युनाईटेड इदी-मर्दीले दोश्रो चरणमा आईपीओ जारी गर्दै, कार्तिक २७ गतेदेखि भर्न पाइने

काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आरवि हाईड्रोपावरले दोश्रो चरणमा प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । हालैमात्र कास्की जिल्लाका स्थानीय बासिन्दालाई पहिलो चरणमा निष्काशन गरी बाँडफाँड गरेको कम्पनीले अब दोश्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । हाईड्रोले आगामी कार्तिक २७ गतेबाट ८ लाख ७३ हजार ९१० कित्ता सेयर निष्काशन गर्न लागेको हो । यससँगै सेयरधनीले आगामी कार्तिक २७ गतेदेखि कम्पनीकाे सेयर भर्न पाउने भएका छन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि चुक्ता पुँजीको १० प्रतिशतले हुने ४ लाख २० हजार कित्ता सेयर छुट्याएको थियो । जसमध्ये एक लाख ७६ हजार ९० कित्ता सेयर बाँडफाँड गर्दा २ लाख ४६ हजार ९१० कित्ता सेयर बाँकी रहेको छ । त्यसैले सर्वसाधारणको लागि छुट्याएको ६ लाख ३० हजार कित्ता सेयरमा उक्त बिक्री नभएको २ लाख ४६ हजार ९१० कित्ता सेयर गरी कूल ८ लाख ७३ हजार ९१० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये सामूहिक लगानी कोषमा ४३ हजार ६९६ कित्ता सेयर बाँडफाँड गरेपश्चात ८ लाख १२ हजार ७३६ कित्ता सेयर बाँकी रहेको छ । र, कर्मचारीहरुको लागि १७ हजार ४७८ कित्ता सेयर सुरक्षित गरिएको कम्पनीले जनाएको छ । यससँगै इच्छुक सेयरधनीले आगामी कार्तिक २७ गतेदेखि मंसिर ३ गतेसम्म उक्त सेयरमा आवेदन दिन सक्नेछन् । यदि सो अवधिसम्ममा कम्पनीको माग अनुसारको बिक्री नभए सेयरधनीले ढिलोमा मंसिर ११ गतेसम्म आवेदन दिन सक्ने सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी गराएको छ । क्यापिटलका अनुसार इच्छुकले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन् । उक्त सेयर निष्काशनको लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर खुद सम्पत्ति ८५.८२ रुपैयाँ र प्रतिसेयर प्रतिसेयर आम्दानी (१२.९७) रुपैयाँ अर्थात ऋणात्मक रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः ९७.६९ रुपैयाँ र ८.३३ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ । सम्बन्धित समाचारः युनाईटेड ईदी-मर्दीको पहिलाे चरणकाे आईपीओ बाँडफाँड, आवेदन गर्ने सबैले पाए सेयर  

तिनाउँ मिसन डेभलपमेन्ट बैंकले डाक्यो विशेष साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । तिनाउँ मिसन डेभलपमेन्ट बैंकले आगामी मंसिर ७ गते विशेष साधारणसभा आव्हान गरेको छ । उक्त सभो सो दिन दिउँसो १ बजे रुपन्देहीको बुटवलमा रहेको संस्थाको केन्द्रिय कार्यालयको सभाहलमा भिडियो कन्फ्रेरेन्सबाट हुने भएको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट सेयर संरचना परिवर्तनको लागि स्वीकृत भएको साथै बोनस सेयर वितरण पश्चात सेयर संरचना परिवर्तन भएकाले उक्त सभा आव्हन गरेको हो । बैंकको संस्थापक सेयर सर्वसाधारणमा परिणत भई आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गरिएको १२ प्रतिशत बोनस पश्चात र साविकको नेपाल कम्यूनिटि डेभलपमेण्ट बैंकलाई प्राप्ति पछि संस्थापकतर्फ ६३.३३ प्रतिशत र सर्वसाधारण तर्फ ३६.६७ प्रतिशत सेयर स्वामित्व कायम भएकोले नेपाल राष्ट्र बैंकले सेयर संरचना परिवर्तन गर्न निर्देशन दिएकाले प्रबन्धपत्र संशोधनको गर्नका लागि विशेष साधारण सभा आह्वान गरेको हो । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी कार्तिक २६ गते एक दिन बुक क्लोज हुने भएको छ । यससँगै कार्तिक २५ गतेसम्म कायम सेयरधनीले उक्त सभामा भाग लिन पाउने छन् ।

किसान बहुउद्देश्यीय सहकारीको रजतजयन्ती सम्पन्न, अध्यक्ष शाह चाँदीको सिक्कासहित सम्मानित

