एनआईसी एशिया फण्डमा आवेदन दिने विहीबार अन्तिम दिन
काठमाडौँ । एनआइसी एशिया म्युचुअल फण्डले साउन ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एनआईसी एशिया फण्डमा आवेदन दिने विहीबार अन्तिम दिन हो । यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड ५० लाख इकाई निष्काशन तथा बिक्री खुला गरेको छ । एनआईसी एशिया बैंक कोष प्रबद्र्धक र एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस योजनाको अवधि १० वर्षको रहेको छ । लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम २ करोड ७५ लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।
एभरेष्ट बैंक र नेशनल प्याब्शनबीच साझेदारी
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड(इबीएल)ले नेशनल प्राइभेट एण्ड बोर्डिङ स्कुल एशोसियशन नेपाल (नेशनल प्याब्शन) सँग सम्बन्ध विकास र विस्तार गरेको छ । इबीएलका सेवाहरु नेशनल प्याब्शनको सदस्य स्कूलहरुमा प्रवद्र्धन गर्ने साझेदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार, नेशनल प्याब्शनले सदस्य स्कुलहरुमा एभरेष्ट बैंक लिमिटेडको उत्पादन र सेवाहरु प्रवद्र्धन गर्न सहयोग पुर्याउने उल्लेख छ । ईबीएलले पनि नेशनल प्याब्शनको जिल्ला शाखाको सिफारिसमा नेशनल प्याबशनको सदस्य स्कुलहरुलाई (१०.६२% (बेस रेट २.५०%) आरओआईमा एसएमई ऋण दिने सहमति जनाएको छ ।
युनाईटेड फाइनान्स र एनबीआईबीच सम्झौता
काठमाडौँ । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि.(एनबीआई) र युनाईटेड फाईनान्स लि.बीच भदौ ४ गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार एनबीआईले युनाईटेड फाईनान्स लि.का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । उक्त सम्झौता पत्रमा युनाईटेड फाईनान्स लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।