लघुवित्तको लघु-सर्वेक्षणः हालसम्म १८ प्रतिशतले दिए व्याजमा छुट, बाँकीले पनि दिने

काठमाडाैं । कोभिड-१९ महामारीको दोस्रो लहरको दौरानमा १८ प्रतिशत लघुवित्त वित्तीय संस्थाले व्याजमा छुट दिएका छन् । नेपाल लघुवित्त बैङ्कर्स संघले हालसम्म साे मात्राले ग्राहकलाई व्याजमा छुट दिएकाे र बाँकी ६४ प्रतिशतले पनि दिने याेजना बनाएकाे जानकारी गराएकाे हाे । संघले कोभिड-१९ महामारीको दोस्रो लहरको दौरानमा हालै गरेको लघु-सर्वेक्षण अनुसार साे मात्राले व्याजमा छुट दिएकाे जनाइएकाे छ । साथै, लघुवित्त वित्तीय संस्थाका कर्मचारी कोभिड-१९का कारण अत्यधिक रुपमा प्रभावित भएको उक्त सर्वेक्षणले देखाएकाे जनाएकाे छ । उक्त लघु-सर्वेक्षणमा विद्यमान ७४ मध्ये ६० वटा (८१%) लघुवित्त वित्तीय संस्थाहरु (३ थोक कारोवारी, ५७ खुद्रा कारोवारी) सहभागी भएका थिए । जसमा कुल १८ हजार ४५२ कर्मचारी मध्ये १ हजार ७३६ जना (९.४१%) संक्रमित भएको र ५ जनाको (०.०३%) मृत्यु भएको छ । लघुवित्त वित्तीय संस्थाले कर्मचारी तथा सदस्यको सुविधाका लागि नविनतम व्यवस्थाहरु गरेका छन् । कर्मचारीका लागि सिफ्ट तथा घरबाटै काम गर्ने, कोभिड परीक्षण/खोप, बीमामा थप सुविधा, स्वास्थ्य परामर्श लगायतका व्यवस्थाहरु भएका छन् भने सदस्यका लागि स्वास्थ्य स्थितिको अनुगमन, सचेतना कार्यक्रम, शुल्क जरिवाना मिनाहाको व्यवस्था भएको छ । केही संस्थाहरुले संक्रमित कमर्चारीका लागि उपचार खर्च, बिदा सहुलियत तथा निर्ब्याजी ऋणको व्यवस्था गरेको छ । काेभिड-१९ महामारीको दोश्रो लहरको दौरान लघुवित्त संस्था सञ्चालन सम्बन्धमा सर्वेक्षणले यस्ताे नतिजा देखाएकाे छ । कर्मचारी तथा सदस्य स्वास्थ्य सुरक्षा मापदण्डको पालना व्यवसाय सञ्चालन गर्दा संस्थाहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड कर्मचारीको हकमा (पञ्जा, मास्क र फसे शिल्डको प्रयोगका साथै कम्तिमा एक मिटर दूरीको पालना) पूर्ण रुपमा र सदस्यको हकमा (साबुन पानी/सानिटाइजर र मास्कको व्यवस्थाका साथै कम्तिमा एक मिटर दूरीको पालना) आंशिक रुपमा मात्र पालना गरेका छन् । व्यवसाय सञ्चालन तथा कार्यक्षेत्रमा आवागमन अत्यधिक संस्थाहरु (९३%) ले स्थानिय निकायका निषेधाज्ञा/बन्दाबन्दीका कारण आफ्नाे व्यवसाय आंशिक रुपमा मात्र सञ्चालन गरेका छन् भने बाँकी ७% पूर्ण रुपमा बन्द छन् । यसरीनै धेरै (६२%) संस्थाहरुले कार्यक्षेत्रमा आवागमन (केन्द्र बैठक तथा सदस्य भेटघाट) बन्द गरेका छन् भने एक तिहाई (३३%) ले अझै आंशिक रुपमा आवागमन कायम राखेका छन् । सदस्य सहयोग तथा राहतका लागि कदम संस्थाहरुले सदस्य सहयोग तथा राहतका लागि विद्युतिय भुक्तानी प्रणाली (२५% ले सञ्चालन गरिसकेको र ४०% ले सञ्चालनको योजना बनाएको) र व्याजमा छुट (१८% ले दिईरहेको र ६४% ले दिने योजना बनाएको) को व्यवस्था गरेको छ । कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि कोषको प्रयोग संस्थाहरुले कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि आफुसगं रहेका कोषहरुको न्यायपूर्वक परिचालन गर्दै गरेका छन् । तिनीहरु मध्ये ४७% ले ग्राहक संरक्षण कोषको प्रयोग गरिसकेका छन् भने ५०% ले संस्थागत सामाजिक उत्तरदायित्व कोषको प्रयोग गरिसकेका छन् । लघुवित्त वित्तीय संस्थाहरुले सदस्य स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्नु र निषेधाज्ञा/बन्दाबन्दी कायम रहेका कार्यक्षेत्रमा आवागमन (केन्द्र बैठक तथा सदस्य भेटघाट) बन्द गर्नु राम्रो हुन्छ । साथै, संस्थाहरुले स्वास्थ्य जोखिम रहित तथा कम लागतमुखी व्यवसाय सञ्चालनका लागि विद्युतिय भुक्तानी प्रणाली लगायतका व्यवस्थामा लगानी गर्नु उपयुक्त हुन्छ ।

