दुई लघुवित्तले घोषणा गरे लाभांश, कुनको कति ?
काठमाडौं । चालु आर्थिक वर्षमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । जसमध्ये लगानीकर्ताहरुले चासोका रुपमा हेरिरहेको लघुवित्त संस्थाहरुले पनि लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत लघुवित्त संस्थाहरुमध्ये हालसम्म दुई वटा लघुवित्तले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । आरएसडिसी लघुवित्त र युनिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । युनिक लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै, आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ८६ करोड ९५ लाख ६८ हजार २ सय रुपैयाँको ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद गरी कूल ९.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुले प्राप्त गर्ने छन् ।
इन्फिनिटी लघुवित्तले १ लाख कित्ता सेयर बेच्दै
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न संस्थापकको स्वामित्वमा रहेको करिब १ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । केही संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न आवेदन पेश गरेकाले ९९ हजार ३७२ कित्ता सेयर बिक्रीमा राखिएको लघुवित्त संस्थाले जनाएको छ । लघुवित्तले उक्त सेयरको मूल्य प्रचलित नियमानुसार हुने बताएको छ । लघुवित्तको सेयर सर्वसाधारण जोकोही लगानीकर्ताले खरिद गर्न सक्ने छन् । यसअघि संस्थापक सेयरधनीहरुलाई मात्रै बिक्री गरिएकोमा आंशिक मात्रै बिक्री भएको लघुवित्तले जनाएको छ ।
अब सबै बैंकको मोबाइल बैंकिङ्गबाट नेपालपेको क्यूआर स्क्यान गर्न सकिने
काठमाडौं । अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ्ग एपबाट नेपाल पेको क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । ग्राहकहरूले अब जुनसुकै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङ प्रयोग गरी नेपालपे क्यूआर स्क्यान गरी मर्चेन्टलाई भुक्तानी गर्न सक्ने भएका हुन् । त्यसैगरी अधिकांश विकास बैंकहरु, फाइनान्स कम्पनीहरू, वालेटहरू र कनेक्ट आईपीएस मोबाइल एपबाट पनि नेपालपे क्यूआर स्क्यान गरी मर्चेन्टलाई तुरुन्तै भुक्तानी गर्न सकिन्छ । नेपालपे क्यूआरबाट भुक्तानी गर्न मोबाइल बैंकिङ्ग वा वालेटको प्रयोगकर्ताले क्यूआर स्क्यान गर्न अप्सनमा गई नेपालपे लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ । नेपालक्यूआरमा अन्तरआबद्धता कायम गर्न यस उपलब्धीलाई एक महत्वपूर्ण कोशेढुङ्गाको रुपमा लिइएको छ र यसबाट क्यूआर भुक्तानीमा वृद्धि हुने पनि अपेक्षा गरिएको छ । नेपालपे क्यूआर नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल-क्युआर स्ट्याण्डर्डको पूर्वधार हो, क्यूआर स्कीमको रुपमा समेत पनि उपलब्ध रहेको उक्त नेपालपे क्यूआरमा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआवद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले मर्चेन्ट लेभलमा एग्रिगेटेड क्यूआर पनि उपलब्ध गराइरहेका छन् र हालै नेपालपे क्यूआर र स्मार्ट क्यूआरबीच नेटवर्क स्तरको अन्तरआबद्धता कायम भइसकेको छ । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपालपे क्यूआरमा करिब ४ लाख मर्चेन्टहरु आवद्ध गरिसकेका छन् । मर्चेन्ट र व्यवसायीहरुले नेपालपे क्यूआरमा आबद्ध भई ग्राहकहरुबाट क्यूआर मार्फत भुक्तानी प्राप्त गर्नका लागि आफ्नो सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न सक्छन् । भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरी वा इ-कमर्श पोर्टलमा क्यूआर गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ । धेरै जसो बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आइपीएस मोबाइल एप मार्फत नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ । हालै भ्वाइसमा आधारित क्यूआर नोटिफिकेशन पनि केहि बैंक वित्तीय संस्थाहरुले थालनी गरिसकेका छन् ।