अरुण भ्याली हाइड्रोपावरको साधारणसभा सम्पन्न

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको २६ औं बार्षिक साधारणसभा आईतबार कम्पनीका अध्यक्ष जीवन राज शाक्यको अध्यक्षतामा सम्पन्न भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको इन्द्रेणी कम्प्लेक्स सम्पन्न साधारण सभाले आ.ब. २०७९/८० को प्रयोजनको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ। यस कम्पनीले कोशी प्रदेशको संखुवासभा जिल्लामा बहने पिलुवाखोलामा निर्माण गरिएको ३.० मेगावाट क्षमताको पिलुवाखोला साना जलविद्युत आयोजना कम्पनीले निर्माण गरेको पहिलो आयोजना हो। यस आयोजनले विक्रम सम्वत् २०६० साल आश्विन १ गतेदेखि व्यवसायिक उत्पादन गरिरहेको छ । यस आयोजनाबाट उत्पादित विद्युतले नेपालका पूर्वी पहाडी जिल्लाहरुलाई लोडसेडिङ्ग मुक्त बनाउन ठुलो योगदान गरि रहेको छ। त्यसै गरि यस कम्पनीले ताप्लेजुङ्ग, पाँचथर सिमाना भएर बहने काबेली खोलामा ९.९४ मेगोवाट क्षमता भएको काबेली बी-१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि २०७८ साल चैत्र १२ गते देखि व्यवसायिक उत्पादन सुरु गरेको छ । जलविद्युत आयोजनाहरुको विकास र निर्माण गर्दै जाने कम्पनीको उद्धेश्य रहेको र हाल कम्पनीसँग निर्माण आयोजना नरहेकोले कम्पनीले साहायक कम्पनी मार्फत आयोजना निर्माण गर्ने निर्णय गरि पिके हाइड्रोपावरमा ५१ प्रतिशत संस्थापक सेयरमा लगानी गरि ओखलढुङ्गा र रामेछाप जिल्ला भएर बहने लिखु खोलामा ३० मे.वा. क्षमताको लिखु खोला जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गरेको छ। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई हकप्रद निष्काशनका लागि अघि बढेको छ। बोर्डले भखरै मात्र अरुण भ्यालीलाई १:१ को अनुपातमा शत प्रतिशत हकप्रद सेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । अरुण भ्यालीले १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता बराबरको सेयर निष्काशन गर्ने छ । सेयर निष्काशनको काम मुक्तिनाथ क्यापिटलले गरिरहेको छ।

युनियन हाइड्रोले होङ्गु र तमोर जलविद्युत आयोजनाको काम अगाडि बढाउने 

काठमाडौं । युनियन हाइड्रोपावर पब्लिक लिमिटेडले २८ मेगावाट होङ्गु खोला र ६० मेगावाटको माथिल्लो तमोर ए जलविद्युत आयोजनाको काम अगाडि बढाउने भएको छ । पुस २९ गते सम्पन्न हाइड्रोपावरको १७ औं वार्षिक साधारण सभाले उक्त जलविद्युत आयोजनाको काम अगाडि बढाउने निर्णय गरेको हो । यससँगै, सबै प्रक्रिया सकिएपछि कम्पनीले उक्त जलविद्युत आयोजनाको काम अगाडि बढाउने भएको छ । साथै, उक्त सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गरेको छ ।

मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा पाँच जना निर्वाचित, सीताराम काफ्ले बने अध्यक्ष

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा ५ जना निर्वाचित भएका छन् । पुस २५ गते सम्पन्न कम्पनीको पाँचौं वार्षिक साधारण सभाले सञ्चालक समितिमा ५ जना निर्वाचित गरेको हो । नयाँ सञ्चालकहरुमा संस्थापक तर्फबाट भरतराज ढकाल, सीताराम काफ्ले र तुलसीराम ढकाल रहेका छन् । त्यस्तै, संस्थापक संस्थागत कम्पनी मुक्तिनाथ विकास बैंकको तर्फबाट गोविन्द बहादुर राउत र सर्वसाधारणको तर्फबाट चिरन्जीवी अर्याल निर्वाचित भएका छन् । यससँगै पुस २६ गते बसेको नव निर्वाचित सञ्चालकहरुको बैठकबाट सीताराम काफ्ले अध्यक्षमा चयन भएका छन् । त्यस्तै, सञ्चालक भरतराज ढकाललाई ४ वर्षे कार्यकालका लागि प्रबन्ध सञ्चालकमा चयन गरेको हो । मुक्तिनाथ बिकास बैंकको प्रमुख लगानी सहित नेपालका विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरु मिलि स्थापना भएको कृषि क्षेत्रकै नेपालको पहिलो पब्लिक लिमिटेड कम्पनि हो । कम्पनीले सर्वसाधारण सेयरको निष्कासन समेत गरिसकेको छ । कृषि उत्पादन, उत्पादकत्व वृद्धि तथा उपभोक्ता हितका क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आइरहेको यस कम्पनीले कृषि उत्पादनका क्षेत्रमा आवश्यक पर्ने ४५० भन्दा बढी वस्तु तथा सेवा उपलब्ध गराउँदै आइरहेको छ । कम्पनीले समग्र कृषि अर्थतन्त्रको विकासको लागि संस्थागत कृषि संरचनाको विकासको लागि सहकारीमा आधारित कृषि श्रोत केन्द्रमा जोड दिँदै आइरहेको छ ।