‘वल्र्ड कंग्रेश इनोभेसन एण्ड टेक्नोलोजी २०२२’ मा खल्तीले पायो डिजिटल अपर्चुनिटी एण्ड इनक्लुजन अवार्ड
काठमाडौं । डिजिटल अपर्चुनिटी एण्ड इन्क्लुजन अवार्ड ‘खल्ती’ले जितेको छ । नेपालको डिजिटल भुक्तानी प्रणालीमा काम गर्दै आएको ‘वल्र्ड कंग्रेश इनोभेसन एण्ड टेक्नोलोजी २०२२’ कार्यक्रममा विट्साले अवार्ड दिएको हो । विगत २२ वर्षदेखि प्रदान गर्दै आएको ल्लोबल आइसिटि एक्सिलेन्स अवार्डका निम्ति विट्साले आफ्नो प्रतिनिधित्व रहेको ८० देशमा रहेका सदस्य संस्थाहरुमार्फत् प्रतिस्पर्धाको निमित्त आह्वान गरेको थियो । सोही अन्तर्गत गत मार्च २३ मा विट्साले गरेको अवार्ड आह्वानमा ‘खल्ती’ले पनि निवेदन दिएको थियो । विभिन्न संस्थाबाट आवेदन पुगेकोमा नतिजाका लागि प्रविधि, सूचना तथा सञ्चार विज्ञलाई निर्णायकका रूपमा राखेर विट्साले नतिजाको तयारी गरि ‘खल्ती’लाई दिएको जनाएको छ । डिजिटल अपर्चुनिटीइन्क्लुजन अवार्डमा ८० भन्दा बढि देशका प्रतिनिधिहरू सहभागी भएका थिए । कायक्रर्म मलेसियामा सेप्टेम्बर १३ देखि १५ सम्म आयोजना भएको थियो ।
मुथुट फिनकर्प र आइएमईबीच सम्झौता
काठमाडौं । इन्डो नेपाल करिडोरको रेमिटेन्स प्रवद्र्धन गर्ने उद्देश्यसहित मुथुट फिनकर्प र आइएमईबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा मुथुट फिनकर्पका तर्फबाट सीईओ साजी वर्गीस र आइएमईका तर्फबाट गौतम नैथानीले हस्ताक्षर गरेका हुन् । इण्डियामा बुधबार आयोजित उक्त कार्यक्रममा मुथुट फिनकर्पका अध्यक्ष एवम् प्रबन्ध निर्देशक थोमस जोन मुथुट, आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललगायत अन्य वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो । यस अवसरमा बोल्दै मुथुट फिनकर्पका सीईओ साजी वर्गीसले आम्दानी गर्ने नेपाली समुदायलाई उनीहरूको घरदैलोमा सेवा प्रदान गर्ने यो एउटा विस्तारित कदम भएको विश्वास व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले मुथुट फिनकर्पसँगको सहकार्यले इण्डियामा आइएमईको पहुँच विस्तार भएको बताए । आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले मुथुट फिनकर्पसँगको सहकार्य इण्डो नेपाल रेमिटेन्स सेवा विस्तारका लागि महत्त्वपूर्ण हुने धारणा राखे । यस अवसरमा बोल्दै आइएमईका गौतम नैथानीले मुथुट फिनकर्प लिमिटेडसँग हात मिलाउँदा इन्डो-नेपाल रेमिटेन्स सेवामा अर्को कोसेढुङ्गा थपिने बताउँदै ग्राहकहरूले दुवै कम्पनीको फराकिलो नेटवर्कबाट फाइदा लिन सक्नेछन् । यो साझेदारीले आफ्नो मेहनतको कमाइ नेपालका परिवारहरूलाई घर फर्काउनको लागि भरपर्दो र सुरक्षित प्लेटफर्म प्रदान गर्नेछ । नेपाली आप्रवासीहरूले मुथुट फिनकर्पको ३६०० भन्दा बढी शाखाहरूमध्ये कुनै पनि शाखाबाट नेपालमा रहेका आफ्ना परिवारलाई तत्काल पैसा पठाउन सक्नेछन् । नेपालको लागि, विप्रेषण आप्रवाह सन् २००२ देखि बढेको छ र हाल आप्रवाह हुँदै आएको रेमिटेन्सले नेपालको राष्ट्रिय ग्राहस्थ उत्पादनको औषतमा लगभग २३ प्रतिशत योगदान गर्दछ । नेपालले पाएको कुल रेमिट्यान्सको १५ प्रतिशत भारतबाट आएको अनुमान छ । हरेक वर्ष धेरै नेपालीहरू मौसमी बसाइँसराइ, पार्टटाइम जागिर र सरकारी जागिरलगायत विभिन्न पेशाका लागि भारत जाने गर्छन् । आइएमई सन् २००१ देखि रेमिटेन्स व्यवसायमा लागिरहेको छ । यो सुविधाबाट ५० लाख नेपाली आप्रवासी लाभान्वित हुने अपेक्षा गरिएको छ ।
