ग्रीनलाइफ हाइड्रोको आईपीओ बाँडफाँड कहिले ?
काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरले निष्काशन गरेको साधारण सेयर (आईपीओ)को बाँडफाँड आगामी शुक्रबार (फागुन ७ गते) हुने भएको छ । आईपीओ सो दिन बिहानै फर्ष्ट आवरमा बाँडफाँड गरिने तयारीको साथ काम भइरहेको बिक्री प्रबन्धक बिओके क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओको प्रि-अलोटमेन्ट भइसकेको र बाँडफाँडको अनुमतिको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा पठाइएको क्यापिटलले जानकारी गराएको छ । कम्पनीले गत माघ २३ गतेदेखि माघ २७ गतेसम्म सर्वसाधारणमा सेयर बिक्री खुला गरेको थियो । क्यापिटलले दिएको तथ्यांक अनुसार अन्तिम दिन साँझ ५ बजेसम्ममा १३ लाख ३७ हजार ९४२ जना आवेदकले २ करोड ३९ लाख ७६ हजार ६०० कित्ता सेयर माग गरेका थिए । जुन सर्वसाधारणमा माग गरेको भन्दा ७.३७ गुणा बढी हो । कम्पनीले सर्वसाधारणमा ३२ लाख ५१ हजार ६५२ कित्ता माग गरेको थियो । कम्पनीले सर्वसाधारणमा ३४ लाख ९६ हजार ४०० कित्ता सेयरको निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानिय बासिन्दाका लागि जारी गरी बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता सेयर साधारण सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने ६९ हजार ९२८ कित्ता सेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको छ । र, बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि इच्छुक सर्वसाधारणमा निष्काशन गरिएको थियो । हाल कम्पनीको अधिकृत पुँजी २ अर्ब ५० करोड रुपैयाँ, जारी पुँजी १ अर्ब ८० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ। आयोजना प्रभावित क्षेत्रमा बासिन्दाका लागि निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ३ लाख ६० हजार रुपैयाँ पुगेको छ । र, सर्वसाधारण तथा कर्मचारीहरुको लागि छुट्ट्याइएको सबै सेयर निष्काशन भएपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपेयाँ नाघ्ने छ ।
सेयर जस्तै गरी जग्गा जमिन कारोबार गर्ने ‘भूमि बजार’ निजी क्षेत्रले पनि संचालन गर्न पाउने
काठमाडौं । जग्गा जमिनको खरिद विक्रीलाई औपचारिक प्रणालीभित्र ल्याउनको लागि स्थापना गर्न लागिएको ‘भूमि बजार’ निजी क्षेत्र पनि संचालन गर्न पाउने भएका छन् । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश भए अनुसार भूमि बजार स्थापनाको लागि सरकारले समिति बनाएर अध्ययन गराएको र सो अध्ययनले सेयरको कारोबार हुने जस्तै गरी जग्गा जमिनको कारोबार हुने बजार स्थापना गर्न सुझाव दिएको छ । अध्ययन समितिले दिएको सुझावका आधारमा भूमि बजार स्थापना कसरी गर्ने, कारोबार गर्दा अपनाउनु पर्ने विधि, प्रक्रिया के कस्ता हुने, कार्यविधि र प्रक्रिया कस्ता अपनाउने भन्ने जस्ता विषयमा अहिले छलफल चलिरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जकराज जोशीले जानकारी दिए । ‘जग्गा जमिनको कारोबार औपचारिक प्रणालीमा ल्याउनको लागि भूमि बजार स्थापना गर्नुपर्ने सुझाव अध्ययन समितिले दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ, त्यस्तो बजार सरकार आफैले, सरकार तथा निजी क्षेत्रको साझेदारीमा वा निजी क्षेत्रलाई मात्रै पनि दिन सकिने सुझाव आएको छ, यसमा कसरी अघि बढ्ने भन्ने निर्णय हुन बाँकी छ, हामी छलफल गर्दैछौं,’ प्रवक्ता जोशीले विकासन्युजसँग