टीएमएसमा रजिष्ट्रेसन गर्दा समस्या आएमा के गर्ने ? यस्तो छ नेप्सेको सुझाव
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले अनलाइन ट्रेडिङ सिस्टम सञ्चालनमा ल्याएपछि त्यसमा लगानीकर्ताले विभिन्न समस्या भोग्दै आएका छन् । ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)मा रजिष्ट्रेसन गर्दा नै विभिन्न समस्या आउने गरेको भन्दै उनीहरुले नेप्सेमा गुनासो गरेका हुन् । उनीहरुको गुनासो तथा जिज्ञासालाई सम्बोधन गर्दै नेप्सेले केही सुझावहरु दिएको छ । अनलाइन सिस्टमको बारेमा लगानीकर्ताले गर्ने विभिन्न जिज्ञासामध्ये नेप्सेले तीमध्ये दोहोरिने किसिमका जिज्ञासालाई सम्बोधन गरेको हो । टीएमएसमा रजिष्ट्रेशन प्रकृया पुरा भइसकेपछि इमेल प्राप्त भएन भने के गर्ने ? यदि, ब्रोकरले तपाईंको खाता खोलेको हो भने, टीएमएसमा तपाईंको सही इमेल प्रविष्टि भएको छ वा छैन ब्रोकर मार्फत यकिन गर्नुपर्ने छ । यदि तपाई आफैले अनलाइन रजिष्ट्रेसन मार्फत खाता खोल्नु भएको अवस्थामा पनि इमेल नआएमा ब्रोकरसंग नै सम्पर्क गरी आवश्यक सल्लाह लिनुपर्ने छ । सिस्टमले रिप्लाइ गरेको इमेल कहिलेकहीं ‘स्पाम’ मा बस्ने गरेको हुँदा इमेलको स्प्याम सेक्सनमामा पनि चेक गर्नुपर्ने छ । टीएमएसमा रजिष्ट्रेशन गर्दा ‘दुप्लिकेट बीओआईडी‘ इरर आएमा के गर्ने ? टीएमएसमा रजिष्ट्रेशन गर्दा ‘दुप्लिकेट बीओआईडी’ इरर आएमा लगानीकर्ता आफुले खाता खोल्न चाहेको ब्रोकरलाई ईमेल गर्नुपर्ने छ । ईमेल गर्दा उनीहरूले बीओआईडी/डीम्याट नम्बर र क्लाइन्ट काेड काे विवरण राख्नु पर्ने नेप्सेले जनाएकाे छ । टीएमएसमा नागरिकता नम्बर, नागरिकता जारी गरेकाे मिति वा नागरिकता जारीकाे जिल्ला नमिलेमा वा ‘दुप्लिकेट नागरिकता’ इरर आएमा के गर्ने ? टीएमएसमा रजिष्ट्रेशन गर्दा माथि उल्लेखित समस्या आएमा लगानीकर्ताले आफ्नो ब्रोकरलाई तल दिईएका विवरण राखी ईमेल गर्नुपर्छ । जसमा उनीहरूले बीओआईडी/डीम्याट नम्बर, क्लाइन्ट काेड, सहि नागरिकता नम्बर, सहि नागरिकता जारी गरिएकाे मिति र स्थान उल्लेख गरी इमेल गर्नुपर्ने नेप्सेले जानकारी दिएकाे छ । सपाेर्टमा सम्पर्क गर्दा के के विवरण चाहिन्छ ? सपाेर्टमा सम्पर्क गर्दा बीओआईडी/डीम्याट नम्बर, क्लाइन्ट काेड र ब्राेकरकाे नाम र नम्बर सहि हुनुपर्छ ।
बजार पुँजीकरणले नाघ्यो ३४ खर्ब ६ अर्ब, सात महिनामै ९० प्रतिशतले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा बजार पुँजीकरण ९० प्रतिशतले बढेको छ । गत असार मसान्तको तुलनामा माघ मसान्तसम्मको बजार पुँजीकरण ८९.९९ प्रतिशतले बढेर ३४ खर्ब ६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । जबकी २०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, एक वर्षको अवधिमा नेप्से परिसूचक ८७.७३ प्रतिशतले बढेको छ । २०७६ माघ मसान्तमा १३४६ रहेको नेप्से परिसूचक २०७७ माघ मसान्तमा बढेर २५२६.९ बिन्दुमा पुगेको छ । २०७७ माघमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २१६ रहेको छ । सूचीकृत कम्पनीमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो । सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७२.१ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ६.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा ०.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १६.२ प्रतिशत रहेको छ ।
ग्रीन लाइफ हाइड्रोको आईपीओ सूचीकृत, मंगलबारदेखि कारोबार हुने
काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावरको १ करोड ८० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर चैत २ गते नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर भोलि अर्थात (चैत ३ गते) मंगलबार देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल जीएलएच दिइएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ९९.६७ रुपैयाँ र अधिकतम २९९.०१ रुपैयाँ तोकेको छ । साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको पुतलीसडकस्थित सानिमा क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।