एक अर्बभन्दा बढी पुँजी हुने कम्पनीले आईपीओ निकाल्नै पर्ने

काठमाडौं । एक अर्ब रुपैयाँभन्दा बढीको पुँजी भएका कम्पनीहरु अनिवार्य रुपमा पब्लिकमा जानु पर्ने भएको छ । अहिलेसम्म निजी क्षेत्रबाट संचालित कम्पनीहरुलाई पब्लिकमा गएर साधारण सेयर जारी गर्न सरकारले कुनै पनि प्रकारको वाध्यकारी व्यवस्था गरेको नभएपनि आगामी आर्थिक वर्षदेखि यस्तो व्यवस्था गर्न लागिएको हो । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । नयाँ व्यवस्था अनुसार १ अर्ब रुपैयाँभन्दा बढीको पुँजी भएका, सरकारी अनुदान पाएका तथा सार्वजनिक प्राकृर्तिक स्रोत साधनको उपयोग गर्ने कम्पनीहरुले अनिवार्य रुपमा आईपीओ जारी गर्नुपर्ने छ । यस्तै, वार्षिक ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने कम्पनी पनि अनिवार्य रुपमा आईपीओ जारी गर्नुपर्ने व्यवस्था गर्न लागिएको अर्थमन्त्री शर्माले जानकारी दिए ।

लालीगुराँसद्वारा नयाँ बजारमा सातौं सदस्य काउन्टर विस्तार

काठमाडौं । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सातौ सदस्य सुविधा काउन्टर काठमाडौंको नयाँ बजारमा सञ्चालनमा ल्याएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले नयाँ बजारस्थित सदस्य सुविधा काउण्टरको उद्घाटन गरेका हुन् ।र उद्घाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठले सेयर सदस्यलाई सर्वसुलभ सुविधा उपलब्ध गराउन थप सदस्य सुविधा काउन्टर विस्तार गरिएको बताए । पुल्चोकमा मुख्य कार्यालय रहेको संस्थाले यसअघि ललितपुर चापागाँउ, काठमाडौंको चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र सूर्यविनायक तथा चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरी सकेको छ । संस्थाले हालसम्म करिब ३०० भन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको छ । २०५६ साल असोजबाट कारोबार सुरु गरेको हो । संस्थाले बहुउद्देश्यीय लगानीतर्फ स्वास्थ्य क्षेत्र मा लालीगुराँस हस्पिटल, शिक्षा क्षेत्रमा लालीगुराँस राष्ट्रिय उच्च मावि, कलेज र नेशनल एकेडेमी, कृषि क्षेत्रमा चितवनको खैरहनीमा लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, ललितपुरको गोदावरीमा लालीगुराँस दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्रमा सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावरमा लगानी गरेको छ ।

समृद्धि फाइनान्समा खाता खोल्दा सिमकार्ड सित्तैमा

काठमाडौं । समृद्धि फाइनान्समा खाता खोल्दा एनसेलको सिमकार्ड नि:शुल्क पाइने भएको छ । नयाँ खाता खोल्दा एनसेलको ५० रुपैयाँ व्यालेन्स भएको सिमकार्ड पाइने स्किम फाइनान्सले ल्याएको हो । फाइनान्समा ग्राहकहरुलाई आर्कषित गर्न यो योजना ल्याईएको फाइनान्सका व्यवसाय प्रवर्द्धन विभागका अधिकृत सुरजकुमार सर्राफले जानकारी दिए । फाइनान्सले मुद्दति निक्षेपमा १२.२५ प्रतिशत, र बचत निक्षेपमा अधित्तम ११ प्रतिशतसहितका विभिन्न बचत खाताहरु संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आइरहेको जनाएको छ ।