मल्टीपर्पस फाइनान्सले डेढ लाख कित्ता सेयर बिक्री गर्दै, मूल्य १०० रूपैयाँ मात्र

काठमाडौं । मल्टीपर्पस फाइनान्सले असोज २९ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १ लाख ४२ हजार ७७३ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले गत साउन भदौ १० गतेदेखि भदौ ३१ गतेसम्म चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात् १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । जसमध्ये बिक्री नभएको संस्थापक समूह तर्फको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूह तर्फको ६० हजार ६५० कित्ता गरी कूल १ लाख ४२ हजार ७७३ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने कम्पनीले जनाएको छ । कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले कात्तिक १३ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि एफपीओ बिक्री गर्ने, १ हजार कित्तासम्म खरिद गर्न मिल्ने

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले असोज २५ गतेदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूलय दरका १ लाख २३ हजार ८१६.५ कित्ता सेयर बिक्री खुला गर्ने भएको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ बिक्री गर्ने लघुवित्तले जनाएको छ । लघुवित्तको एफपीओमा लगानीकर्ताले छिटोमा असोज ३० गते र ढिलोमा कात्तिक ९ गतेसम्म आवेदन दिन सक्ने छन् । लघुवित्तको एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् लघुवित्तको सेयरमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

नेशनल सोलारले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

काठमाडौं । नेशनल सोलार पावर कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय अंकित दरका ७ लाख २४ हजार कित्ताभन्दा बढी साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना बनाएको हो । उक्त आईपीओ निष्काशन गर्नको लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । साथै, एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवा अन्तर्गतको संस्थागत परामर्श सेवा दिने भएको छ । जसको लागि दुई संस्थाबीच सम्झौता भएको छ । एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ । नेशनल सोलार पावर कम्पनी सौर्य उर्जा मार्फत उर्जा क्षेत्रमा क्रान्ती ल्याउने मुख्य उद्देश्यका साथ स्थापना भएको कम्पनी हो । हाल उक्त कम्पनीले नवलपरासी जिल्लाको प्रतापुरमा ५ मेगावाटको सोलार आयोजना सम्पन्न गरी विगत एक वर्षदेखि सञ्चालन गरिरहेको छ । साथै, कम्पनीले सोही क्षेत्रमा थप १० मेगावाटको सोलार आयोजना संचालन गर्नको लागि आवश्यक सम्पूर्ण कार्यहरु अन्तिम चरणमा पुर्याएको छ ।