आशा लघुवित्तका ग्राहकले ब्याजमा १० प्रतिशत र हर्जानामा शतप्रतिशत छुट पाउने

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाका ग्राहकले ब्याज रकममा १० प्रतिशत र हर्जानामा शतप्रतिशत छुट पाउने भएका छन् । संस्थाले हालको अवस्थालाई मध्यनजर गर्दै उक्त छुट दिने व्यवस्था मिलाएको हो । बिश्वमहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को दोस्रो लहरको संक्रमण फैलिए संगै देशभरी निशेधाज्ञा तथा बन्दाबन्दीको अवस्था सृजना भई व्यापार व्यवसाय पूर्णरुपमा ठप्प हुन गई आम्दानीमा समेत प्रत्यक्षरुपमा असर परेको छ । यो अवस्थासँगै संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले ग्राहकलाई विभिन्न तीन विधामा छुट सुविधा दिने जानकारी गराएका छन् । महामारीको कारण कर्जाको किस्ता नियमित भुक्तानी गर्न नसकेको खण्डमा सो वापत वित्तीय संस्थाको नियमानुसार लाग्ने हर्जाना रकम मिति २०७८ जेठ १ गतेदेखि बन्दाबन्दी पूर्णरुपमा अन्त्य भएको १ महिना अवधिसम्मको लागि नलिने व्यवस्था मिलाएको संस्थाले जानकारी गराएको छ । महामारीको कारण वा अन्य कारणले समेत यस अघि देखि नै वित्तीय संस्थालाई बुझाउनु पर्ने कर्जा रकम भुक्तान नगरेका ग्राहक सदस्यहरुको हकमा २०७८ असार १ देखि असार ३१ गते भित्र हालसम्म रोकिएको सम्पूर्ण साँवा तथा ब्याज भुक्तान गरेको खण्डमा भुक्तानी गरेको ब्याज रकममा १० प्रतिशत तथा हर्जानामा शतप्रतिशतका दरले छुट प्रदान गर्ने व्यवस्था मिलाईएको छ । महामारीको कारण ग्राहक सदस्यलाई पर्न गएको क्षतिलाई न्यूनिकरण गर्न हाल प्रदान गर्दै आएको ग्राहक संरक्षण कोष अन्तर्गतको सुविधामा केही शिर्षक थप गरी ग्राहकलाई सुविधा प्रदान गर्ने निर्णय समेत भएको हँदा सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी समयमा नै लाभ लिनुहुन संस्थाले अनुरोध गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्नका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी-६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भदौ १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ६४ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब ३ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट १ अर्व २२ करोड रुपैयाँ भन्दा बढी निक्षेप संकलन गरेको छ ।

१५ अर्बको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा १५ अर्बको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । ‘४.७९ प्रतिशत विकास ऋणपत्र २०८३ ‘घ’’ नामक सो मात्राको ऋणपत्र आज (असार २ गते) नेप्सेमा थपिएको हो । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्काशन भएका उक्त ऋणपत्र विकास ऋणपत्र धितोपत्र सूचीकरण विनियमाववली, २०७५ को विनियम ८ अनुसार सूचीकृत भएको हो । ५ वर्षे अवधि रहेको उक्त ऋणपत्रमा ४.७९ प्रतिशत व्याजदर पाइने छ । जुन अर्धवार्षिक रुपमा भुक्तानी गरिने छ । त्यस्तै, २०७८ जेठ १३ गतेदेखि निष्काशन भएको उक्त ऋणपत्रको साँवा भुक्तानी २०८३ जेठ १३ गते हुने जनाइएको छ ।