आरबिबि मर्चेन्टलाई एक अर्ब रुपैयाँको फण्ड जारी गर्न अनुमति

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबिबि मर्चेन्ट बैकिङ्ग लिमिटेडले ‘आरबिबि म्यूचुअल फण्ड १’ जारी गर्न अनुमति पाएको छ । संस्थाले हालै नेपाल धितोपत्र बोर्डबाट एक अर्ब रुपैयाँ बराबरको फण्ड निष्काशन तथा बिक्री खुला गर्न अनुमति पाएको हो । कोष प्रवद्र्घक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी “आरविवि म्यूचुअल फण्ड” अन्र्तगत उक्त योजना ल्याउने भएको हो । जुन बन्दमुखी प्रकृतिको योजना हो । योजनाको आकार एक अर्ब रुपैयाँ रहेको यस फण्डको समयावधि सात वर्षको रहनेछ ।

साढे ४ घण्टामै पौने ५ लाखले भरे जीवन विकास लघुवित्तको आईपीओ

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओमा पहिलो दिनमै पौने ५ लाख लगानीकर्ताले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार पहिलो दिन साढे ४ घण्टाको अवधिमै ४ लाख ७३ हजार ५२१ जनाले आवेदन दिएका हुन् । आज(असार ११ गते) बिहान १० बजेदेखि बिक्री खुला भएको उक्त आईपीओमा दिउँसो साढे २ बजेसम्ममा ७३ लाख ८१ हजार ६० कित्ता सेयरको लागि आवेदन परिसकेको क्यापिटलले जानकारी गराएको छ । जुन संस्थाले सर्वसाधारमा माग गरेकाेभन्दा ४ गुणा बढी आवेदन हाे । संस्थाले  सर्वसाधारणमामात्रै १८ लाख ४८ हजार १५ कित्ता सेयर माग गरेकाे छ । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ । यससँगै इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले असार ११ गतेदेखि १५ गतेसम्म मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यदि, सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा असार २५ गतेसम्म सेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ । थप सामाग्री जीवन विकासको आईपीओमा लगानी गर्न लगानीकर्तालाई कुनै दुविधा हुँदैनः सीईओ मण्डल जीवन विकास लघुवित्तको आईपीओ खुल्यो, भर्ने की नभर्ने ? यस्तो छ सीईओको सुझाव

सर्वोत्तम सिमेन्टको एसजीएमले पारित गर्यो लाभांशसहित आईपीओ प्रस्ताव

काठमाडौं । सर्वोत्तम सिमेन्टको विशेष साधारणसभा(एसजीएम)ले प्रस्तावित लाभांशसहित आईपीओ प्रस्ताव पारित गरेको छ । असार १० गते सम्पन्न संस्थाको विशेष साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले चुक्ता पुँजीको १९.११८ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.००६ प्रतिशत नगद गरी प्रस्तावित २०.१२४ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६।७७ सम्मको नाफाबाट सो मात्राको लाभांश पाउने छन् । त्यस्तै, सभाले संस्थापक र सर्वसाधारण सेयरधनीहरुबीचको पुँजीको अनूपात ८७.१०ः१२.९० हुने गरी मिलान गर्ने प्रस्तावलाई पारित गरेको छ । यसरी सेयरको संरचना परिवर्तन पश्चात सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता सेयर (आईपीओ) सर्वसाधारणलाई बुक बिल्डिङ्ग विधिबाट जारी गर्ने प्रस्ताव पारित भएको छ । कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ र जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।