उद्देश्य विपरित ऋणपत्रमा एचआइडीसीएलको ८ करोड लगानी, ११ अर्ब रुपैयाँ मुद्दतीमा राखेर व्याज खाँदै

काठमाडौं । हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)ले उद्देश्य विपरित वाणिज्य बैंकको ऋणपत्र (बण्ड)मा लगानी गरेको पाइएको छ । तर यस्तो लगानी अन्जानमा भएको कम्पनीले जनाएको छ । कम्पनीको प्रबन्धपत्रको बुँदा नम्बर ४ (ङ) बमोजिम कम्पनीले जलविद्युत तथा नवीकरणीय उर्जासँग सम्बन्धित परियोजनाका लागि जारी हुने बण्ड, डिबेञ्चर जस्ता ऋणपत्रमा मात्र लगानी गर्न पाउने व्यवस्था रहेको छ । तर, कम्पनीले सो उद्देश्य विपरित एक वाणिज्य बैंकको कर्पोरेट बण्डमा ८ करोड रुपैयाँ लगानी गरेको हो । कम्पनीले सो रकम एनआईसी एशिया बैंकको ऋणपत्रमा लगानी गरेको पाइएको हो । कम्पनीका नायव महाप्रबन्धक (डीसीईओ) जीवन कुमार बस्नेतले उद्देश्व विपरित बैंकको ऋणपत्रमा लगानी गरेको स्वीकार गरे । हाइड्रोपावरले जारी गरेको ऋणपत्रमा लगानी गर्न पाइने भएपनि तत्कालिन समयमा जानकारी नभएकाले बैंकको ऋणपत्रमा लगानी गरिएको उनले बताए । ‘एनआईसी एशिया बैंकको ऋणपत्रमा ८ करोड रुपैयाँ लगानी गरेको हो, त्यसको ब्याज पनि आउन थालेको छ, जानकारी नहुँदा सो ऋणपत्रमा लगानी गरिएको हो तर पछि जानकारी पाएपछि कुनै पनि ऋणपत्र वा बण्डमा लगानी गरिएको छैन,’ उनले भने ‘सो ऋणपत्र एक डेढ वर्षपछि परिपक्व हुँदैछ, कम्पनीको फाइदाको लागि लगानी गरिएको हो, ब्यक्तिगत फाइदाको लागि होइन ।’ सो ऋणपत्रको ब्याजसहित गत असार मसान्तसम्म ८ करोड ७२ लाख २० हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । साथै, एचआइडीसीएलले सहायक कम्पनीको रूपमा रेमिट हाइड्रो र सिम्बुवा खोला जलविद्युत कम्पनी खडा गरेको छ । सो आयोजना एचआइडीसीएलले आफैं निर्माण गर्नेछ । दुवै हाइड्रो कम्पनीमा ८८ करोड ६२ लाख रुपैयाँ लगानी गरेको कम्पनीले जनाएको छ । तर, दुवै परियोजनाहरूको विद्युत खरिद सम्झौता हालसम्म भएको छैन । अध्ययन सम्पन्न भएपछि मात्रै खरिद सम्झौता गरिने डीसीईओ बस्नेतले बताए । ‘हामीले पीपीए भएका र नभएका अन्य आयोजनामा पनि लगानी गर्छौं, यो दुई वटा प्रोजेक्ट कम्पनी आफैले बनाउने भनेर लगानी गरेको हो, आयोजना निर्माण गर्ने तयारी गरेको हुँदा पीपीए गर्न बाँकी छ, यी दुई आयोजनाको अध्ययन सम्पन्न भएको हुँदा वित्तीय सम्झौता गरेर अघि बढ्छौं,’ उनले भने । सहायक कम्पनी बाहेक अन्य २ स्वतन्त्र कम्पनीमा यो वर्ष ४ करोड १६ लाख रुपैयाँ लगानी गरेको छ । आयोजना सञ्चालनको सुनिश्चितता गरेर मात्र लगानी गर्ने उनको भनाइ छ । कम्पनीले गत वर्ष विभिन्न ९ अन्य कम्पनीमा १ अर्ब ७५ करोड ४२ लाख रुपैयाँ सेयर लगानी गरेको छ । तर हालसम्म सो लगानीबाट प्रतिफल