दुई लघुवित्तको पौने २४ लाख बोनस सेयर सूचीकृत

काठमाडौं । आज (असार २१ गते) सोमबार दुई लघुवित्त वित्तीय संस्थाको कूल २३ लाख ७३ हजार ४२१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । निर्धान उत्थान लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको गरी एकैदिन सो मात्राको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये निर्धन उत्थानको सबैभन्दा बढी अर्थात १३ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । संस्थाको १९ लाख ५० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । त्यसैगरी, स्वरोजगार लघुवित्तको १२.३९ प्रतिशत अर्थात ४ लाख ५३ हजार ४२१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै, यी दुबै संस्थाको सो मात्राको सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच हुने छ ।

नेपाल र ललितपुर फाइनान्सबीच असार २७ गतेदेखि एकीकृत कारोबार

काठमाडौं । नेपाल फाइनान्स र ललितपुर फाइनान्सबीच आगामी असार २७ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएको छ । ललितपुरलाई प्राप्ति गरेसँगै नेपालले सो दिनदेखि एकीकृत कारोबार शुरु गर्ने भएको हो । सो सम्बन्धमा नेपाल राष्ट्र बैंकले गत असार १५ गते नै संस्थालाई स्वीकृति दिएको थियो । त्यसपछि कम्पनी रजिष्ट्रारले असार १८ गते गाभ्ने स्वीकृति दिएसँगै संस्थाले एकीकृत कारोबारको मिति तय गरेको हो ।

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । गत असार १७ गतेदेखि निष्काशन खुला भएको उक्त आईपीओ आज (असार २१ गते) निष्काशन बन्द हुने भएको हो । यससँगै इच्छुकले आज दिउँसो बैंकिङ्ग समय अर्थात साँझ ५ बजेभित्र मेरो सेयर मार्फत आवेदन दिन सक्ने छ । उनीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो अवधिसम्म १८ लाख ९६ हजार ९२२ जना आवेदकले २ करोड ४८ लाख ४५ हजार ३६० कित्ता सेयरको लागि आवेदन दिईसकेका सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आज साढे १० बजेसम्म सो मात्राको आवेदन परेको हो । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ७३.८४ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ३ लाख ३६ हजार ४९२ कित्ता सेयर मात्रै बिक्री गरेको हो । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता साधारण सेयर बिक्री खुला गरेकाे हो । संस्थाले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत सेयर निष्काशन गरेकाे हाे । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ५८ कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिएकाे हाे ।