शेयर बजार बढाउन भरत रानाभाटको दुई टिप्स
काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष भरत रानाभाटले अहिलेको अवस्थामा शेयर बजार सुुधार गर्न दुईओटा विषय अपरिहार्य रहेको बताएका छन् । उनले अहिलेको अवस्थामा बजार घटिरहनुको कारण लगानीकर्ताको कन्फिडेन्स भएको भन्दै बजारमा सुधार ल्याउन लगानीकर्ताको बजारप्रतिको विश्वास बढाउनुपर्ने र त्यसका लागि सरकारले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई बजारबाट शेयर किन्न लगाउनुपर्ने र पत्रकारहरुले सकारात्मक समाचार प्रवाह गर्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजको वार्षिकोत्सव र साधारणसभामा बोल्दै रानाभाटले भने – ‘अर्थमन्त्री यहीँ हुनुहुन्छ, अहिलेको अवस्थामा शेयर बजारलाई सुधार गर्न नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषलाई बजारबाट केही शेयर किन्न भनिदिनुस्, यसो भयो भने बजारमा सकारात्मक कन्फिडेन्स आउँछ ।’ उनले पुँजीबजारसँग सम्बन्धित समाचार लेख्ने पत्रकारहरुलाई पनि विश्वसनीय समाचार सम्प्रेषण गर्न आग्रह गरे । ‘तपाईँहरुले लेखेको समाचारले बजारलाई प्रभाव पार्छ, यसलाई बुझेर विश्वसनीय ढंगबाट समाचार लेख्नुभयो भने लगानीकर्ताहरुले बजारप्रति विश्वास गर्छन् ।’ उनले भने । रानाभाटले नयाँ सरकार गठन भएपछि अर्थमन्त्रीले पुँजी बजार सुधारका लागि उल्लेख्य काम गरेको भन्दे अर्थमन्त्रीलाई धन्यवाद दिए । उनले भने – ‘अर्थमन्त्रीज्यूले भ्याटको समस्या समाधान गरिदिनुभयो, अरु पनि धेरै सुधारका काम गर्नुभयो ।’
चन्द्रसिंह साउदको गुनासो- ‘सुबिसुमा आगो लाग्दा समेत नेप्सेलाई दोष दिए’
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेपाल स्टक एक्सचेञ्जको सिस्टमका बारेमा अनाश्यक होहल्ला र टिकाटिप्पणी हुने गरेको गुनासो गरेका छन् । उनले नेप्सेको सिस्टम सञ्चालनका लागि विभिन्न पक्षहरु एकैपटक जिम्मेवार रहने गरेको भन्दै तर जुनसुकै समस्यामा पनि नेप्सेलाई दोष दिने गरेको भन्दै आर्थिक पत्रकारहरुसँग दुखेसो समेत पोखे । ‘अस्ति सुविसुमा आगो लाग्दा इन्टरनेट चल्न छाडेछ तर साथीहरुले नेप्सेको सिस्टम बिग्रियो भन्ने हल्ला गरेछन् ।’ उनले पत्रकारहरुले समेत सोही हल्लाको पछि लागेर समाचार लेख्ने गरेको भन्दै वास्तविक समस्या के रहेछ भन्ने पत्ता लगाएर मात्रै समाचार लेख्न आग्रह समेत गरे । ‘अनलाइन ट्रेडिङ सुरु भएपछि अनलाइनमा समस्या आयो भन्दै कति पत्रकारले मलाई फोन गरे, यहाँ भएका कम्तीमा पनि ३० प्रतिशत पत्रकारलाई म आफैंले स्पष्टिकरण दिएको छु, तर तपाईँ आफैंले चलाएर हेरेको हो भन्दा होइन फलानोले भनेको भन्नुहुन्छ, म तपाईँहरुलाई कम्तीमा समस्या कहाँनिर रहेछ बुझेर मात्रै समाचार लेख्न आग्रह गर्छु’ साउदले भने । उनले अहिले नेपालीहरुको वित्तीय साक्षरताको अवस्था त्यति सबल भइनसकेको भन्दै अन्तराष्ट्रिय स्तरको प्रणाली भित्र्याउने हो भने त्यसलाई धेरै नेपालीहरुले चलाउनै नसक्ने दाबी समेत गरे ।
नेशनल लाइफले घोषणा गर्यो १४.५ प्रतिशत लाभांश, कर पनि तिरिदिने
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १४.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७४७५ को नाफाबाट नेशनलले १२ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस शेयर सहित उक्त परिमाणमा लाभांश दिने घोषणा गरेको हो उक्त लाभांशमा कर प्रयोजनको लागि लाग्ने रकम समेत कम्पनीले ब्यहोर्नेछ । नेशनल लाइफको बिहीबार बसेको सञ्चालक समिति बैठकले त्यस्तो निर्णय गरेको कम्पनीले जनाएको छ । यो बनेनस बीमा समितिको स्वीकृति र वार्षिक साधारणसभाको अनुमोदनपश्चात् लागु हुने पनि कम्पनीले स्पष्ठ पारेको छ ।