शुन्य रहेको छ । सो लगानी बन्दै गरेको आयोजनामा रहेको डीसीईओ बस्नेतले बताए । सो आयोजनाहरु निर्माण सम्पन्न भएर उत्पादन गर्न थालेपछि मात्रै प्रतिफल प्राप्त हुने उनको भनाइ छ । ‘आयोजनामा लगानी गर्न थालेको २ वर्ष मात्रै भयो, पहिलो प्रोजेक्ट नै निर्माण सम्पन्न हुन अझै एक/डेढ वर्ष लाग्छ, ती आयोजना निर्माण सम्पन्न भएपछि मात्रै प्रतिफल प्राप्त हुन्छ,’ उनले भने । त्यस्तै विभिन्न १० संस्थामा अघिल्लो वर्ष ४ अर्ब १० करोड ८९ लाख रुपैयाँ लगानी गरेको थियो । गत वर्ष ११ संस्थामा ६ अर्ब ४५ करोड २७ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सो लगानी गर्दा १ प्रतिशतले हुन आउने ६ करोड ४५ लाख २७ हजार रुपैयाँ क्षयह्रास राखिएको छ । सो रकम सम्भावित जोखिम व्यवस्थापनका लागि छुट्याइएको उनले बताए । यदि सो रकम सम्भावित जोखिम व्यवस्थापनका नछुट्याए कम्पनीलाई कारवाही हुने उनको भनाइ छ । यसैगरी कम्पनीले तोकिएका उद्देश्यहरू हासिल गर्न पर्याप्त परियोजना पहिचान गरी लगानी बढाउन नसक्दा सङ्कलन गरेको स्वपुँजीको अधिकतम रकम समेत मुद्दती निक्षेप खातामा राखेको छ । कम्पनीले बैंकको मुद्दती निक्षेपमा ११ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेको छ । हाल कम्पनीको कूल पूँजी २४ अर्ब रुपैयाँ छ । हालसम्म १३ अर्ब रुपैयाँ बराबर आयोजनामा लगानी गरिसकेको छ ।

मदिरा कारोबारीले फसाए सहकारीका सञ्चालक, खाली चेकमा सहि गराएर ५ करोडको दावी

काठमाडौं । मदिरा व्यवसायी होमप्रसाद चालिसेले काठमाडौंको सिनामंगलमा रहेको पञ्चरुपा सेभिङ एण्ड क्रेडिट सहकारीलाई संकटमा फसाएका छन् । उनले सहकारीमा निक्षेप राख्नुपूर्व सहकारीसँग सहि गरेको खाली चेक लिएको र सोही चेकमा पछि ५ करोड रुपैयाँ लेखेर बैंकमा दावी गरेको सहकारीका सञ्चालकहरुले बताएका छन् । सहकारीका सञ्चालकहरुले शेयर सदस्य होमप्रसाद चालिसेका कारण आफूहरु अन्यायमा परेको बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरुले चालिसेबाट कसरी ठगिएको भन्नेबारे प्रकाश पारेका थिए । सहकारीका उपाध्यक्ष मोहन सापकोटाका अनुसार मदिराको कारोवार गरिरहेको संस्कार ट्रेडर्सका सञ्चालक होमप्रसाद चालिसे सो सहकारीर्मा शेयर सदस्य बनेर नियमित कारोवार र ठूलो कारोवार गरिरहेका थिए । चालिसेले १ करोड सहकारीमा निक्षेप राख्नुपूर्व आफ्नो पैसाको सुरक्षाको लागि विश्वासको लागि भन्दै सहकारीका सञ्चालकहरुले सहि गरेको खाली चेक लिएका थिए ।