हकप्रदपछि एचआईडीसीएलको सेयर मूल्य समायोजन
काठमाडौं । नेप्सेमा हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को सेयर मूल्य समायोजन भएको छ । संस्थाले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएसँगै मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४३ रुपैयाँ कायम भएको छ । पछिल्लो कारोबारमा कम्पनीको सेयर प्रतिकित्ता ५८६ रुपैयाँमा कारोबार भएको थियो । कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीकाे शतप्रतिशत अर्थात ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । जसकाे लागि गत जेठ २७ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउने छन् । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै कम्पनीले प्रतिकित्ता १०० अंकित दरको ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो । बोर्डले गत जेठ ९ गते मात्रै संस्थालाई सो मात्राको हकप्रद जारी अनुमति दिएको हो ।
वित्तीय विवरण त्रुटिपूर्ण रहेको भन्दै रैराङ हाईड्रोले सच्यायो प्रतिसेयर नेटवर्थ र ईपीएस
काठमाडौं । रैराङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण त्रुटिपूर्ण रहेको बताएको छ । कम्पनीले आज (जेठ २७ गते) एक सूचना जारी गर्दै यसअघि सार्वजनिक गरिएको वित्तीय विवरणमा प्रतिसेयर नेटवर्थ र ईपीएस (प्रतिसेयर आम्दानी) मा त्रुटि भएको जानकारी गराएको हो । कम्पनीले गत बैशाख २० गते तेश्रो त्रैमासिक विवरणको वित्तीय विवरण सार्वजनिक गरेको थियो । त्यसमा प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ र इपीएस १३.०३ रुपैयाँ उल्लेख गरिएको छ । तर आज एक सूचना मार्फत उक्त तथ्याङ्कमा भुलबस गलत भएको कम्पनीले जानकारी गराउँदै सच्याएको छ । जसअनुसार कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ १०९.०८ . रुपैयाँ र इपीएस ९.१७ रुपैयाँ रहेको जनाईएको छ ।
पहिलो दिनमै सीईडीबी हाइड्रोको सेयरमा सर्किट, कतिमा भयो अन्तिम कारोबार ?
काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलमेन्ट कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै कम्पनीको सेयर मूल्य ९.८६ प्रतिशतले बढेर सर्किट लागेको हो । बुधबारको बजारमा कम्पनीको सेयर मूल्य ९.८६ प्रतिशतले बढेर प्रतिकित्ता ४५७ रुपैयाँ पुगेको छ । जुन पहिलो कारोबारको तुलनामा ४१ रुपैयाँले बढी हो । पहिलो कारोबार प्रतिकित्ता ४१६ रुपैयाँमा शुरु भएको थियो । त्यसको २१ मिनेटको अवधिमै कम्पनीको सेयर सर्किट लेभल कारोबार भएको हो । र, बुधबार कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ४५७ रुपैयाँमा भएको हो । कम्पनीको मार्केट देप्थ अनुसार दिनभरको कारोबारमा कम्पनीको ९ लाख ६३ हजार ३०४ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेका थिए भने बेच्ने कोही पनि थिएनन् । हालै आईपीओ निष्काशन गरी बाँडफाँड गरेको कम्पनीको हिजो अर्थात जेठ २५ गतेमात्रै सेयर नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर र कम्पनीका संस्थापकले लगानी गरेको ५८ लाख ७५ हजार ८७० कित्ता सेयर समेत गरी कूल ८३ लाख ९४ हजार १०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । दाेश्राे बजारमा सेयर कारोबारको लागि कम्पनीको सिम्बोल ‘सीएचडीसी’ दिइएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता १३८.७९ रुपैयाँ र अधिकतम ४१६.३७ रुपैयाँ तोकेको थियाे । यससँगै कम्पनीकाे पहिलाे काराेबार अधिकतम मूल्यबाट शुरू भएकाे थियाे ।