जीवन विकास लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, हालसम्म कतिले भरे ?
काठमाडौं । जीवन विकास लघुवित्तले जारी गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । गत असार ११ गतेदेखि सेयर निष्काशन भएको संस्थाको आज(असार १५ गते) ४ कार्यदिनसँगै बिक्री बन्द हुने भएको हो । यससँगै इच्छुकले आज अपरान्ह ५ बजेभित्र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । साथै, हालसम्म १९ लाख बढीले संस्थाको सेयरमा आवेदन दिइसकेका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज बिहान १० बजेसम्ममा १९ लाख ४६ हजार ७३५ जनाले २ करोड ९३ लाख २१ हजार कित्ता सेयरको लागि आवेदन दिईसकेका छन् । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा १५.८७ गुणा बढी आवेदन हो । संस्थाले सर्वसाधारणमा जम्मा १८ लाख ४८ हजार १५ कित्ता सेयर माग गरेको छ । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ । थप सामाग्री जीवन विकासको योजनाः एक वर्ष भित्रै ५८ वटा शाखा खोल्ने, कर्जा लगानीमा आक्रामक बन्ने जीवन विकासको आईपीओमा लगानी गर्न लगानीकर्तालाई कुनै दुविधा हुँदैनः सीईओ मण्डल जीवन विकास लघुवित्तको आईपीओ खुल्यो, भर्ने की नभर्ने ? यस्तो छ सीईओको सुझाव
बोनसपछि राधी विद्युतको सेयर मूल्य समायोजन
काठमाडौं । आज(असार १५ गते) मंगलबार राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ३६.५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य ८२१ रुपैयाँ कायम भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ११२० रुपैयाँमा भएको थियो । यससँगै अबको कारोबारमा कम्पनीको सेयर कारोबार प्रतिकित्ता ८२१ रुपैयाँदेखि शुरु हुने छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ३६.५० प्रतिशत बोनस सेयर(कर बाहेक) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई कम्पनीको आगामी १५औं वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । कम्पनीकाे सभा असार २९ गते बिहान ११ बजे बस्दै छ । हाल कम्पनीको चुक्ता पुँजी ४७ करोड ३५ लाख रुपैयाँ रहेको छ । ३६.५० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ पुग्ने छ । र, बोनसपछि कायम भएको चुक्ता पुँजीको १४७.५२ प्रतिशत हकप्रद जारी गर्ने सञ्चालक समितिले प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश गत दुई वर्षयताकै उच्च हो । कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ मा १० प्रतिशत र २०७३/७४ को नाफाबाट सेयरधनीलाई १०.६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
बिजुली उत्पादन हुने भएपछि माथिल्लो तामाकोशीको सेयरमा आकर्षण
काठमाडौं । बिजुली उत्पादनको मिति सार्वजनिक गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । आयोजनाले यही असार मसान्तमा दुई वटा यूनिटबाट १५२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध गराउने घोषणा गरेको छ । सोही कारण पनि लगानीकर्ताको चासोमा सो कम्पनीको सेयर परेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज मात्रै सो कम्पनीको कूल आठ लाख दुई हजार ४८७कित्ता सेयर ६६ करोड ९४ लाख ४८ हजार ९८९ मा खरीद बिक्री भयो । अघिल्ला दुई कारोबार दिनमा सो कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको थियो । आज पनि सो कम्पनीको सुरुआती कारोवारमा सकारात्मक सर्किटको मूल्यसम्म नै वृद्धि भएको थियो । नेप्सेको विवरण अनुसार सो कम्पनीको सेयर बिक्रीमा अधिक बिक्री चाप पर्यो । आज बजार बन्द हुँदा सो कम्पनीको शेयर प्रतिकित्ता ७९० रुपैयाँमा रोकिएको छ । कारोवार समयसम्म माथिल्लो तामाकोशीको सेयरमा प्रतिकित्ता ११० रुपैयाँको उतारचढाव देखिएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको दुई वटा यूनिटबाट बिजुली उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।