नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रस्तावित ८ अर्बको आईपीओ पारित
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रस्तावित ८ अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर(आईपीओ) पारित भएको छ । आज अर्थात मंसिर ३ गते बुधबार सम्पन्न बैंकको दोस्रो वार्षिक साधारण सभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै, कम्पनीले जारी पुँजीको ४० प्रतिशतले हुन आउने ८ करोड कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने छ । साथै, सभाले आर्थिक वर्ष २०७६/७७ कोे सञ्चालक समितिको प्रतिवेदन र उक्त अवधिको वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको छ । नेपालकै पहिलो र एकमात्र पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको यस बैंकको साधारण सभा बैंककै रजिष्टर्ड कार्यालय काठमाडौंको बानेश्वरमा अनलाईन मार्फत भएको थियो । मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको यस बैंकले आ.व. २०७६/७७ मा जलविद्युत, सीमेन्ट क्लिङ्कराइजेशन एवं सौर्य उर्जा समेत ५ वटा परियोजनाहरुमा ६ अर्ब रुपैयाँ कर्जा स्वीकृत गरी ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, चालु आ.व. मा ३ वटा परियोजनाहरुमा २ अर्ब ८५ करोड रुपैयाँको थप कर्जा स्वीकृत गर्दै हालसम्म जम्मा ८ अर्ब ८५ करोड रुपैयाँ बरबरको कर्जा स्वीकृत गरेको छ ।
महुली र नव किरण मर्जपश्चात मंसिर ८ गतेदेखि एकीकृत कारोबार
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था र नव किरण लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज पश्चात आगामी मंसिर ८ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । कार्तिक २८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो दिनदेखि एकीकृत कारोबार शुरु गर्ने निर्णय गरेको हो । यससँगै महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट मंसिर ८ गते सोमबारदेखि एकीकृत कारोबार हुने छ । एक आपसमा मर्जको लागि यी दुई संस्थाले गत कार्तिक १९ गते नै नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृत पाएका थिए ।
हिमालयन डिष्टिलरीको खुद नाफा ९२ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी १२९ रुपैयाँ बढी
काठमाडौं । हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ९२ प्रतिशतले बढी हो । कम्पनीले गत आव २०७६/७७को पहिलो त्रैमासमा ९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी बढेर ६२ करोड ३३ लाख रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिमा ४० करोड ६१ लाख रुपैयाँ रहेको थियो । कम्पनीको अन्य सञ्चालन आम्दानी बढेर १ करोड ९२ लाख र सञ्चालन मुनाफा बढेर २६ करोड ४८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानीमा बढेर १२९.६३ रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १०१.१९ रुपैयाँ मात्र थियो । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ घटेर २४९.१४ रुपैयाँमा सीमित छ । ५७ करोड ८४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ८६ करोड २७ लाख रुपैयाँ सञ्चित छ ।