सिंगटी हाइड्रोको सेयर रजिष्ट्रारमा मेगा क्यापिटल नियुक्त, आईपीओ बाँडफाँड कहिले ?

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न गर्नको निमित्त सेयर रजिष्ट्रारको रुपमा मेगा क्यापिटल मार्केट्स नियुक्त भएको छ । जसमा सिंगटी हाइड्रो इर्नर्जी तथा मेगा क्यापिटल मार्केट्सबीच आज (फागुन १३ गते) बिहीबारको दिन द्विपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतामा सिंगटी हाइड्रो इर्नर्जीको तर्फबाट कार्यकारी सञ्चालक गणेश कार्की र मेगा क्यापिटल मार्केट्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । हाल सिंगटी हाइड्रो इर्नर्जी लिमिटेडको प्राथमिक शेयरको निमित्त निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा समेत मेगा क्यापिटल मार्केट्सले कार्य गर्दै आइरहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित्त निष्काशन खुल्ला गरिएको प्राथमिक सेयरको बाँडफाँड फागुन १७ गते सोमबारको दिन गर्ने योजना रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित्त निष्काशन खुल्ला गरिएको प्राथमिक सेयरको बाँडफाँडको कार्यक्रम सम्पन्न भएपछि सर्वसाधारणको निमित्त सार्वजनिक निष्काशन खुल्ला गरिनेछ ।

एकैदिन तीन बैंकसहित एक लघुवित्तको बोनस सेयर सूचीकृत, सबैभन्दा बढी कृषि विकासको

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एकैदिन चार वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज (फागुन १३ गते) तीन वटा वाणिज्य बैंक र एक लघुवित्तको गरी ४ कम्पनीको बोनस सेयर नेप्सेमा थपिएको हो । बोनस सेयर सूचीकृत हुनेमा कृषि विकास बैंक, मेगा बैंक नेपाल, स्ट्याण्डार्ड चाटर्ड बैंक र ग्लोबल आईएमई लघुवित्त रहेको छन् । जसमध्ये कृषि विकास बैंकको १५ प्रतिशत अर्थात एक करोड ४३ लाख ३४ हजार ६९१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, मेगा बैंक नेपालको एक करोड ३३ लाख २२ हजार ६९५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । त्यसैगरी, स्ट्यार्डड चाटर्ड बैंकको पनि ७ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । बैंकको ५६ लाख ८ हजार एक कित्ता बोनस सेयर दोश्रो बजारमा सूचीकृत भएको हो । त्यस्तै, लघुवित्त अन्तर्गतको ग्लोबल आईएमई लघुवित्तको २७.४७ प्रतिशत अर्थात ७ हजार १३ लाख ९१ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै, यी चारवटै कम्पनीको बोनस सेयर सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुने छ । त्यसपछि मात्रै दोश्रो बजारमा किनबेचको लागि योग्य हुन्छ ।

विकासन्युज समाचार प्रभावः डिम्याट खाता दुरुपयोग रोकियो, अब कसरी हेर्ने आईपीओ रिजल्ट?