काठमाडौं । किसान बहुउद्देश्यीय सहकारी संस्थाको २५औं वार्षिकोत्सव एवं रजतजयन्ती सम्पन्न भएको छ । उक्त कार्यक्रम संस्थाले एक औपचारिक समारोहबीच आज(कार्तिक १७ गते) आफ्नो केन्द्रिय कार्यालय लम्कीमा सम्पन्न गरेको हो । रजतजयन्तीको अवसर पारेर संस्थाले सञ्चालमा ल्याएको माटो परिक्षण प्रयोगशालाको उद्घाटन समेत सम्पन्न भएको छ । समारोहका प्रमूख अतिथी एवं न.पा प्रमूख महादेव बजगाईले रिबन काटेर प्रयोगशालाको उद्घाटन गरेका हुन् । समाराेहमा बोल्दै प्रमूख बजगाईले सुदुरपश्चिममा निजी क्षेत्रले सञ्चालनमा ल्याएको पहिलो प्रयोगशाला भएको बताएका छन् । उक्त समारोहमा समुदायमा उत्कृष्ट प्रेरणादायी कार्य गर्ने ३ जनालाई संस्थाका अध्यक्षले जनही ११ हजार १११ रुपैयाँसहित सम्मानित गरेका छन् । यसरी सम्मानित हुनेमा परोपकारी अभियन्ताका रुपमा, बर्दगोरीया गा.पा.२ मा मानसिक सन्तुलन ठिक नभएर वेवारिसे जिवन बिताईरहेका बेसाहराहरुको लागि सहाराघर सञ्चालक बल बहादुर बिष्ट, कृषि अभियन्ताका रुपमा ईजायरबाट अध्ययन अवलोकनगरी फर्केर १५ विगाह जमिन भाडामा लिई खाद्यान्न, तरकारी एवं फुलखेतीमा अग्रसर बर्दगोरीया गा.पा.२ का नविन जोशी र युवा अभियन्ताका रुपमा स्वच्छता अभियान एवं मानविय सहायतामा सक्रिय लम्कीचुहा न.पा.–३ का युवा के.पी.खनाल रहेका छन् । समारोहमा संस्थाका संस्थापक अध्यक्ष ईन्द्र कुमार शाहलाई २५ तोला चाँदीको सिक्का सहित सम्मान गरिएको छ । यसैगरी संस्थाले रजतजयन्तीको अवसर पारेर आयोजना गरेको ‘महिला सशक्तिकरणमा सहकारीको भूमिका’ विषयक जिल्लाव्यापी खुला निबन्ध लेखन प्रतियोगिताका प्रथम, द्वितिय र तृतिय हुनेलाई पुरस्कार वितरण गरेको छ । पुरस्कृत हुनमा प्रथम स्थान हाँसिल गर्न सफल टीकापुरका कुबेर प्रसाद तिमिल्सिना, द्वितिय हुने लम्कीका पुजा शाह र तृतिय हुने टीकापुरका दिक्षा तिमिल्सिना रहेका छन् । समारोहका विशिष्ठ अतिथी लम्कीचुहा न.पा. वडा नं १ का वडाध्यक्ष जनक बमले प्रथम, द्वितिय र तृतियलाई क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार रुपैयाँ नगद सहित प्रशंसा पत्र प्रदान गरेका छन् । उक्त समारोहमा संस्थाको अन्तरशाखा स्तरिय वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गरेका छन् । यसरी पुरस्कृत हुनेमा लम्की शाखाका अमर राज भण्डारी प्रथम, टीकापुर शाखाका रिता बजगाई दास्रो, हसुलिया शाखाका अर्जुन रिमाल तेस्रो र सुख्खड शाखाका दिपेन्द्र बटाला सान्तवना रहेका छन् । विजेताहरुका लागि पुरस्कार राशी क्रमशः नगद १० हजार रुपैयाँ, ७ हजार रुपैयाँ र ३ हजार रुपैयाँ रहेको छ । यस अघि रजतजयन्ती लाई लक्षित गरि संस्थाले ‘कोभिड १९ को विषम परिस्थितीमा संस्थाको सेवा प्रवाह एवं व्यवसाय विस्तारमा कर्मचारीको भूमीका’ विषयक अन्तर शाखा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो । वि.सं.२०५२ साल कार्तिक १७ गते १ शाखा, १ कर्मचारी र ३६ हजार ६ सय रुपैयाँ सेयर पुँजीबाट सञ्चालन भएको संस्था रजतजयन्तीसम्म आईपुग्दा २१ शाखा, १७८ कर्मचारी र १३ करोड रुपैयाँ सेयर पुँजी रहेको छ । गत आथिर्क वर्षमा संस्थाले ८ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा गरेको छ भने सदस्यहरुका लागि कुल कर्जा लगाानी २ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । त्यसैगरी, कुल निक्षेप २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । संस्थाले हाल २१ शाखा सहित १ एकिकृत कृषफर्म, १ मलखाद बिक्री केन्द्र र १ माटो परिक्षण प्रयोगशाला सञ्चालन गरिरहेको छ ।