भने । घरजग्गा खरिद विक्रीको सम्पूर्ण नियन्त्रण अनौपचारिक क्षेत्रमा रहेकोले औपचारिक क्षेत्रमा ल्याउन भूमि बजारको अवधारणा अघि सारिएको उनको भनाई छ । सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै परेको सो योजना कार्यान्वयन गर्नको लागि समिति गठन गरेर अध्ययन भएको थियो । ‘अहिले कसैलाई जग्गा चाहियो वा विक्री गर्नुपर्यो भने अनौपचारिक क्षेत्रमा जानुको विकल्प छैन, आवश्यक परेर जग्गा विक्री गर्दा कौडीको भाउमा बेच्नुपर्ने र किन्नुपर्दा असाध्यै महंगोमा पर्ने अवस्था छ, यसका लागि सेयरको खरिद विक्री गर्ने स्टक मार्केट जस्तै भूमि बजार स्थापना गर्ने सरकारको सोच हो, त्यसलाई कसरी कार्यान्वयन गर्ने, अन्तराष्ट्रिय अभ्यास के कस्तो रहेछ भनेर हामीले टिओआर निर्माण गरी एउटा समिति नै बनाएका थियौं,’ प्रवक्ता जोशीले भने । अध्ययनको लागि मन्त्रालयले विज्ञसमेत सहभागी भएको समिति गठन गरेको हो । समितिले अन्य देशमा जग्गा जमिनको खरिद विक्री कसरी व्यवस्थित गरिएको रहेछ, नेपालमा अनौपचारिक क्षेत्रको नियन्त्रणमा रहेको यस्तो व्यवसायलाई कसरी औपचारिक क्षेत्रमा ल्याउन सकिन्छ भन्ने लगायतका विषयमा सरकारलाई सुझाव दिनेछ । मन्त्रालयका अनुसार सरकारले घर जग्गा खरिद विक्री गर्न चाहनेले अनलाइन मार्फत खरिद विक्री गर्न सकिने व्यवस्था गर्न लागेको हो । कसैलाई घरजग्गा विक्री गर्नु परेमा आफ्नो जग्गाको विस्तृत विवरणसहित सो वेबसाइटमा राख्ने र खरिद गर्नेले सोही वेबसाइट मार्फत सेयर जस्तै गरी खुल्ला प्रतिस्पर्धाबाट खरिद गर्ने व्यवस्था मिलाउन लागिएको छ । सम्बन्धित समाचार सेयर जस्तै गरी घरजग्गा किनबेच गर्ने केन्द्र स्थापना गर्दै सरकार
आशा लघुवित्तको कर्जा जोखिम व्यवस्थापन तालिम सम्पन्न
काठमाडाैं । आशा लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने कर्जा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । फागुन २ र ३ गते बोडे भक्तपुरमा आयोजित तालिम कार्यक्रममा देशभर संचालित ५५ वटा शाखा कार्यालयहरुमा कार्यरत ५५ जना फिल्ड कर्मचारीहरुको सहभागीता रहेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले उद्घाटन गरेका कार्यक्रममा वहाले तालिम कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै यस प्रकारका कार्यक्रमहरुले कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गरे । कार्यक्रममा जोखिम ब्यवस्थापन सम्बन्धी तालिम भोजराज बश्याललेतथा सकारात्मक सोच, उत्प्रेरणा सम्बन्धी राजबहादुर गिरीले प्रशिक्षण दिएका थिए । साथै, उक्त कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु बिजेन्द्र चौधरी, रबिन खतिवडा, दिपेन्द्र खनाल, रामकृष्ण न्यौपाने तथा सुशिल पौडेलले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धमा प्रस्तुति गरे भने जिवसनधामी ले सुचनाप्रविधी सम्बन्धी तालिम प्रदान गरेका थिए । नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘बिपन्नका निम्ति आशा’ भन्ने मुल नाराका साथ ककनी-६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म यस वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ६१ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब ३ अर्ब ३५ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट १ अर्ब १० करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।