५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, ७ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ अंकले घटेर २६४९ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ४५ कम्पनीको सेयर मूल्य बढ्दा २११ कम्पनीको मूल्य घटेको छ । १ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३४२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै जोशी हाइड्रोको २१ करोड ८१ लाख, गी्रन भेन्चरको २१ करोड ३५ लाख, एनआरएन इन्फ्राइस्ट्रक्चरको २१ करोड र नेपाल लाइफको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टीलरी, निफ्रा ग्रीन इनर्जी, स्वस्तीक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रीटेकको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । आइतबारको कारोबारमा अधिकांश समूहका सूचक घटेका छन् । उत्पादन तथा प्रशोधन ०.७३ प्रतिशतले बढेको छ । बैंकिङ १.०८, विकास बैंक १.०९, फाइनान्स ०.८३, होटल तथा पर्यटन ०.२९, हाइड्रोपावर १.३१, लगानी १.४८, जीवन बीमा १.२० प्रतिशतले घटेका छन् । त्यस्तै माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा ०.६९, अन्य १.०४ र व्यापार ०.५१ प्रतिशतले घटेका छन् ।
भेटायो र हिमालयन एभरेस्टबीच सहकार्य, सेवा प्रदायकका लागि दुर्घटना बीमा सुरु
काठमाडौं । होम–आधारित सेवा प्लेटफर्म भेटायो इंक प्रालिले विशेषज्ञ फ्रील्यान्स सेवा प्रदायकहरूको सुरक्षा र हितलाई प्राथमिकता दिँदै हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडसँग सहकार्य गरेको छ । यस साझेदारीमार्फत भेटायोले एपमार्फत सेवा प्रदान गर्ने सबै पेशेवरका लागि दुर्घटना बीमा सुविधा सुरु गरेको छ । कम्पनीका अनुसार यो पहलले ग्राहकलाई सेवाका लागि जाने प्रत्येक प्रदायकलाई अतिरिक्त सुरक्षा प्रदान गर्नुका साथै भेटायोको कार्यबलप्रतिको जिम्मेवारी र प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ । भेटायोका सह–संस्थापक रोचन मान महर्जनले भने, 'हामीले सेवा विस्तारका यात्रामा हाम्रो आधारस्तम्भका रूपमा सेवा प्रदायकलाई राखेका छौँ । दुर्घटना बीमा उपलब्ध गराएर उनीहरू सुरक्षित महसुस गरून् र आफ्नो पेशागत यात्रामा अझ उत्साहित रहून् भन्ने हाम्रो चाहना हो ।' यो सहकार्यले भेटायोका सेवा प्रदायकहरूको आत्मविश्वास मात्रै बढाउने छैन, सेवा क्षेत्रमै नयाँ मापदण्ड पनि स्थापित गर्ने भेटायोको अपेक्षा छ । जहाँ कामदारको सुरक्षा, सम्मान र कल्याणलाई प्राथमिकता दिइन्छ। भेटायोले हिमालयन एभरेस्ट इन्स्योरेन्सको समर्थनका लागि कृतज्ञता व्यक्त गर्दै दुवै संस्थाको उद्देश्य नेपालमा जिम्मेवार, विश्वासिलो र प्रयोगकर्ता–केन्द्रित सेवा वातावरण निर्माण गर्नु रहेको जनाएको छ। भेटायो एपमार्फत हाल ग्राहकहरूले १५ भन्दा बढी सेवाहरू जस्तै प्लम्बिङ, इलेक्ट्रिकल, पेस्ट कन्ट्रोल, घर सरसफाइ लगायतका सेवा विश्वसनीय, छिटो र पारदर्शी रूपमा प्राप्त गर्न सक्छन् ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले सेयरधनीलाई ६.४० प्रतिशत लाभांश दिने
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समिति मङ्सिर ९ गते बसेको बैठकले हाल कायम १ अर्ब रुपैयाँ चुक्ता पुँजीको आधारमा ६.४० प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव पारित गरेको हो । उक्त प्रस्ताव अनुसार सेयरधनीलाई वितरण हुने कुल लाभांश रकम ६ करोड ४० लाख रुपैयाँ हुनेछ । कम्पनीले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभा बाट अनुमोदन भएपछि मात्र सेयरधनीमा वितरण गर्ने जनाएको छ ।