२१ प्रतिशत बोनस सेयर दिने समीट लघुवित्तको घोषणा

काठमाडौँ । समीट लघुवित्त वित्तीय संस्थाले २१ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले आव २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको २१ करोडको २१.०९ प्रतिशतले हुन आउने ४ करोड ४३ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको हो । राष्ट्र बैंकको स्वीकृति र संस्थाको वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र बोनस सेयर वितरण हुने कार्यकारी प्रमुख देबेन्द्रबहादुर बस्नेतले जनाएका छन् ।

अठार हजारभन्दा बढी पर्यटकले गरे कोशीटप्पुको अवलोकन

इनरुवा । अर्नाका लागि प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेका कोशीटप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा १८ हजार ७७३ जना पर्यटकले अवलोकन गरेका छन् । सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको कोशी टप्पुमा आर्थिक वर्ष २०७५÷७६ मा सो सङ्ख्यामा पर्यटकले अवलोकन गरेको आरक्षका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताएका छन् । गत आर्थिक वर्षमा आरक्षमा १८ हजार ३८५ नेपाली, ३६ सार्क मुलुकका र ३५२ विदेशी गरी कूल १८ हजार ७७३ पर्यटकले आरक्षको अवलोकन गरेको उनले जानकारी दिएका हुन् । आरक्षमा सबैभन्दा बढी कात्तिक महिनामा पर्यटकले अवलोकन गरेका छन् भने सबैभन्दा कम फागुन महिनामा पर्यटक आएको आरक्षको तथ्याङ्कले देखाएको छ । आरक्षमा कात्तिकमा दुई हजार सात सय चार जना पर्यटक आएका थिए । तीमध्ये दुई हजार ६६२ नेपाली, सात सार्क मुलुकका र ३५ जना विदेशी रहेका छन् । त्यस्तै फागुनमा महिनामा ८९६ जना पर्यटक आएको छ । तीमध्ये ८२९ नेपाली, तीन सार्क मुलुकका र ६४ जना विदेशी रहेका छन् । आरक्षमा विभिन्न किसिमका चराचुरुङ्गी, पुतली, अर्ना, हात्तीमा सवार गर्नका लागि पर्यटक आएको आरक्ष प्रशासनले जनाएको छ । रासस

लाभांश घोषणाको ६ महिनापछि सीआईटीले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौँ । लाभांश घोषणाको ६ महिनापछि नागरिक लगानी कोष(सीआईटी)को २४ औँ वार्षिक साधारण सभा भदौ ३० गते हुने भएको छ । सञ्चालक समितिको बैठकले कार्की ब्याङ्केट बबरमहलमा बिहान ११ः३० बजे साधारण सभा गर्ने निर्णय गरेको हो । वार्षिक साधारण सभा प्रयोजनका लागि कोषको सेयरधनी दर्ता पुस्तिका सेयर दाखिला खारेज कार्य(बुक क्लोज) भदौ १९ गते एक दिन बन्द हुने जनाएको छ । सेयरधनी पुस्तिका बन्द भएको अघिल्लो दिन भदौ १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई नियमानुसार दाखिला खारेजका लागि प्राप्त सेयरधनी सहित कायम रहेका सेयरधनीहरु साधारण सभामा सहभागी हुन पाउने छन् । साधारण सभाले कोषको आव २०७४/७५ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याइएको प्रस्तावित २२ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गर्नेछ । कम्पनी सञ्चालक समितिको बैठकले २०७५ फागुन २९ गते नै बोनस सेयर दिने घोषणा गरेको थियो ।