रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ्ग मार्फत आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ्ग विधि मार्फत साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले नयाँ विधिबाट १४ लाख ६० हजार कित्ता सेयर जारी गर्न लागेको हो । उक्त सेयर निष्काशन गर्नको लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धि सम्झौतापत्रमा मिल्सको तर्फबाट सञ्चालक शशिकान्त अग्रवाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा रिलायन्स स्पिनिङ्ग मिल्सको मुख्य लगानीकर्ता रहेका कार्यकारी अध्यक्ष पवन गोल्यान र सञ्चालक अक्षय गोल्यानको उपस्थिति रहेको थियो । नेपालको सबैभन्दा ठूलो यो मिल्स वि.सं. २०५१ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भै सञ्चालनमा आएको हो । मिल्सले बुक बिल्डिङ्ग विधि मार्फत १४ लाख ६० हजार कित्ता सेयरमध्ये ४० प्रतिशत सेयर योग्य संस्थागत लगानीकर्ता र बाँकी ६० प्रतिशत सेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो । ४ हजार ३०० भन्दा धेरैे जनालाई रोजगार दिन सफल रहेको यस कम्पनीको औद्योगिक कारखाना सुनसरी जिल्लाको दुहबी र खनारमा रहेको छ भने उच्च प्रविधियुक्त स्पिनिङ्ग प्लान्ट र मेशिनरी जडान गरी कम्पनीले अन्र्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलेक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ । कम्पनीले उद्योगबाट उत्पादित वस्तुहरु विश्वबजार त्यसमा पनि खासगरी भारत र टर्कीमा ठूलो परिमाणमा निर्यात गर्ने गरेको छ ।
हकप्रद सेयर जारी गर्न अरुण हाइड्रोले पायो स्वीकृति, बुक क्लोज कहिले ?
काठमाडौं । अरुण हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ । कम्पनीले फागुन २५ गते धितोपत्र बोर्डबाट अनुमति पाएको हो । यससँगै कम्पनीले १ बराबर ०.५ प्रतिशतको अनुपातमा अर्थात ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ । उक्त सेयर निष्काशन गर्ने प्रयोजनको लागि संस्थाले आगामी चैत ९ गते एकदिन बुक क्लोज गर्ने निर्णय गरेको हो । उक्त निर्णय फागुन २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।
टेलिकमको सञ्चालकमा लगानीकर्ता पौडेलको उम्मेदवारी, लगानीकर्तालाई उचित प्रतिफल दिने प्रतिबद्धता
काठमाडौं । नेपाल टेलिकमको सञ्चालक पदमा लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् । पौडेलले टेलिकमको सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक पदमा उम्मेदवारी दिएका हुन् । आगामी चैत २३ गते हुने टेलिकमको वार्षिक साधारण सभाले कम्पनीकाे सर्वसाधारण सेयरधनीको तर्फबाट एक संचालक सदस्यको निर्वाचन गर्दै छ । पौडेल सेयर लगानीकर्ताको संस्था नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष पनि हुन् । उनले उक्त पदमा निवार्चित भएसँगै नेपाल टेलिकमलाई उत्कृष्ट सेवा प्रदायक, उत्कृष्ट नाफा गर्ने कम्पनी र लगानीकर्तालाई दिने प्रतिफलमा समेत अब्बल बनाउनको लागि समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता गरेका छन् । ‘नेपाल टेलिकममा मैले संचालकको रूपमा प्रतिनिधित्व गर्न सकेको अवस्थामा सो को व्यवस्थापन र सरकारी निकायहरुबाट प्रतिनिधित्व गर्ने संचालक बीच समन्वय कायम गर्दै मेरो लगानी सम्बन्धी ज्ञान अनुभव र बुद्धि विवेकको उच्चतम प्रयोग गरी नेपाल टेलिकमलाई उत्कृष्ट सेवा प्रदायक, उत्कृष्ट नाफा गर्ने कम्पनी र लगानीकर्तालाई दिने प्रतिफलमा समेत अब्बल बनाउनको लागि समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’, सामाजिक सञ्चालमार्फत लगानीकर्ता पाैडेलले बताए । ‘टेलिकममा नेपाल सरकार ९१.४९ प्रतिशत, सर्वसाधारण सेयरधनीहरु र कर्मचारीहरुको ८.४८ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत स्वामित्व रहेको कम्पनी हो । १५ अर्ब चुक्ता पूँजी भएको यो कम्पनीको असार मसान्त सम्मको सञ्चित मुनाफा ७८ अर्ब भन्दा बढी रहेको छ भने स्थिर सम्पत्तिको हिसावले सबैभन्दा धनी कम्पनी हो । नेपाल टेलिकमले आफ्नो पुँजी र सञ्चित मुनाफा र स्थिर सम्पत्तिलाई सहि किसिमले परिचालन गर्न सकेको खण्डमा सरकारलाई सबैभन्दा बढी राजश्व दिने, कर्मचारीलाई सबैभन्दा बढी बाेनस दिने र लगानीकर्तालाई सबैभन्दा बढी प्रतिफल दिने र पुँजीबजारको सबैभन्दा उत्कृष्ट सुचिकृत कम्पनी हुन सक्ने छ’, उनले बताए । नेपाल टेलिकमले आगामी चैत १३ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा तेह्रौं वार्षिक साधारणसभा बोलाएको हो । सम्बन्धित समाचार नेपाल टेलिकमले डाक्यो वार्षिक साधारणसभा, ४० प्रतिशत नगद लाभांश पारित गर्ने