२० औं अर्बको कम्पनीलाई पछाडि पार्याे नेष्डोले, पुरानाले ३ गुणा कमाउँदा नयाँ जोखिममा
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेष्डो समृद्ध लघुवित्त ७ करोड ५१ लाख ३१ हजार ७८७ रुपैयाँ बराबरको सेयर कारोबार भयो । र, धेरै कारोबार हुने ‘टप थ्री’ मा यो कम्पनी उक्लियो । २० अर्ब रुपैयाँ भन्दा बढी चुक्ता पुँजी भएका र एक खर्ब रुपैयाँ भन्दा बढी पुँजीकरण भएको नेपाल टेलिकम, ग्लाेवल आईएमई बैंक, नविल बैंक लगायत धेरै कम्पनीहरुलाई २५ करोड ५० लाख रुपैयाँ पुँजी भएको नेष्डोले कारोबारमा जित्यो । साढे २५ करोड रुपैयाँको कम्पनीको बजार पूँजीकरण ८ अर्ब २६ करोड रुपैयाँ छ । कारोबार मात्र बढेको छैन, मूल्यले पनि सगरमाथा चढ्दैछ । आईतबार अन्त्यमा यो कम्पनीको सेयर प्रतिकित्ता ३ हजार २४० रुपैयाँमा किनबेच भयो । यति धेरै मूल्य भएको कम्पनीको न इतिहास गज्जब छ र न भविष्य भव्य छ । गत असार ३१ गते कम्पनीको तेस्रो साधारणसभा भयो तर कम्पनीले सेयरधनीलाई नगद वा बोनस सेयर केही पनि दिएन । त्यस्तै यो लघुवित्त निकट भविष्यमा अर्को कुनै संस्थासँग मर्ज वा प्राप्तिमा जाने निर्णय गरेको छ । नेप्सेका अनुसार यस लघुवित्तको पहिलो सेयर कारोबार गत गत चैत १४ गते भएको हो । पहिलो दिनको अन्तिम सेयर कारोबार ७४७ रुपैयाँमा भएको थियो । भदौ ५ गते ३ हजार २४० रुपैयाँमा कारोबार बन्दा भयो । यस अवधिमा कम्पनीको सेयर मूल्य ३३४ प्रतिशतले वृद्धि भएको छ । पुराना लगानीकर्ताले छोटो अवधिमा ३ गुणा भन्दा बढी कमाउँदा नयाँ लगानीकर्ता भने जोखिममा पर्ने जानकारहरु बताउँछन् । यस लघुवित्तमा सर्वसाधारणको सेयर ८ लाख २८ हजार कित्ता मात्र भएकोले कर्नरिङमा परेको लगानीकर्ताको भनाई छ । लघुवित्तमा संस्थागत संस्थापक शेयरधनीको २ वटा र व्यक्तिगत संस्थापक शेयरधनी ८१ जना छन् । कुश्मा नगरपालिका ६ पर्वतमा ठेगाना रहेको यस लघुवित्तले वि.सं. २०७५ फागुन २१ गतेदेखि कारोवार शुरुवात हो । लघुवित्तसँग राष्ट्रिय स्तरमा कारोबार गर्न अनुमति पत्र छ । आईपीओ बाडँफाँट गर्दा नेष्डो लघुवित्तका म्यानेजिङ डाइरेक्टर विश्व प्रकाश प्रसाईं ठकुरीले शतप्रतिशत लाभांश वितरण गर्ने दाबी गरेका थिए । तर असारमा साधारणसभा गर्दा कम्पनीले सेयरधनीलाई खाली हात घर फर्कायो । गत आर्थिक वर्षमा २२ करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा जनाएएको छ । जहाँ कम्पनीको जगेडा कोषमा ६१ करोड रुपैयाँ भएको उल्लेख छ । नाफा र जगेडा कोष हेर्दा कम्पनीले आगामी वर्ष राम्रो प्रतिफल दिने सम्भावना रहेको जानकारहरु बताउँछन् । तर राष्ट्र बैंकले लघुवित्तमाथि बढाउँदै गरेकाे कसिलाे नीति र लघुवित्त प्रति सर्वसाधारणको बढ्दो असन्तुष्टिले लघुवित्तको सेयरमा उच्च मूल्य तिर्ने लगानीकर्ताहरु पनि उच्च जोखिममा रहेको बताइन्छ ।