काठमाडौं । अबदेखि साधारण सेयर (आईपीओ) रिजल्ट छिट्टै दिने नाममा सर्वसाधारणको डिम्याट खाता दुरुपयोग रोकिने भएको छ । अहिलेसम्म आईपीओ रिजल्टका नाममा सेयर लगानीसँग कुनै साइनो सम्बन्ध नै नभएका विभिन्न वेबसाइटहरुलाई डिम्याट खाता दिएर दुरुपयोग गर्ने गरिइएको थियो । विभिन्न वेबसाइटहरुले आईपीओको रिजल्ट सार्वजनिक गर्दै आएकोले सिडिएस एण्ड क्यिरिङ (सीडीएससी) ले अबदेखि त्यस्ता वेबसाइटलाई आईपीओ रिजल्ट प्रकाशित गर्नमा रोक लगाएको हो । अहिलेसम्म आईपीओ जारी हुँदाको समयमा इस्यू म्यानेजरले आईपीओ भर्ने सबैको डिम्याट खाता नम्बर अनधिकृत वेबसाइटहरुलाई दिँदै आएका थिए । सरोकार नै नभएका संस्थालाई आईपीओको रिजल्ट उपलब्ध गराउनु गैरकानुनी हो, यसलाई रोक्नुपर्छ भन्दै विकासन्युजले गत माघ १७ गते ‘भिष्म सर ! तपाईंलाई निफ्राको आईपीओ कति कित्ता पर्‍यो ?’ शीर्षकमा विषय उठान गरेको थियो । त्यसपछि यो विषयमा अधिकांशको ध्यान गई सम्बन्धित नियामक निकायले समेत यसलाई प्राथमिकतामा राखेर नयाँ व्यवस्था गरेको हो । सेयर लगानीसँग साइनो सम्बन्ध नै नभएका विभिन्न वेबसाइटहरुलाई आईपीओको रिजल्ट दिने नाममा सर्वसाधारणको डिम्याट खाता दिँदा लगानीकर्ताको सम्पत्तिको सुरक्षा नहुने भएकोले अबदेखि त्यस्ता वेबसाइटले डिम्याट खाता नपाउने र रिजल्ट प्रकाशन गर्न नपाउने व्यवस्था गरिएको सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आर्चायले बताए । डाटाको सेक्यिुरीटी गर्ने जिम्मेवारी सीडीएससीको हो । र, कानुनले पनि नियामक निकायबाट माग गरेभन्दा बाहेकलाई डिम्याट नम्बर दिन नमिल्ने भन्ने तोकिएकाले असम्बन्धित वेबसाइटलाई त्यस्ता खाता उपलब्ध गराउने कार्य बन्द गरिएको उनी बताउँछन् । ‘डिम्याट नम्बर गोप्य हुनुपर्छ । सम्पत्तिको सुरक्षा भएन भनेर लगानीकर्ताबाट व्यापक गुनासो आएकोले हामीले यो व्यवस्था लागू गरेका हौं । अहिलेलाई अब तीन वटा निकायबाट मात्रै आईपीओको रिजल्ट हेर्न पाउने व्यवस्था गरेका छौं । जसमा एउटा सेयर निष्काशन गर्ने कम्पनी, दोश्रो, कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक र अर्काे, सीडीएससीले मात्रै आईपीओको रिजल्ट प्रकाशन गर्न पाउने छन् । र, लगानीकर्ताले यी तीनवटा माध्यमबाट मात्रै रिजल्ट हेर्न पाउने छन्, विकासन्युजसँग कुरा गर्दै सीईओ आर्चायले भने । साथै, यो नयाँ व्यवस्था भोलिदेखि नै लागू हुने छ । ‘हामीले गरेको नयाँ व्यवस्था भोलि (फागुन १४ गते) देखि नै लागू हुने छ । भोलि महिला लघुवित्तको आईपीओ बाँडफाँड गर्न लागेको एसबीआई मर्चेन्ट र संस्था दुबैलाई निर्देशन दिईसकेका छौं’, उनले भने । यससँगै, भोलि बाँडफाँड हुने महिला लघुवित्तको आईपीओको रिजल्ट लगानीकर्ताले महिला लघुवित्त, बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट र सीडीएससी अर्थात ‘मेरो सेयर’बाट मात्रै हेर्न पाउने छन् । साथै, आगामी दिनमा सीडीएससी कै सिष्टमको क्लाउडबाट हेर्न मिल्ने व्यवस्था गर्ने तयारीमा सीडीएससी छ । ‘हामीले योभन्दा पृथक खालको सिस्टम बनाउँदै छौं । यो गुगलको क्लाउडमा राखेपछि जति मान्छेले एक्सेस गर्दा पनि ह्याङ अर्थात समस्या नआउने गरी व्यवस्था गर्न छलफल शुरु गरेका छौं । तत्काल होइन । प्रकृया अघि बढ्दै छ । कार्यान्वयनमा आउन केही समय लाग्छ’, उनले भने । सम्बन्धित सामग्री ‘भिष्म सर ! तपाईंलाई निफ्राको आईपीओ कति कित्ता पर्‍यो ? ‘