विस्तारै चालिसेले कारोबार गरी सहकारीको खातामा आफ्नो रकम शून्यमा झारेको र खाली चेकमा ५ करोड लेखी भुक्तानी दावी माग गरेको उपाध्यक्ष सापकोटाले बताए । उनले भने,‘हाम्रो चेक ठगी गर्ने उद्देश्यले उहाँ आफंैले त्यो चेकमा रकम भरेर, त्यो पनि पाँच करोड रकम भरेर बैङ्कमा बाउन्स गर्ने तरिकाले अगाडि बढ्नु भयो । जब हामीले माघको २४ मा हामीले अन्तिम पटक उहाँको सबै भुक्तानी पेमेन्ट गरिसकेपछि उहाँले चेक बाउन्स गरेको कुरा बैङ्कबाट पत्र आएपछि थाहा पायौं, हामी अलिकति झसङ्ग भयौं ।’ सहकारीले चालिसेलाई भुक्तानी गर्नुपर्ने कुनै पनि रकम नभएको उनको दावी छ । चालिसेले ५ करोड रुपैयाँ दावी गर्दै अदालत गएपछि आफूहरुले सत्यतथ्य कुरा सार्वजनिक गर्न पत्रकार सम्मेलन गरेको उनले उनीहरुले बताएका छन् । यस्तै, सहकारीका कार्यकारी प्रमुख पुरन रावलका अनुसार चालिसेले २०७८ असोज १ गते उक्त सहकारीमा खाता खोलेर नियमित कारोबार गरिरहेको थिए । चालिसेले सहकारीमा खाता खोलेको एक महिना बित्ने वित्तिकै ०७६ को कात्तिक १ गते एक महिनाको लागि भनेर आफूहरुको सहकारीबाट एक करोड ऋण लिएको र बैङ्किङ काम नभएका कारणले चालिसेले समयमा ऋण तिर्न नसकेको पनि उनको भनाई छ । २०७९ सालमा लक्ष्मी बैङ्कबाट ऋण पास भएपछि उनले ५० लाख रुपैयाँ २०७९ जेठ १७ गते आफूहरुलाई भुक्तानी गरेको रावलको भनाई छ । उनले भने ‘असोज ३ गते करौडौं पैसा म तपाईंको संस्थामा राखि राख्दछु । दशैं चाडवाडको बेला छ । अझै मेरो ब्यवसाय बढ्छ । मसँग भएको सम्पूणर् पैसा पनि तपाईंकै संस्थामा राख्ने हो । यसको सुरक्षाको लागि मलाई एउटा चेक चाहीँ दिनु पर्यो हजुर भनेर म कहाँ कुरा आइपुग्यो । म कहाँ आइपुगेपछि अरू सञ्चालक सदस्यलाई नसोधेर हाम्रो अफिसमा सिग्नेचर गरेर राखेको चेक मैले लगेर उहाँलाई दिएको हो । होमप्रसाद चालिसेलाई, त्यो चेक २०७९ साल असोज ३ गते दिएका थियौं ।’ उक्त मितिमा सहकारीमा रहेको चालिसेको खातामा करिब ३ करोड ४६ लाख रुपैयाँ रकम रहेको उनले स्मरण गराए । चालिसेले १३ महिनाको समयमा १ अर्ब ४५ करोड ८ लाख ८८ हजार १ सय ८७ रुपैयाँ १५ पैसाको कारोबार गरेको उनले बताए । त्यसपछि कर कार्यलयले संस्कार ट्रेडर्समा छापा मारेको र सबै कागज चेकिङ्ग लगेको भन्दै चालिसेले नाबालक छोरी स्वस्ति चालिसे नाममा खाता खोली कारोबार गरेका थिए । कारोबार भएको समयमा कुनै समस्या नभएको बताउँदै उनले भने, ‘२०७९/९/१७ गते हामीले दिएको ग्यारेन्टीको चेक बाउन्स गर्नु भएछ । जबकी हामीलाई जानकारी नदिएर, त्यो टाइममा उहाँको २ करोड लगभग ब्यालेन्स थियो । तर उहाँले ५ करोड रकम भरेर बाउन्स गरेको कुरा हामीलाई थाहा थिएन । तर, एकचोटी बाउन्समा बैङ्कबाट कुनै जानकारी दिएको थिएन, दोस्रोपटक बाउन्स हुँदा हामीले थाहा पायौं ।’ त्यसपछि चालिसेसँग छलफल भएपछि १ करोड ५० लाख सहकारीको खातामा राख्ने र बाँकी रकम उनको खातामा हाल्ने आफूहरुको प्रस्तावमा चालिसे सहमत नभएको पनि उनले सुनाए । उनले भने, ‘त्यतिवेला उहाँले आफ्नो सबै पैसाको माग गर्नुभयो । त्यसपछि उहाँको रकम लक्ष्मी बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको खातामा हामीले जम्मा गरेको भौचरसहित उहाँको कार्यालयमा राखेका थियौं ।’ तर, चालिसेले भने आफूले ब्याज नपाएको भन्दै सहकारी विभागमा आफूहरु विरुद्ध उजुरी दिएको उनले बताए । तर, विभागले उजुरीमाथि छलफल गर्न बोलाएको बैठकमा भने चालिसे अनुपस्थित् भएको उनको दाबी छ । उनले आफूहरुले चालिसेको सबै पैसा बिहान बुझाएको तर त्यही दिन बेलुका उक्त ५ करोड रकम भुक्तानी गर्न ग्लोबल आइएमइ बैंकले पत्र दिएको बताए । ‘त्यो पत्र प्राप्त भएपछि हामी झसङ्ग भयौं । किनभने उहाँले त केही गरेको छैन, बैंकमा बाउन्समात्रै गरेको हो । अरु प्रकिया अगाडि बढाएको छैन भन्दै एउटा आश्वासन दिनुभएको थियो ।’ त्यसपछि ७ दिनसम्मको समयसीमा भएको र चालिसेले चेक फिर्ता दिने आफूलाई भनेको अडियो आफूसँग अहिले पनि सुरक्षित रहेको उनको भनाई छ । ७ दिनसम्म पनि चेक नदिएपछि आफूहरुले केन्द्रीय अनुसन्धान ब्युरो महराजगञ्जमा गएर चालिसे विरुद्ध निवेदन दिएको र तेस्रो पटक बोलाउँद मात्रै उनी आएको कार्यकारी प्रमुख रावलको दाबी छ । चालिसेले प्रहरीसँगको छलफलमा पनि आफ्नो जिद्दी नछोडेको र त्यसपछि अदालती बाटो रोजेको उनले बताए । चालिसेले १९ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएर २१ गते मुद्दाको प्रतिलिपि लिएर ल्याएर प्रहरीकोमा आएको उनले बताए । प्रहरीकोमा चालिसेले मुद्धा दर्ता गराएको भन्दै निस्किएको उनले बताए । कार्यकारी प्रमुख रावलले आफ्नो सहकारीमा १७ महिनामा करिब १ अर्ब ७८ करोडको कारोबार भएको र सो कारोबार पनि शंकास्पद कारोबार भएको बताए । चालिसेले आफूहरुलाई मात्र नभई अन्य व्यक्तिहरुलाई पनि ठगेको बताए ।

नेपाल पुनर्बीमासहित चार कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार मात्रै दुई इन्स्योरेन्स कम्पनी र दुई लघुवित्त वित्तीय संस्था गरी कूल चार वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, डिप्रोक्स लघुवित्त वित्तीय संस्था र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको गरी कूल एक करोड १७ लाख ७७ हजार कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । जसमध्ये नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत अर्थात ५८ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, प्रुडेन्सियलको ३ लाख ९४ हजार ३९२ कित्ता (३.३२५ प्रतिशत), डिप्रोक्सको १० प्रतिशत अर्थात १३ लाख ८७ हजार ४९८ कित्ता र निर्धन उत्थानको १९ प्रतिशत अर्थात ४१ लाख ७० हजार ५४७ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।