सुरु भयो मार्जिन कारोबार, ब्रोकर र लगानीकर्ताले ब्याजदर तोक्न सक्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको बाटो खुला गरिदिएको छ । बोर्डले शुक्रबार परिपत्र जारी गर्दै मार्जिन कारोबारको बाटो खोलिदिएको हो । अब ब्रोकर कम्पनी र लगानीकर्ताबीचको सहमतिका आधारमा ब्याजदर तय गरेर मार्जिन कारोबार गर्न सकिनेछ । त्यस्तो मार्जिन कारोबारको ब्याजदरबारे बोर्ड र नेप्सेलाई जानकारी भने गराउनुपर्नेछ । बोर्डले नेप्सेलाई मार्जिन कारोबारबारे पर्याप्त प्रचार प्रसार गर्न पनि निर्देशन दिएको छ । साथै त्यस्तो कारोबारको सक्ष्म निगरानी गर्न पनि बोर्डले नेप्सेलाई निर्देशन दिएको छ । मार्जिन कारोबारको ब्याजदरमा अनावश्यक उताचढाव आएमा धितोपत्र बोर्डले आवश्यक हस्तक्षेप गर्न सक्ने व्यवस्था पनि बोर्डले गरेको छ । बोर्डले मार्जिन कारोबार सम्बन्धी आफ्नो निर्णयबारे नेपाल राष्ट्र बैंकलाई जानकारी समेत पठाएको छ । राष्ट्र बैंकको स्वीकृतिपछि मार्जिन कारोबार आरम्भ हुने धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले विकासन्युजलाई जानकारी दिए । ‘हामीले मार्जिन कारोबारको काम सम्पन्न गरेका छौं, राष्ट्र बैंकले स्वीकृति दिने वित्तिकै मार्जिन कारोबार आरम्भ हुन्छ’, बोर्डका प्रवक्ता गिरीले भने । उनले मार्जिन कारोबार आरम्भ भएपछि त्यसको नियमन र दिगोपनको चुनौती भने रहेको बताए । धितोपत्र बोर्डले २०७४ कात्तिक २० गते मार्जिन कारोवार सुविधा सम्वन्धी निर्देशन, २०७४ जारी गरेको थियो भने नेपाल स्टक एक्सचेञ्जले २०७५ बैशाख १०९ गते “मार्जिन कारोवार सुविधा सम्बन्धी कार्यविधि, २०७५” ल्याएको थियो ।

मेरो फाइनान्सले हकप्रद शेयर जारी गर्ने

काठमाडौँ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले हाल कायम जारी तथा चुक्ता पूँजी ३२ करोड ८९ लाखको १०० प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको छैठौँ वार्षिक साधारण सभाको निर्णय बमोजिम हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले जनाएका छन् ।

नेशनल माइक्रो फाइनान्सद्धारा नयाँ कर्मचारीलाई अभिमुखिकरण

काठमाडौं । नेशनल माइक्रो फाइनान्स वित्तिय संस्थाले नयाँ कर्मचारीहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । २ दिनसम्म धादिङबेसीमा भएको उक्त कार्यक्रमको उदघाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले नव प्रवेशी ४४ जना कर्मचारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । अभिमुखिकरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव, जनशक्ति विभाग प्रमुख विजय घिमिरे, आन्तरिक लेखापरिक्षण विभाग प्रमुखका श्रीराम भट्टराई, संचालन विभाग प्रमुख सिताराम पंडित र लेखा विभाग प्रमुख रोशन बुर्लाकोटी विभिन्न शिर्षकहरु संस्थाको निती नियम, समुह निमार्ण तथा कर्जा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, उत्प्रेरणा गर्ने तरिका, संस्थाबाट प्रवाह गरिने सेवा तथा सुविधाहरुको साथै अन्य विषयहरुमा प्रशिक्षण प्रदान गरेका थिए । चालु आर्थिक वर्षको २०७५ पुष मसान्तसम्ममा हिमाल, पहाड र तराईका गरी ५० वटा शाखा कार्यालयहरु मार्फत सातै वटा प्रदेशका ३७ वटा जिल्लाका ७० हजार भन्दा वढी विपन्न परिवारमा पहुँच पुगेको छ । हाल संस्थाको लगानीमा रहेको कर्जा २ अर्व ९१ करोड र बचत रु. ९८ करोड भन्दा वढी सदस्यहरुवाट संकलन गर्दै आएको छ ।