सूर्यज्योति लाइफ इन्स्योरेन्स एनसीएचएलमा आबद्ध, डिजिटल भुक्तानी प्रणाली लागू
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को डिजिटल भुक्तानी प्रणालीमार्फत आफ्ना भुक्तानी कारोबार सञ्चालन गर्ने व्यवस्था लागू गरेको छ। यस सम्बन्धी सम्झौतापत्रमा सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौतापछि सूर्यज्योति इन्स्योरेन्सको आन्तरिक प्रणाली एनसीएचएलको ‘नेशनल पेमेन्ट इन्टरफेससँग जोडिनेछ। यसमार्फत कम्पनीले विभिन्न डिजिटल भुक्तानी उपकरण प्रयोग गरेर सेवा प्रदान गर्न सक्नेछन् । अब सूर्यज्योतिले प्रिमियम संकलन, एजेन्ट कमिशन, कर्मचारी तलब, सेवा प्रदायक भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष लगायतका कारोबार सोझै लाभग्राहीको बैंक खातामा गर्न सक्नेछ। भविष्यमा अन्य भुक्तानी सुविधा पनि क्रमिक रूपमा थपिने जनाइएको छ । यस प्रणालीमार्फत सदस्य संस्थाहरूले एनसीएचएल–आइपिएस र आरपिएस प्रणालीको प्रयोग गरी सजिलो, सुरक्षित र डिजिटल माध्यमबाट भुक्तानी कारोबार गर्न सक्नेछन् । नेपाल क्लियरिङ्ग हाउससँगको यो सहकार्यले सूर्यज्योति लाइफ इन्स्योरेन्सको डिजिटल रूपान्तरण अभियानमा उल्लेखनीय टेवा पुग्ने विश्वास गरिएको छ ।
नेपाल चिकित्सक सहकारी खारेज हुँदै, महानगरपालिकाले निकाल्यो अन्तिम सूचना
काठमाडौं । सबैले सबै काम जाँदैनन् । चिकित्सकहरु विरामीको उपचार गर्न निपूर्ण हुन्छन् । अरु काममा हात हाल्दा उपलब्धि असफलता नै हो । सहकारी सञ्चालन गर्दा चिकित्सकलाई यस्तै असफलता हात मिलेको छ । चिकित्सकहरुको अगुवाई र व्यवस्थापनमा खुलेको नेपाल चिकित्सक श्रमिक सहकारी संस्था लिमिटेड असफल भएको छ । उक्त संस्था खारेजी प्रक्रियामा अगाडि बढेको काठमाडौं महानगरपालिकाले जनाएको छ । २०७७ सालमा स्थापना भई सञ्चालनमा आएको उक्त सहकारी संस्था ५ वर्ष पूरा नहुँदै खारेजी प्रक्रियामा गएको हो । सहकारीको दुई तिहाई सदस्यले संस्था खारेजीको माग गर्दै गत चैत्र १ गते महानगरपालिकामा निवेदन दिएका छन् । कानुनी प्रक्रिया पूरा गरी उक्त सहकारी संस्था खारेज गर्न लागिएको महानगरपलिकाले जनाएको छ । पलिकाले सहकारी संस्थासँग कुनै लेनदेन भए माग दावी गर्न १५ समय दिएर अन्तिम सूचना पनि सार्वजनिक गरेको छ ।
विकासन्युजमा नयाँ सिरिज ‘रेमिट्यान्सको संसार’ आउँदै
काडमाडौं । नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्स तथा वैदेशिक रोजगारसम्बन्धी नयाँ सिरिज (कार्यक्रम) विकासन्युजमा प्रसारण हुने भएको छ । यो कार्यक्रम वैदेशिक रोजगारीका अवसर र चुनौती उजागर गर्दै रेमिट्यान्सलाई अझ प्रभावकारी रूपमा परिचालन गर्ने उपाय पहिल्याउने प्रयास हो । ‘रेमिट्यान्सको संसार’ विकासन्युज डटकमको अफिसियल युट्युब च्यानल विकासन्युजमा बैशाख १९ गतेदेखि हरेक शुक्रबार बेलुकी ८ बजे प्रसारण हुनेछ । नेपालबाट लाखौँ श्रमिक विदेशिने गरेका छन् । यसले नेपालको आर्थिक र सामाजिक क्षेत्रमा व्यापक परिवर्तन ल्याइरहेको छ । त्यस्तै, यसका आफ्नै असर पनि छन् । शृङ्खलामा नेपालबाट बहुसङ्ख्यक श्रमिक जाने प्रमुख गन्तव्यको श्रम नीति, त्यहाँका कामदारको अवस्था, त्यहाँ नेपालीले पाउने पारिश्रमिक र सुविधा तथा श्रमिकले भोग्ने चुनौतीसम्बन्धी तथ्य र तथ्याङ्क प्रस्तुत गरिएको छ । रेमिट्यान्सले लाखौँ नेपालीको जीवनशैलीमा परिवर्तन ल्याएको छ । विदेशमा श्रम गरेर कमाएको आम्दानीले एकातिर परिवारका आवश्यकता र अर्कातिर देशको आर्थिक वृद्धिमा योगदान गरेको छ । तर पनि रेमिट्यान्सको प्रभाव आर्थिक पक्षमा मात्र सीमित छैन, यसले सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि असर पारिरहेको छ । रेमिट्यान्सको संसार कार्यक्रममा यिनै विषयमा केन्द्रित हुनेछ । सही सीप विकास, अवसरको सदुपयोग र परिश्रम नै श्रमबजारमा सफलताका आधार मानिन्छन् । रेमिट्यान्सको संसार कार्यक्रममा रेमिट्यान्सभित्रको सकारात्मक र नकारात्मक प्रभावबारे विश्लेषण गरिनेछ । प्रवासी नेपालीको योगदान अझ प्रभावकारी बनाउन, रेमिट्यान्सको सही सदुपयोग गर्न र भविष्य सुरक्षित बनाउने सवालमा कार्यक्रम केन्द्रित हुनेछ । साथै, बैदेशिक रोजगारीमा जाने सोचमा रहेका युवा पुस्तालाई गन्तव्य मुलक र नेपालको नीतिबारे महत्वपूर्ण जानकारी दिइनेछ । विशेष कारण शुरू मिति एक सातापछि सारिएकाे-सम्पादक