मेरो माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा मेरो माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज(असार ३० गते) मात्रै १६.९४ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । संस्थाको थप १४ लाख ४८ हजार ६०० कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै, संस्थाको सो मात्राको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुनेछ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।
सिवाईसी र शालिग्रामको एकीकृत कारोबार शुरु, अध्यक्ष भन्छन्- नाफामा मात्रै केन्द्रीत हुँदैनौं
बागलुङ । बागलुङको सिवाईसी नेपाल लघुवित्त र बेनी म्याग्दीको शालिग्राम लघुवित्त वित्तीय संस्थाकोे एकीकृत कारोबार शुरु भएको छ । राष्ट्रियस्तरको सिवाईसी नेपाल लघुवित्तले प्रदेशस्तरको शालिग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरी असार २८ गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो । एकिकृत कारोवारको शुभारम्भ सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको मुख्य पूवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल, सिवाईसीका अध्यक्ष पद्मनाथ शर्मा र शालिग्रामका अध्यक्ष कृष्ण बहादुर थापाले संयुक्त रुपमा दिप प्रज्वलन, व्यानर अनावरण र रिवन काटेर गरेका थिए । कार्यक्रममा बोल्दै पौडेलले दुई वित्तीय संस्था गाभिएपछि संस्था थप सबल भएको बताए । उनले ग्रामिण क्षेत्रका लक्षित वर्गमा अझै पनि लघुवित्त संस्था नपुगेको बताउँदै ती वर्गमा गएर जनताको सेवामा समेत ध्यान दिन आग्रह गरे । संस्था ठूलो हुँदा क्षमता पनि बढ्ने बताउँदै पौडेलले लघुवित्त संस्थाहरुले नाफामा मात्र केन्द्रीत नभई सदस्यमैत्री सेवाहरु पनि सञ्चालन गर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा शालिग्राम लघुवित्तका अध्यक्ष कृष्णवहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए । गत जेठ १४ गते छुट्टाछुट्टै बसेको संस्थाहरुको विशेष साधारण सभाले सिवाईसीले शालिग्रामलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो । एकिकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार २५ गते अन्तिम स्वीकृत प्रदान गरेका थिए । एकिकृत कारोवार शुभारम्भ समारोहमा संस्थाका प्रवन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माले संस्थाको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार ८ सय ३७, कर्मचारी १ सय ८६, शाखा कार्यालय ३८, सदस्य संख्या ४८ हजार, लगानीमा बाँकी रहेको कर्जा १ अर्ब ७५ करोड र बचत ८८ करोड रहेको जानकारी गराएका थिए । उनले आर्थिक वर्ष २०७८/०७९ लाई सिवाईसीले विगतमा गरेका सबै कामहरुलाई दोब्बर गराउने लक्ष्य रहेकाले सबैको साथ र सहयोगको अपेक्षा राखेको बताए ।
सम्मिश्रित वित्त व्यवस्थालाई अघि बढाउन बोर्डले माग्यो सुझाव
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सम्मिश्रित वित्त व्यवस्था तथा लगानी सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । सम्मिश्रित वित्त व्यवस्था तथा नियमावलीको मस्यौदा सम्बन्धमा सम्बन्धित निकाय तथा सरोकारवालाहरुसँग राय सुझाव लिने उद्देश्यले बोर्डले आज (असार २९ गते) भर्चुअल माध्यमबाट उक्त सम्पन्न गरेको हो । सरकारले आर्थिक वर्ष २०७७।७८ को बजेटमा सम्मिश्रित वित्त व्यवस्था तथा लगानीका अन्य वैकल्पिक उपकरणको व्यवस्था गरी निजी लगानी प्रवद्र्धन गर्ने कार्यक्रम ल्याएको छ । सो सम्बन्धी नियमावली तर्जुमा गरी पेश गर्ने निकायको रुपमा नेपाल धितोपत्र बोर्डलाई जिम्मेवारी तोकिएको छ । यससँगै बोर्डले सम्बन्धित निकाय तथा सरोकारवालाहरुसँग राय सुझाव लिएको हो । उक्त कार्यक्रममा बोर्डका का.मु. कार्यकारी निर्देशक विनयदेव आचार्यले स्वागत मन्तव्य तथा कार्यक्रमबारे प्रकाश पारेका थिए । त्यस्तै, सम्मिश्रित वित्त सम्बन्धी विज्ञ प्रा.डा. अच्युत वाग्लेले सम्मिश्रित वित्त सम्बन्धी धारणा, अन्तराष्ट्रिय अभ्यास र नेपालको सन्दर्भ सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । साथै, उक्त कार्यक्रममा बोर्डका उप कार्यकारी निर्देशक डा.नवराज अधिकारीले सम्मिश्रित वित्त व्यवस्था तथा लगानी सम्बन्धी प्रस्तावित नियमावलीको व्यवस्थासम्बन्धी प्रस्तुती दिएका थिए । सो कार्यक्रममा कार्यपत्र प्रस्तुतिकरण पश्चात् भएको छलफल कार्यक्रममा सहभागीहरुबाट आएका जिज्ञासाहरु कार्यक्रमका प्रस्तोताहरु तथा सम्बन्धित विषयका विज्ञहरु अमृत खरेल र जोसेफ सिल्भानुसले सम्बोधन गर्दै सम्मिश्रित वित्तका सम्बन्धमा अझ प्रकाश पारेका थिए । कार्यक्रमका सभापति तथा बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले नेपाल सरकारको पुँजी बजार सम्बन्धी विषयको सल्लाहकार तथा पुँजी बजारको नियामक निकायको भूमिका बोर्डले निर्वाह गर्नुपर्ने परिप्रेक्ष्यमा नेपाल सरकारको नीति तथा कार्यक्रम अनुरुप यस विषयलाई अगाडि बढाइएको बताएका छन् । साथै, सम्मिश्रित वित्त एउटा नयाँ धारणा तथा पद्धतिका रुपमा विकास भएको बताउँदै उनले यसको माध्यमबाट दिगो विकासको लक्ष्य हासिल गर्न निजी पुँजी प्रवाहमा गतिशिलता आउने बताएका छन् । साथै, निजी क्षेत्रलाई लगानीको नयाँ अवसर प्राप्त हुने पनि उनको धारणा रहेको छ । त्यस्तै, कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बोर्डले सम्मिश्रित वित्त व्यवस्थाका सम्बन्धमा उत्प्रेरकको भूमिका निर्वाह गर्न खोजेको धारणा राखेका छन् । बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, बोर्डका कार्यकारी निर्देशक, अर्थ मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, उद्योग विभाग, नेपाल स्टक एक्सचेञ्ज तथा सिडिएससीका प्रतिनिधीहरु, ब्रोकर तथा मर्चेन्ट बैंकर एशोसियसनका प्रतिनिधीहरु, विभिन्न लगानीकर्ता समूहका प्रतिनिधिहरु, आर्थिक पत्रकारहरु, सम्मिश्रित वित्तसम्बन्धी विज्ञहरु लगायत अन्य सरोकारवालाहरु तथा बोर्डका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।