००.५० रुपैयाँ तोकिएको छ । उक्त संस्थापक सेयर खरिद गर्न विद्यमान संस्थापकहरु वा व्यक्ति, कम्पनी, संघ, संस्थाहरु योग्य रहने बैंकले जनाएको छ । यस सेयरमा न्युनतम १०० कित्ताको लागि आवेदन दिन सकिने छ । इच्छुक विद्यमान संस्थापकहरु वा व्यक्ति, कम्पनी, संघ, संस्थाले चैत ३ गतेदेखि आगामी चैत १७ गतेसम्ममा आवेद दिन सक्ने छन् । उनीहरुले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।
सर्वोत्तम सिमेन्टको ३५ प्रतिशत लाभांश धितोपत्र बोर्डको ‘र्याडर’मा
काठमाडौं । सर्वोत्तम सिमेन्टले सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने भन्ने विषयलाई नेपाल धितोपत्र बोर्डले ‘र्याडर’मा राखेको छ । मंगलबार पत्रकारसँग भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपालल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बोर्डले कम्पनीकाे यस्तो गतिविधि नियाली रहेको बताएका हुन् । उनले नेप्सेमा सूचीकृत भएका तथा सूचीकृत हुने क्रममा रहेका कुनै पनि कम्पनीले सेयरधनीलाई यति प्रतिशत लाभांश वितरण गर्छौं भनेर प्रचारप्रसार गर्न नमिल्ने बताएका छन् । ‘कुनै पनि कम्पनीले हाम्रो क्षमता यति छ भन्न सक्छ तर ‘यो समयमा यति लाभांश दिन्छौं’ भन्न मिल्दैन ।’, उनले भने । नयाँ विधि बुक बिल्डिङ्ग मार्फत आईपीओ निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टले आईपीओ जारी गरेको ३ महिना भित्रमा नै २५ प्रतिशत नगद र १० प्रतिशत बोनस सहित ३५ प्रतिशत लाभांश दिने दाबी गरेको थियो । सो अवसरमा बोर्डको कार्यकारी निर्देशक निरज गिरीले सेयर बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षण गर्न आईपीओमा बुक बिल्डिङ विधि कार्यान्वयनमा ल्याएको बताए । यो व्यवस्थाले ‘रियल सेक्टर’का कम्पनीलाई वास्तविक मुल्यमा आईपीओ जारी गर्न सहयोग गर्ने उनको भनाइ छ । यो व्यवस्था कार्यान्वयनमा आएसँगै पुँजीबजारमा वित्तीय क्षेत्रको बाहुल्यता कम हुँदै वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षण गराउने उनले बताए । अहिले राष्ट्र बैंक वा बिमा समितिको नीति सामान्य परिवर्तन हुँदा पनि सेयर बजारमा ठूलो प्रभाव पर्ने गरेकामा वास्तविक क्षेत्रका कम्पनीको हिस्सा बढ्दै जाँदा त्यसले कम असर गर्ने जिकिर गरे । धितोपत्र निष्कासनको लागि गराएको रेटिङमा औसत भन्दा माथि अर्थात् औसत भन्दा कम जोखिम भएको चुक्ता पुँजीको डेढ गुणा बढी नेटवर्थ भएका र पछिल्लो ३ आर्थिक वर्षमा लगातार मुनाफामा गएका कम्पनीले मात्रै बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्नसक्ने जानकारी उनले दिए । उक्त विधिबाट आईपीओ निष्कासन गर्न सर्वसाधारण लगानीकर्तालाई जोखिम हुनसक्ने भन्दै कुल निष्कासन हुने धितोपत्रको ४० प्रतिशत अनिवार्य संस्थागत लगानीकर्तालाई बिक्री गर्नुपर्ने र बिक्री निष्काशन भएको ६ महिनासम्म संस्थागत लगानीर्ताले सेयर बिक्री गर्न नपाउने व्यवस्था गरिएको छ । साथै संस्थागत लगानीकर्ताका लागि तय भएको ‘कट अफ मुल्य’ को १० प्रतिशत कम मुल्यमा सर्वसाधारणलाई बिक्री गर्ने व्यवस्था गरिएको छ । पहिले अनिवार्य रुपमा २५ प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासन गर्नुपर्ने व्यवस्था रहेपनि बोर्ड केही समय अगाडि मात्रै चुक्ता पुँजीको १० प्रतिशत मात्रै प्रारम्भिक सार्वजनिक निष्कासन गर्नसक्ने व्यवस्था गरेको छ । सम्बन्धित समाचार नेपालको पुँजीबजार बैंक तथा वित्तीय संस्थाको मात्रै ऐना भएको छ- निरज गिरी सर्वोत्तम सिमेन्टको आईपीओमा लगानी गरेको तीन महिनामै ३५% लाभांश पाइने, मूल्य कति ?